‘हिमाल मासिए हामी पनि रहँदैनौं’
‘मैले सगरमाथा आरोहण थाल्दा तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो, अहिले ७० मिटरभन्दा बढी छ।’
कैयौं मानिसले जीवनमा एक पटक ८,८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने सपना साँचेका हुन्छन्। ५,३६४ मिटर उचाइमा अवस्थित आधार शिविरसम्म पुग्ने मौका पनि धेरै कमले मात्र पाउँछन्। आरोही कामिरिता शेर्पाका लागि भने सगरमाथा आरोहण एउटा नियमित काम जस्तै हो।
शेर्पा गाउँ थामेमा जन्मेका कामिरिता १२ वर्षको उमेरमा भरिया बने। २४ वर्षको उमेरमा सन् १९९४ मा पहिलो पटक सगरमाथा शिखर चुमे। हाल ५२ वर्षका उनले यसै वर्ष २६औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरे। अहिले नेपाल सरकारले सगरमाथा आधार शिविरलाई केही तल सार्न लागेको चर्चा भइरहेको छ।
यसमा आधार शिविर भएको ठाउँमा हिउँ पग्लिने दर बढेको, जलवायु परिवर्तनजन्य जोखिम थपिएको र आरोहीहरूको संख्या निरन्तर वृद्धि भइरहेको लगायतका कारण अघि सारिएका छन्। तर, कामिरिता यी तर्कहरूले वस्तुगत तथ्य पुष्टि नगर्ने बताउँछन्। यही सेरोफेरोमा द थर्ड पोलका नेपाल सम्पादक रमेश भुसालले उनीसँग गरेको कुराकानीको नेपाली अनुवाद:
सगरमाथा आधार शिविर सार्ने सरकारको योजनाबारे तपाईंको धारणा के छ?
आधार शिविर सार्नुपर्ने कुनै जायज कारण छैन। जलवायु परिवर्तनले के आधार शिविरलाई मात्र असर गरेको छ र? (सगरमाथा आरोहण गर्ने मार्गमा रहेका) अन्य शिविरको स्थिति के छ त? ती शिविरलाई कहाँ सार्ने? जलवायु परिवर्तनले आधार शिविरलाई प्रभावित गरेको छ भने के तीव्र रूपमा हिउँ पग्लिँदा अरू शिविरमा पनि जोखिम बढेको छैन त?
आधार शिविर सार्ने हो भने त्यहाँ सबै कुरा अस्तव्यस्त हुन्छ। लामो अनुभव र व्यावहारिक पक्षलाई हेरेर र अहिलेको स्थानलाई एउटा उचित स्थानका रूपमा ठहर्याएर त्यहाँ राखिएको हो। आधार शिविरलाई अहिलेको ठाउँबाट केही तल मानिलिऊँ, गोरकशेप (करीब ५,१५० मिटर) मा सारियो भने त्यो ठाउँ अहिलेको आधार शिविर पुग्नुअघि केही बेर रोकिने अर्को एउटा ठाउँ मात्र बन्नेछ, किनभने नयाँ आधार शिविरबाट पहिलो क्याम्प (६,१५० मिटर) सम्म हिंडेर एक दिनमा पुग्न लगभग असम्भव नै हुनेछ। बीचमा बस्नका लागि अहिलेको आधार शिविर बाहेक अरू उचित ठाउँ छैन। त्यसैले त्यो अर्को एउटा शिविर थपिने मात्र हो। वैकल्पिक शिविर बन्न सक्दैन।
हिउँ पग्लिँदै गएपछि हिमालमा चट्टानहरू सतहमा देखिन्छन्। हिउँले छोपिएको सतहमा भन्दा त्यस्ता चट्टानमा हिंड्न बढी कठिन हुन्छ।
सरकारी पक्ष त अहिलेको ठाउँ निकै जोखिमपूर्ण बन्दै भएकाले आरोही र आरोहण टोलीलाई सुरक्षित बनाउन सार्न लागिएको तर्क गरिरहेको छ नि?
आधार शिविर असुरक्षित वा कम सुरक्षित भएको भन्ने मलाई त पटक्कै लाग्दैन। शिखरतर्फ जानुअघि तयारीका क्रममा बस्न सबैभन्दा सुरक्षित बिन्दु नै त्यही हो। वरपर त्यसभन्दा उपयुक्त अरू कुनै ठाउँ छैन। अहिलेको आधार शिविर खुम्बु हिमनदीको तल पर्छ, त्यहाँबाट अलिकति तलतिर जाँदा पुमोरी हिमालको फेदीतिर पुगिन्छ। त्यही ठाउँमा २०७२ सालको भूकम्पका वेला हिमपहिरो जाँदा कैयौं आरोही र शेर्पाको ज्यान गएको थियो।
त्यसभन्दा अझै तल तीन किलोमिटर दक्षिणतर्फ जाँदा गोरकशेपतर्फ (जहाँ एउटा समथर ठाउँ छ) पुगिन्छ। त्यहाँ नजिकै पानीको स्रोत नै भेटिँदैन। हिउँ पाइने ठाउँमा पुग्न पनि एक घण्टा हिंड्नुपर्छ। अहिलेको आधार शिविरमा हिमनदीबाट पग्लेको पानी पाइन्छ। त्यो नपाइँदा हिउँका ढिक्का फुटाएर अनि पगालेर पिउन सकिन्छ।
नियमित पानी आपूर्तिको व्यवस्था नभए हिमनदीहरू भएको ठाउँभन्दा तलतर्फ शिविर राखेर आरोहण सञ्चालन गर्नु लगभग असम्भव नै हुन्छ। आरोही, भरिया र सहयोगी स्टाफ लगायत गरी १५ सयभन्दा बढी मानिसलाई दुई महीनाभन्दा बढी समय त्यहाँ राखेर खुवाउन प्रत्येक दिन ठूलो मात्रामा पानी चाहिन्छ।
पहिलो शिविरदेखि चौथोसम्मको सगरमाथा आरोहण मार्ग खुम्बु हिमनदीमा पर्छ। विश्व तापक्रम वृद्धि (ग्लोबल वार्मिङ)का कारण तीव्र रूपमा हिउँ पग्लिँदा हिमनदी सुक्दै तथा खुम्चिँदै गएको अध्ययनले देखाएका छन्। यसबाट आरोहणमा कस्तो प्रभाव परेको छ?
हिउँ पग्लिँदै गएपछि हिमालमा चट्टानहरू सतहमा देखिन्छन्। हिउँले छोपिएको सतहमा भन्दा त्यस्ता चट्टानमा हिंड्न बढी कठिन हुन्छ। हिउँ पग्लेपछि चट्टान खसेर आरोहीलाई लाग्ने र ज्यानै जाने सम्भावना पनि बढ्छ। गत दुई दशकको अवधिमा धेरै चट्टान देखिन थालेको र आरोहणमा चढ्नुपर्ने चट्टानको लम्बाइ नै वृद्धि भएको मैले पाएको छु। मैले सगरमाथा आरोहण थाल्दा तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो, अहिले ७० मिटरभन्दा बढी छ।
सगरमाथा आधार शिविर। तस्वीर: ड्यानियल पुरडेक/अलामी
त्यसै गरी ७,३०० मिटर उचाइमा एउटा ठाउँ छ जसलाई जेनेभा स्पर भनिन्छ (भ्यात्त बसेको चट्टान)। त्यहाँ पनि अहिले धेरै चट्टान बाहिर सतहमै निस्केका छन्। शिखरतर्फ उक्लनुअघि आरोहीले केही बेर आराम गर्ने बाल्कोनी भनिने ठाउँ र चौथो शिविरको बीचमा एउटा त्रिकोणात्मक ठाउँ छ। त्यहाँनेर १०० मिटरजति चट्टान चढ्नुपर्थ्यो, अहिले करीब १३० मिटर छ। शिखर नजिकै रहेको हिलारी स्टेप पनि निकै चट्टानयुक्त छ। अहिले त्यहाँको चट्टानको लम्बाइ पनि बढेको छ।
सगरमाथा चढ्न लागेदेखि अहिलेसम्म अरू के केमा परिवर्तन देखिरहनुभएको छ?
निकै धेरै। सगरमाथामा हिउँको मात्रा सन् १९९४ मा म पहिलो पटक चढ्ने वेलाभन्दा अहिले कम छ। हिउँ पग्लिने दर निकै बढेको छ र यो क्रम अझ माथि माथि सरिरहेको छ। त्यसभन्दा ठूलो समस्या के भने वर्षा र हिमपात हुने समयमा अनियमितता देखिएको छ। सन् १९९४ मा र त्यसपछि केही वर्ष अप्रिलको अन्तिम ताका आरोहण शुरू गर्दा आधार शिविरमै पग्लिएको पानी पिउनु सामान्य थिएन।
हामी हिउँका ढिक्का फोरेर अनि पगालेर पिउँथ्यौं। अहिले त आधार शिविरमा मात्र होइन, दोस्रो शिविरमा पनि पग्लिएकै पानी पाइन्छ। यसै वर्ष अप्रिलमा पनि हामीले दोस्रो शिविरमा पानी भेट्यौं। अहिले त मलाई दोस्रो शिविर नै नयाँ आधार शिविर जस्तो लाग्छ।
आधार शिविर सार्ने प्रस्ताव ठीक होइन भने सगरमाथा आरोहणलाई सुरक्षित र आकर्षक बनाउन सरकारले के चाहिं गर्नुपर्ला?
आधार शिविर सारिए धेरै आरोही चीनतर्फ जानेछन्। नेपालतर्फबाट सगरमाथा चढ्नु अहिले नै बढी महँगो र चुनौतीपूर्ण छ। चीनको तिब्बततर्फबाट निकै सुविधा छन्। त्यसैले दक्षिणभन्दा उत्तरतर्फबाट सगरमाथा आरोहण बढी सहज छ। चीनले आधार शिविरसम्मै बिजुली र सडक पुर्याएको छ। ६,५०० मिटरसम्म याकमै जान सकिन्छ। आरोहणको अवधि अनावश्यक रूपमा लम्ब्याउँदै जाने हो भने सगरमाथा चढ्न चाहनेहरू नेपालतर्फ किन आउँछन् र?
सेता हिमाल कायम राख्न कारखाना, जहाज र गाडीबाट हुने कार्बन उत्सर्जन कम गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।
आधार शिविर सार्नुको साटो सरकारले त्यही पैसाले शिविरसम्म बिजुली उपलब्ध गराउन सक्छ, ताकि अहिले खाना पकाउन प्रयोग भइरहेको ग्यासको मात्रा घटाउन सकियोस् ! (आरोही र उनीहरूका टोलीले प्रयोग गर्ने ग्यास सिलिन्डर खुम्बु क्षेत्रमा हिउँ पग्लनुको एउटा कारकको रूपमा देखिएको छ।) काठमाडौंदेखि यात्रा शुरू गरी आरोहण सकेर फर्किंदा करीब साढे दुई महीना लाग्छ। त्यसमध्ये अधिकांश समय आधार शिविरमै बस्नुपर्छ। बिजुली उपलब्ध गराउन सके ग्यासको प्रयोग कम गर्न सकिन्छ।
दोस्रो, सरकारले त्यो पैसा सबै आरोही टोलीलाई फोल्डिङ ट्वाइलेट उपलब्ध गराउनमा लगानी गर्न सक्छ। त्यो प्रयोग गरे बापत सरकारले पैसा पनि लिन सक्छ। त्यसो हुँदा हामीले हरेक पटक त्यस्ता ट्वाइलेट बोकेर जानु पर्दैन। त्यसै गरी सरकारले भरपर्दो मौसम सम्बन्धी जानकारी दिन र (आरोहीले छाड्ने फोहोर) सरसफाइमा थप प्राथमिकता साथ लगानी गर्न सक्छ। सुरक्षित आरोहणको वातावरण बनाउन र हिमालको संरक्षण गर्न धेरै राम्रा काम गर्न सकिन्छ, तर आधार शिविर सार्ने जस्तो उपाय अपनाउनु समयको बर्बादी मात्रै हो।
कार्बन उत्सर्जनका कारण हिउँ पग्लिने क्रम तीव्र रूपमा बढिरहे पनि उत्सर्जन घटाउनमा निकै कम सक्रियता देखाइरहेको विश्व समुदायलाई तपाईंको के सुझाव छ?
हिमाल शेर्पा वा नेपालीको मात्र होइन। (हिउँ पग्लिँदै जाँदा) यसबाट शेर्पा मात्र प्रभावित हुने होइन वा नेपालले पर्यटनबाट आउने राजस्व गुमाउने मात्र पनि होइन। यो त अर्बौं मानिसको पानीको स्रोत हो। विश्वकै सम्पदा हो। यो मासियो भने हामी पनि रहँदैनौं। सेता हिमाल कायम राख्न कारखाना, जहाज र गाडीबाट हुने कार्बन उत्सर्जन कम गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।
कुनै दिन पिउने पानी नभएका कारण हामी मर्ने दिन आउँछ भनी दलाई लामाले भनेको म सम्झिन्छु। त्यस्तो समय छिटै आउँछ कि जस्तो लाग्न थालिसक्यो। यसबारे गम्भीर रूपमा सोच्न र तत्काल समाधानको पहलकदमी लिन म विश्व समुदायसँग आग्रह गर्छु। म एक जना आरोहीले हिमालको अवस्था कस्तो छ भनी आम मानिसलाई जानकारी गराउने बाहेक धेरै के नै गर्न सक्छु र!
म के मात्र भन्न चाहन्छु भने, हिमालबाट हिउँ हराउँदै छ। अनुभवमा आधारित यो मेरो जानकारी हो। यसबारे के निर्णय लिने त्यो यहाँहरूमै भर पर्छ।
(हिमालको २०७९ भदौ अंकबाट।)