दुई घण्टा कुरेर बयान दिँदै प्रधानन्यायाधीश जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिश समितिमा बयान दिन थालेका छन्।
महाअभियोग सिफारिश समितिले बयानका लागि बिहान ११ बजे बोलाएको थियो। बयानका लागि उनी समयमै सिंहदरबार पुगेका थिए। तर, समितिको सदस्य भने ढिला गरी सिंहदरबार पुगेका थिए।
सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा दिउँसो १ बजेबाट मात्रै बैठक शुरू भएको छ। महाअभियोग सिफारिश समितिका सदस्यले उनीसँग प्रश्न सोधिरहेका छन्।
उनी विरुद्ध गत फागुन १ मा प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा छन्।
निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्न महाअभियोग सिफारिश समितिले ४३ वटा प्रश्न बनाएको छ। त्यससँगै सोधपुछका क्रममा थप प्रश्न सोध्न सकिने समितिले जनाएको छ।
उनीमाथि लागेका आरोपबारे महाअभियोग सिफारिश समितिले प्रश्न सोधिरहेको छ। त्यसमा उनलाई सफाइको मौका दिन बयान लिन थालिएको हो।