पाकिस्तानमा बाढीबाट ११६२ को मृत्यु, तीन करोड प्रभावित, सहयोगका लागि प्रधानमन्त्रीको अपील
पाकिस्तानमा बाढीबाट ज्यान गुमाउनेको संख्या एक हजार १६२ पुगेको छ भने तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण अनुसार, बुधबारसम्म बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार १६२ पुगेको छ। अहिलेसम्म तीन हजार पाँच जना घाइते भएको पाकिस्तानी समाचार पोर्टल डनले लेखेको छ।
पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९४१ जना घाइते भएका छन्। त्यस्तै, ३६ जनाले ज्यान गुमाएका छन्। वर्षा भइरहेको र बाढीको प्रकोप यथावत् रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
पाकिस्तानका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्तमा बाढीले असर गरेको छ। अहिलेसम्म बाढीबाट तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्। लाखौंको संख्यामा विस्थापित भएका छन्।
बाढीले सबैभन्दा बढी प्रभावित सिन्ध प्रान्तको डाडु जिल्लामा मात्रै १२ लाख मानिस विस्थापित भएका छन्। अहिले पनि मैन नारा उपत्यकामा नदीहरूमा पानीको सतह बढ्दै गएको छ। यही गतिले बढ्दै गएमा डाडु शहर नै जोखिममा पर्ने डाडु जिल्लाका डेपुटी कमिश्नर सायाद मुर्ताजा अलीले बताएका छन्।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण अनुसार, पछिल्लो ३० वर्षमा भएको औसत वर्षाभन्दा १९० प्रतिशत बढी वर्षा भएको छ। एक महीनामा ३९०.७ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी वर्षा सिन्ध प्रान्तमा भएको छ। जहाँ पछिल्लो ३० वर्षको औसतभन्दा ४६६ प्रतिशत बढी वर्षा भएको छ।
उत्तरी पहाडमा अत्यधिक वर्षा हुँदा पहिरो गएका छन्। जसले गर्दा सानाठूला नदीमा बाढी आएको छ। बाढीसँगै घरखेत बगेका छन्। यो सबै इन्दस नदीमा मिसिएको छ।
पाकिस्तानको मध्य भागबाट दक्षिणतिरको समथर जमीन भएर बग्ने इन्दस नदीमा बाढी आउँदा लाखौं बासिन्दा प्रभावित भएको डनले लेखेको छ। जसले गर्दा समथर जमीनमा बनेका भौतिक संरचना पनि बाढीसँगै बगेका छन्।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शेबाज शरीफले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपील गरेका छन्। बाढीबाट इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै प्रधानमन्त्री शरीफले पाकिस्तानी नागरिकसँगै विदेशी दातृ निकाय तथा देशसँग सहयोगका लागि अपील गरेका हुन्।
लाखौं मानिस विस्थापित भएकाले उनीहरूको उद्धार, पुनःस्थापना र राहतका लागि ठूलो आर्थिक आवश्यक भएको उनले जनाएका छन्। सरकारले प्रयास गरिरहेको भए पनि लाखौं नागरिकलाई बास र खानपिनको व्यवस्था गर्न नसकिएको बताएका छन्।