बयान लिने सांसदलाई नै जबराले दिए व्याख्यान
महाअभियोग सिफारिश समितिमा बयान दिन पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सांसदहरूलाई लामो व्याख्यान दिएका छन्।
सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बसेको महाअभियोग सिफारिश समितिको बैठकमा जबराले सांसदले सोधेका प्रश्नको लामो व्याख्यान दिएका हुन्। उनलाई बिहान ११ बजे बयानका लागि बोलाइएको थियो। एक घण्टा ढिलो गरी दिउँसो १२ बजेबाट बयान शुरू भएको थियो।
महाअभियोग समितिले तयार गरेका प्रश्नमध्ये शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचारका विषयमा प्रश्न सोधेको समितिका सदस्य एवं सांसद मीनबहादुर विश्वकर्माले बताए। “आज दुई वटा प्रश्न सोधेका छौं, जसमा उहाँलो लामो व्याख्या गर्नुभयो,” सांसद विश्वकर्माले भने, “त्यसमै प्रतिप्रश्न गर्दा समय गयो।”
महाअभियोग सिफारिश समितिले ४३ वटा प्रश्न तयार गरेको छ। जसमा बुधबार चार वटा प्रश्न गरिएको थियो। त्यसमा पनि जबराले कैयौं प्रतिप्रश्न गरेका थिए।
आज झण्डै तीन घण्टा शक्ति सन्तुलन र भ्रष्टाचारका विषयमा प्रश्नोत्तर भएको छ। न्यायालयमा शक्ति सन्तुलन कायम गर्न नसकेको प्रश्नमा जबराले लामो व्याख्या गरेका हुन्।
जबराको लामो जवाफमा केही सांसदले थप प्रश्न गरेका थिए। तर, निलम्बित प्रधानन्यायाधीश जबराले उल्टै सांसदलाई प्रश्न गरेका थिए। यसबारे सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै समितिका सदस्य एवं सांसद विश्वकर्माले भने, “उहाँले घरीघरी समितिलाई नै प्रश्न गर्नुभयो। संसद्लाई नै प्रश्न गर्ने शैलीमा जानुभयो।”
भ्रष्टाचार गरेको भन्ने विषयमा पनि जबराले लामो व्याख्या गरे। उनले आफूले भ्रष्टाचार नगरेको जिकिर गरे। बरु उल्टै सांसदहरूलाई प्रतिप्रश्न गर्दै भने, “सांसद, मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ।”
बुधबार पनि उनले यस्तै प्रतिप्रश्न गरेका थिए। जबराले महाअभियोग सिफारिश समितिको औचित्यमाथि प्रश्न गरेका थिए। त्यससँगै सर्वोच्च अदालतका अन्य न्यायाधीश, नेपाल बार एशोसिएशनका पदाधिकारी र राजनीतिक दलका नेतालाई नै आरोपित गरेका थिए।
आज दुई वटा प्रश्नमै बयान लिने समय सकिएको छ। अब फेरि आइतबार दिउँसो १ बजे जबरालाई बाँकी प्रश्न सोधिने समितिका सदस्य विश्वकर्माले बताए।
सत्तारूढ दलका सांसदले गत फागुन १ गते जबरा विरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन्।
उनीमाथि छानबिन गर्न प्रतिनिधि सभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो। समितिले उनी विरुद्ध प्रमाण जुटाइरहेको छ। त्यही क्रममा उनीमाथि लागेका आरोपमा जवाफ माग्न दुई दिनदेखि बयान लिन थालिएको हो।