प्रधानन्यायाधीश जबरा जवाफ दिन महाअभियोग सिफारिश समितिमा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूमाथि लागेका आरोपमा जवाफ दिन महाअभियोग सिफारिश समितिमा पुगेका छन्।
सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको बैठककक्षमा महाअभियोग सिफारिश समितिको बैठक बोलाइएको छ। समितिको बैठकमा आफ्ना कुरा राख्न जबरा सिंहदरबार पुगेका हुन्।
सत्तापक्षका सांसदले जबरा विरुद्ध प्रतिनिधि सभामा गत फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। महाअभियोग दर्ता भएसँगै जबरा निलम्बनमा छन्।
गत महीनामा प्रतिनिधि सभाले महाअभियोग सिफारिश समिति गठन गरेको थियो। महाअभियोग सिफारिश समितिले भदौ २९ गतेभित्र जबरा विरुद्धको महाअभियोगबारे अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ।
त्यसका लागि समितिले जबरा विरुद्धका प्रमाण मागेको थियो। नेपाल बार एशोसिएशनले जबरा विरुद्ध विभिन्न ३४ वटा प्रमाण समितिमा बुझाएको छ। त्यस्तै, समितिले पनि जबरा विरुद्ध विभिन्न प्रमाण जुटाएको छ।
उनीमाथि लागेका आरोपका विषयमा आज समितिले जबरालाई प्रश्न गर्न लागेको हो। उनी आफू विरुद्ध लागेका आरोपमा सफाइ दिन सिंहदरबार पुगेका छन्।