दोस्रो दिन बयान दिँदै प्रधानन्यायाधीश जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिश समितिले दोस्रो दिन पनि बयान लिन थालेको छ।
उनीमाथि लागेका आरोपका विषयमा समितिले प्रश्न गरिरहेको छ। उनलाई सोध्न समितिले ४३ प्रश्न तयार गरेको छ। त्यसमध्ये बुधबार केही प्रश्न सोधिएका थिए।
थप प्रश्नको जबराले आज जवाफ दिइरहेका छन्। आज पनि उनले आफू दोषी नभएको र सबैले आफूमाथि एकपक्षीय रूपमा आरोप लगाएको जिकिर गरेका छन्।
उनी विरुद्ध गत फागुन १ गते सत्तापक्षका सांसदले प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका छन्।
त्यसपछि प्रतिनिधि सभाले गत महीना महाअभियोग सिफारिश समिति गठन गरेको थियो। समितिको भदौ ८ गतेको बैठकले उनीसँग बयान लिने निर्णय गरेको थियो।
बुधबार बयानका क्रममा उनले सर्वोच्च अदालतका अन्य न्यायाधीश, नेपाल बार एशोसिएशनका पदाधिकारीलाई पनि आरोप लगाएका थिए।