सांसदहरूलाई जबराको प्रश्न- महाअभियोग टुङ्गो लगाउन किन ढिलाइ भयो?
महाअभियोग प्रस्तावमा लगाइएका आरोपको जवाफ दिन महाअभियोग सिफारिश समितिमा पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सांसदहरूलाई प्रतिप्रश्न गरेका छन्।
बुधबार महाअभियोग सिफारिश समितिमा बयान दिन पुगेका जबराले महाअभियोग प्रस्ताव टुङ्गो लगाउनमा भएको ढिलाइबारे प्रश्न गरेका छन्। जबराले समितिका सदस्यलाई प्रश्न गरे, “यो महाअभियोग प्रस्ताव टुङ्गो लगाउन किन ढिलाइ भयो? किन यतिका दिनसम्म छलफल भएन?”
उनको प्रश्नमा सिफारिश समितिका सदस्य केही बोलेनन्। बरु जबरालाई थप प्रश्न सोधेका छन्। समितिले जबरालाई सोध्न ६४ प्रश्न तयार गरेको छ। जबराले दिएको जवाफ चित्त नबुझ्दा सांसदहरूले पूरक प्रश्न पनि सोधेको समितिका सदस्य एवं कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए।
निलम्बित प्रधानन्यायाधीश जबराले महाअभियोगको औचित्य सकिएको जिकिर गरेका थिए। सांसदको गरिमा राख्नका लागि मात्रै जवाफ दिन आएको उनले बताएका थिए।
“महाअभियोग प्रस्ताव छलफलमा ल्याउन किन ढिलो भयो भनेर सोध्नुभएको छ,” सांसद विश्वकर्माले भने, “प्रतिरक्षाका क्रममा उहाँले भनेका कुरा सामान्य रूपमा लिनुपर्छ, लिन्छौं।”
त्यस्तै, सांसदहरूले प्रतिनिधि सभा विघटनको फैसलाका विषयमा पनि प्रश्न गरेका थिए। उनीहरूले फैसला हुँदा एकमत नभएको विषय उठाएका थिए।
त्यसको जवाफमा पनि जबराले दलहरूलाई नै औंंला देखाएका छन्। “राजनीतिक रूपले नियुक्त भएका न्यायाधीश भएका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ,” जबराको भनाइ उद्धृत गर्दै सांसद विश्वकर्माले भने, “न्यायाधीशलाई स्वविवेकीय अधिकार हुन्छ भन्नुभयो।”
सांसदहरूले प्रधानन्यायाधीशको जिम्मेवारीको विषयमा प्रश्न गरेका छन्। संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने व्यवथा गरेको उल्लेख गर्दै जबरालाई सोधेका थिए, “न्यायपालिकाले गरेका निर्णयको जिम्मेवारी तपाईं लिनुहुन्छ कि हुन्न?”
त्यसमा पनि जबराले सबै निर्णयको जिम्मेवारी आफूले नलिने आशय व्यक्त गरेका थिए। जसमा उनले प्रतिनिधि सभा विघटनको फैसलालाई उल्लेख गरेका थिए। राजनीतिक नियुक्तले गर्दा न्यायाधीश एकमत हुन नसकेको जिकिर गरेका थिए।
“केही कुरा सीमाभन्दा बाहिर गएर पनि बोल्नुभएको छ। न्यायपालिकाले गर्ने निर्णयको जिम्मेवारी आफूले लिनुपर्नेमा अरूको टाउकामा थुपार्न खोज्नुभएको छ,” सांसद विश्वकर्माले भने।
निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिने क्रम जारी रहेको छ। महाअभियोग सिफारिश समितिले ६४ प्रश्न तयार गरेको छ भने त्यसमा सांसदहरूले पूरक प्रश्न गरिरहेका छन्। त्यसैले जबरासँगको जवाफ लिने क्रम आजै नसकिने सांसद विश्वकर्माले बताए।