अभिभावकको स्वार्थले विद्यालय अस्तव्यस्त; पक्की भवन खाली‚ टहरोमा पठनपाठन
अभिभावकको स्वार्थ बाझिंदा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे‚ मुसरीडाँडास्थित जनता माविको शैक्षिक वातावरण अस्तव्यस्त बनेको छ।
अभिभावकको मत बाझिएकै अवस्थामा विद्यालय गत वैशाख ४ गते भण्डारीडाँडाबाट करीब दुई किलोमिटर माथि रहेको मुसरीडाँडा सारिएको हो। अहिले बाँसको भाटाले बारेको र जस्तापाताले छाएको टहरोमा कक्षा १० सम्मको पढाइ हुँदै आएको छ।
टाटीले बारिएकाले एक कक्षाको होहल्लाले अर्को कक्षामा प्रष्टै सुनिन्छ। जसले पठनपाठनमा बाधा पुगेको छ। यति मात्र होइन‚ घाम लागेका वेला जस्तापाता तातेर अधिक गर्मी हुने र जाडोमा हावा छिरेर अधिक चिसो हुने गरेको कक्षा १० का छात्र टार्जन राई बताउँछन्। पानी परेका वेला जस्तापाताको आवाजले केही नसुनिने भएकाले शैक्षिक क्रियाकलापमा बाधा पुग्ने गरेको छ।
“पढाइ भइरहँदा अर्को कोठाको हल्ला आएर डिस्टर्ब हुने, पढाएको नबुझिने समस्या छ,” राई भन्छन्, “जाडो सिजनमा टाटीबाट हावा छिर्ने हुनाले धेरै जाडो हुन्छ। भुइँबाट पनि चिसो आउँछ। गर्मीमा जस्तापाता तातेर बढी गर्मी हुन्छ।”
अभिभावकसँग सल्लाह नगरी र आवश्यक संरचना तयार नहुँदै विद्यालय सार्दा समस्या आएको अभिभावक विजय राई बताउँछन्। “सबै अभिभावकसँग सल्लाह गरेर आवश्यक संरचना बनाएर सार्दा भइहाल्थ्यो। विद्यालय सार्न प्रहरी नै प्रयोग गरियो,” राई भन्छन्, “बाँसको टाँटीले बारेर जस्ता हालिएको छ। सुँगुरको खोर जस्तो ठाउँमा बालबालिकालाई राखिएको छ।”
गाउँपालिका अध्यक्ष लोकेन्द्र राई पनि भौतिक संरचना नबनी विद्यालय सार्दा समस्या भएको स्विकार्छन्। राजनीतिक स्वार्थ र स्थानीयबासीको अपनत्वको विवादले विद्यालय लथालिङ्ग हुने अवस्था आएको उनको भनाइ छ। “केही राजनीतिक कुरा लुकेको होला, केही अपनत्वको कुरा होला। शिक्षा क्षेत्र लथालिङ्ग हुने गरी समस्या सिर्जना भएको छ। २०६६ सालदेखि यो समस्या शुरू भएको हो। केही समझदारी भएका थिए, तर समस्या बल्झियो,” अध्यक्ष राई भन्छन्, “विद्यालय तत्काल सारिनहालेको भए हुन्थ्यो। संरचना बनेको थिएन। तल पनि माथि पनि लथालिङ्ग देखिएको छ।”
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र राई अदालतको फैसला र गाउँपालिकाको निर्देशनमा विद्यालय सारिएको बताउँछन्। अहिले सबैको केन्द्र पर्ने, समथर, पर्याप्त जग्गा भएको र कसैको हस्तक्षेप नहुने ठाउँमा विद्यालय सारिएको उनको दाबी छ। विद्यालयको नाममा भण्डारीडाँडामा करीब सात रोपनी र मुसुरीडाँडामा करीब १८ रोपनी जग्गा रहेको राई बताउँछन्।
“कक्षा ११ र १२ मुसुरीडाँडामा चलाउने र आवश्यक संरचना बनाउँदै जाने, सो बापत साविक बतासे–१ मा विद्युतीकरण गर्ने सहमति गरिएको थियो,” समितिका अध्यक्ष राई भन्छन्, “तर सहमति पालना भएन। अदालतमा रिट हाल्ने काम भयो। अदालतको फैसला र गाउँपालिकाको निर्देशन अनुसार विद्यालय सार्ने निर्णय गरेका हौं।”
टहराको नजिक रहेको दुईतले कच्ची भवनमा कक्षा ११ र १२ को कक्षा रहेको छ। प्रशासन, पुस्तकालय, कम्प्यूटर, विज्ञान प्रयोगशाला पक्की भवनमा छन्। तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत आर्थिक वर्ष २०७०/७१ मा प्राप्त २४ लाखमा निर्माण शुरू गरिएको चारकोठे भवन पूरा नभई अलपत्र परेको छ। अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखको चारकोठे भवन बनाउने काम अघि बढाइएको छ। त्यस्तै, अर्को चारकोठे भवन बनाउन पहल थालिएको छ।
भण्डारीडाँडामा २०१७ सालमा स्थापना भएको विद्यालय मुसुरीडाँडामा सार्ने विषयमा अभिभावक विभाजित भएका हुन्। दिनुवा, बोल्पा, पिचाकु, भण्डारीडाँडा, मार्से, वारेम्तुङ, भुल्के नाप्तेकु, नौलाका अभिभावक विद्यालय सार्न नहुने पक्षमा थिए। मुलाबारी, मुसुरीडाँडा, पारपानी, ढाँडेका अभिभावक भने सार्नुपर्ने पक्षमा थिए। विवादका कारण विद्यालयको शैक्षिक गुणस्तर खस्किएको अभिभावकको गुनासो छ। अहिले ४८३ विद्यार्थी छन्।
भण्डारीडाँडामा कक्षा १० सम्म पढाइ हुँदै आएको जनता माविले प्लस–टूको पठनपाठनका लागि २०६५ सालमा मुसुरीडाँडामा जग्गा खरीद गर्यो। र‚ २०६७ सालदेखि मुसुरीडाँडामा कक्षा ११ र १२ को पठनपाठन शुरू भयो। २०७६ भदौमा पवन राई प्रधानाध्यापक भए। लगत्तै गाउँपालिकाले कक्षा १ देखि कक्षा १२ सम्मलाई मावि बनाइएको भन्दै पठनपाठन एकै ठाउँबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दियो। निर्देशन अनुसार कक्षा ११ र १२ लाई भण्डारीडाँडामा झारियो।
२०७६ कात्तिकमा ज्ञानेन्द्र राई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भए। समितिले २०७७ जेठ १६ मा विद्यालयलाई मुसुरीडाँडा सार्ने निर्णय गर्यो। निर्णय विरुद्ध असन्तुष्ट अभिभावक रिट हाल्न जिल्ला हुँदै सर्वोच्च अदालत पुगे। अदालतले व्यवस्थापन समितिकै पक्षमा फैसला गरेपछि र गाउँ कार्यपालिकाको २०६८ माघ २६ को निर्णय अनुसार मुसुरीडाँडामा विद्यालय सारिएको प्रधानाध्यापक राई बताउँछन्।