शहरले मिचेको नदीको बाटो
हामीले शहर बसाउँदा नदीको बहावसँगै बाढीको प्राकृतिक बाटो समेत मिचेकैले जलचक्र असन्तुलित हुन पुगेको छ। अब पानी र माटोलाई हाम्रो सम्मान र मायाको खाँचो छ।
भारतीय सेलेब्रिटी जगदीश वासुदेव (सद्गुरु)ले ‘माटो बचाऊ’ भन्दै केही महीनाअघि यूरोपबाट भारतसम्म मोटरसाइकल यात्रा गरे। गत जून ५ मा भारतीय प्रधानमन्त्री मोदीले पनि माटो बचाउने आह्वान गरे।
त्यही वेला नेपालमा अभिनेता राजेश हमाल, ब्यांकर अनिलकेशरी शाह, उद्योगपति भवानी राणा र विज्ञ गोविन्दराज शर्मा ‘माटो बचाउ’ बारे प्यानल संवादमा थिए। भर्खरै माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि सामाजिक सञ्जालमा आफू माटो बचाउ आन्दोलनसँग गाँसिएको उद्घोष गरे। म भने यो माटो बचाउ अभियानमा किसानको अनुभूति सुन्न खोज्दै छु। कसले गरिदेला त्यसको व्यवस्थापन?
हाम्रा ग्रन्थमा पञ्चमहाभूतका प्रसङ्ग छन्- पृथ्वी (माटो, बालुवा, वनजङ्गल), जल (नदीनाला, तालतलैया, सिमसार आदि), तेज (प्रकाश र तापशक्ति), वायु र आकाश। वर्तमानमा पाँचै तत्त्व अप्ठ्यारामा छन्। माटो र बालुवाको दोहन तीव्र छ। वनजङ्गल र जैविक विविधता खस्कँदो छ। प्रदूषण र अन्य क्रियाकलापले जल-संसार बर्बादीतिर उन्मुख छ। हरितगृह ग्यासले तेज र वायुको सन्तुलन बिगारेको छ। आकाश अन्तरिक्षमा पठाइएका भू-उपग्रहका भग्नावशेषको प्रदूषणले प्रताडित छ।
नदी, माटो, बालुवा, गिट्टीको प्रसङ्गले मलाई पाँचवर्षे बाल्यकालतिर पुर्याउँछ। काठमाडौंको गणबहालमा जन्मे/हुर्केको मेरो परिवेश भनेकै धरहरा, पूर्वपट्टिको बाँसको घारी, घर कम्पाउन्डभित्रका इनार, गोठ, चोक अनि पश्चिमपट्टि वाग्वीरको बारी, ताहा गल्लीमा बाजा बजाउँदै बागमतीतर्फ गइरहने मलामीको रोदन थिए। कम्पाउन्ड बाहिरका दायरा थिए- सुन्धारा, टुँडिखेल, खिचापोखरी, नयाँ सडक, इन्द्रचोक, मरु सत्तल र लगनको सिलखाना र कालिकास्थानमा रहेको मामाघर। कलेज शिक्षाको आरम्भपछि भीरपाखा, मैदान, भञ्ज्याङ चौतारी, देउराली, गोरेटो, घोडेटोसित जम्काभेट हुन थाल्यो।
त्यही क्रममा इन्जिनीयरिङको पाठ्यक्रममा ‘सोयल मेकानिक्स’ पढ्दा माटोको भौतिक बलबारे सिक्न पाइयो- माटोले कति बल थेग्न सक्छ, कसरी माटोलाई थिचेर घनीभूत बनाउने आदि। जलस्रोतमा उच्च शिक्षा अध्ययन गर्दा नदीमा बग्ने थिग्रेनी अर्थात् ‘सेडिमेन्ट प्रक्रिया’ बुझ्न पाइयो। यसले नदीमा माटो, गिट्टी अनि बालुवा कताबाट आउँछ, त्यो कसरी ससानो भएर टुक्रिंदै समुद्रमा पुग्छ भनी विवेचना गर्छ।
प्रदूषण र अन्य क्रियाकलापले जल-संसार बर्बादीतिर उन्मुख छ। हरितगृह ग्यासले तेज र वायुको सन्तुलन बिगारेको छ। आकाश अन्तरिक्षमा पठाइएका भू-उपग्रहका भग्नावशेषको प्रदूषणले प्रताडित छ।
सेडिमेन्ट प्रक्रिया भनेको जलचक्र जस्तो पुनरागमनीय होइन। एकपल्ट बगेर गएको माटो फेरि उपल्लो भेगमा पुग्दैन। यो प्रक्रियामा सघाउने गरी हजारौं वर्षदेखि भूक्षय र पहिरो चलिरहेकै छन्। हिमाल, पहाड र तराई हुँदै बग्ने गङ्गा, ब्रह्मपुत्र र मेघना नदी एवं तिनका शाखाले ओसारेका क्ले (चिम्ट्याइलो माटो), सिल्ट (मसिनो बालुवा) र बालुवाबाटै बाङ्लादेश र बङ्गालको डेल्टा बनेका हुन्। क्ले, सिल्ट र बालुवाको सन्तुलित आपूर्तिले डेल्टा भेगको पारिस्थितिक प्रणाली पनि सन्तुलित राख्छ। तर, हिजोआज विश्वका धेरै डेल्टा विचलित छन्।
खास गरी वर्षा ऋतुमा पानी परेपछि हुने भूक्षय, पहिरो, नदी कटान र पिँध कटान आदि गिट्टी, बालुवा र माटोका स्रोत हुन्। बाढीले ल्याउने क्ले खेतमा थुप्रिँदा उत्पादकत्व बढ्छ। बालुवा र गिट्टी थुप्रिए जमीन बन्जर बन्छ। सन् २००८ मा सुनसरीमा कोशी नदीको तटबन्ध फुटेर बालुवा पस्दा तल्लो क्षेत्रका खेतखलियान बिगारेको थियो। यस्ता घटना अरू पनि छन्। घर निर्माणमा इँटा जोड्ने र प्लास्टर गर्ने मसला सिमेन्ट, बालुवा र पानीको मिश्रण हो। त्यस्तै, जग, बिम र थामोको मसलाका रूपमा बालुवा, सिमेन्ट, गिट्टी र पानीको मिश्रण प्रयोग गरिन्छ। बालुवा अर्थात् सिलिका विकास निर्माणमा मात्र होइन, चिप्स, ऐना, कम्प्युटर र स्मार्ट फोन आदिमा पनि प्रयोग हुन्छ।
म सानो छँदा सिमेन्ट र कंक्रिटको प्रयोग भर्खर शुरू हुँदै थियो। घर बनाउन माटो र वज्र (चुन र फुटेको इँटाको मिश्रण) नै बढी प्रयोग हुन्थ्यो। खेतीपातीमा रासायनिक मल र विषादीको प्रयोग अहिले जस्तो थिएन। विसं २०१३ मा आयोजित नेपालको पहिलो कृषि सम्मेलनले यस्ता वस्तुको प्रयोगले माटो नासिने भन्दै रोक्न सुझाएको थियो। तर, यस्ता सुझाव बेवास्ता गरिंदा आज जल, स्थल र वायुको स्थिति भयावह बनिसकेको छ। माटो र खाना दुवै विषयुक्त भइसकेका छन्।
मलिलो माटो एकपल्ट बगे त्यसको असर उब्जनीमा सधैं परिरहन्छ। यस कारण पनि माटो संरक्षण जरुरी छ। सन् १९३० को दशकमा उत्तर अमेरिकी मध्य क्षेत्रमा व्यापक भूक्षय भएको थियो। ‘डस्ट बाउल’ भनिएको उक्त चुनौतीसँग जुध्न अमेरिकी सरकारको कृषि विभागले भूसंरक्षण विधिहरू सहित कार्यक्रम थालेको थियो। त्यसैमध्ये एउटा थियो, कन्टुर अर्थात् गह्रा निर्माणमा आधारित खेती। त्यति वेलासम्म नेपालका खेतबारीमा कसरी भूक्षय हुन्छ भन्नेबारे मलाई मेलोमेसो थिएन। लाग्थ्यो, धानखेत त समथर हुन्छन्, पानी जम्छ। त्यहाँबाट माटो कसरी बग्छ त?
विसं २०१३ मा आयोजित नेपालको पहिलो कृषि सम्मेलनले दिएको सुझाव बेवास्ता गरिंदा आज जल, स्थल र वायुको स्थिति भयावह बनिसकेको छ।
पानीको विज्ञानको अपव्याख्या
सन् १९८१ मा नेपाल फर्केपछि यही प्रक्रिया बुझ्ने प्रयासमा लागें। त्यसको सात वर्षअघि नै सन् १९७४ मा जलाधार संरक्षण विभाग स्थापना भइसकेको थियो, वन मन्त्रालय अन्तर्गत। भर्खर काम थालेकाले विषयगत परिधि नाघेर ‘सेडिमेन्ट प्रक्रिया’ बारे वन क्षेत्रका विज्ञहरूसँग संवाद गर्न मलाई सजिलो भएन।
१९औं शताब्दीको शुरूबाटै कोशी नदीको बाढीका कारण उपल्लो जलाधारमा भएका भूक्षय, वन विनाश र पहाडी क्षेत्रमा बढ्दो खेतीबारेका लेख सीमापारि आउन थालिसकेका थिए। केही दशकपछि नेपालमा सन् १९५० र १९६० तिर नदीहरूमा बढ्दो थिग्रेनीको मुख्य कारण वन विनाश रहेको प्रसङ्ग हर्क गुरुङका लेखमा भेटिन्छन्। सन् १९६० को मध्यतिर कम विकसित मुलुकमा भूक्षय, वन विनाश, स्वच्छ खानेपानीको कम आपूर्ति जस्ता समस्या बढ्दै गए। सन् १९७२ मा स्टकहोम वातावरण सम्मेलनबाट तिनको समाधान खोज्ने विश्वव्यापी प्रयास थालियो। त्यस क्रममा नेपालको पहाडी शृङ्खलाको चुनौतीले पनि विश्वव्यापी चासो पायो।
वन विनाशले नेपाल मरुभूमीकरण हुँदै गरेको तर्क प्रस्तुत गर्दै सन् १९७६ मा एरिक एकहोल्मको पुस्तक लुजिङ ग्राउन्डले यहाँको हिमाली र पहाडी क्षेत्रको विनाशलाई नै बिहार र बाङ्लादेशमा बढ्दो बाढीको कारण औंल्यायो। यसरी हिमालय क्षेत्रमा वातावरण ह्रासको सिद्धान्त प्रतिपादित भयो जसलाई नेपालको विकासमा सहयात्री रहेका अन्तर्राष्ट्रिय विकास संगठनले आत्मसात् गरे। तदनुरूप विकास नीतिहरू बनाइए। तर, जलविज्ञान, भूगर्भशास्त्र, मानवशास्त्र लगायत विषयको संयोजित आँखीझ्यालबाट गरिएका अध्ययनले उक्त सिद्धान्तबारे प्रश्न उठाए। यसो गर्नेमा ज्याक आइभ्स, ब्रुनो मेसरेली, माइकल थम्पसन, थमस हफर सहित नेपाल र भारतका विश्लेषकहरू पनि थिए। अन्ततः एकहोल्मको सिद्धान्तलाई बेठीक ठहर्याउँदै हिमालय क्षेत्रको परिवर्तन बुझ्न सुहाउँदो बाटो ‘बहुल र्याशनालिटी’ मानियो। यही बाटो जलवायु सङ्कटले गाँजेको आजको समयमा पनि सान्दर्भिक छ।
यसबीच जलचक्रमा मानवीय हस्तक्षेप बढ्दै गयो। सन् १९८० को दशकमा जलस्रोत विकासका क्रममा हुने छलफलहरूमा थिग्रेनीको विषय कम प्राथमिकतामा पर्थ्यो। मलाई लाग्यो, मेरो ज्ञान अपुरो हुने भयो। अनि म पानीका अन्य पक्षहरू जान्ने/सिक्ने बाटोमा लागें। थिग्रेनी अझै सीमान्त विषय हो। बाङ्लादेशका मित्र प्राध्यापक इम्तियाज अहमदको भनाइ छ, ‘सबैलाई नदीको नीलो पानी मात्रै चाहिएको छ, बाढी र थिग्रेनी होइन। नदीका तीनवटा पक्ष छन्- शक्ति, प्राण र आत्मा।’ यो भनाइलाई प्राध्यापक जयन्त बन्ध्योपाध्यायको व्याख्याले धरातलमा ल्याउँछ। उनी भन्छन्, ‘नदी चारवटा परस्पर सम्बद्ध तत्त्वहरूको सम्मिश्रण हो- पानी, ऊर्जा, जलचर र थिग्रेनी।’
आधुनिक विकासयात्रामा थिग्रेनी विनाको पानीले मात्र महत्त्व पायो। यो सोच नदीको उचित प्रयोग आर्थिक फाइदा मात्र रहेको दर्शनले निर्दिष्ट थियो। तदनुरूप नै ज्ञान, विज्ञान, प्रविधि, संगठन र शासन पद्धति बनाइए। प्राथमिकतामा परे बिजुली उत्पादन, औद्योगिक प्रयोग, सिँचाइ इत्यादि। जलचर, तल्लो भेगका बासिन्दा ओझेल परे, तिनले ठूलो नोक्सानी बेहोरे। जलस्रोतको विकासमा सामाजिक प्रभाव र वातावरणको विनाश न्यून गर्ने काम अझै पुछारको प्राथमिकतामा छ।
जलचक्र अन्तर्गत बाढीको प्राकृतिक भूमिका र पानीलाई बग्ने बाटो चाहिन्छ भन्ने सामान्य विज्ञान वास्ता गरिएन। खास गरी दक्षिणएशियाली मुलुकहरूमा शहर र पूर्वाधार विकास गर्दा पानीको बहावलाई दिनुपर्ने महत्त्व दिइएन। खोल्सी, प्रशाखा, नाला र नदीहरूमा जथाभावी हस्तक्षेप गरिएको छ। नदी थुनिएको छ, पर्खाल लगाएर साँघुरो पारिएको छ। खुला क्षेत्र कंक्रिटले ढाकिएका छन्। सिमसार पुरिएका छन्। ‘बाह्र वर्षमा खोलो फर्कने’ पुर्ख्यौली ज्ञान भुलिएको छ। सन् १९९० देखि जलस्रोतको एकीकृत विकास अवधारणाले सन्तुलित बाटोसँगै अन्य सिद्धान्त पनि प्रस्ताव गरेको छ। प्रयोगमा चाहिं जलचक्र खण्डित गर्ने बाटो नै छ।
हिजोआज एउटा कथन प्रचलित छ, ‘प्रकृतिमा आधारित समाधान।’ तर, ठूलो हात्ती जसरी अगाडि बढ्दै गरेको अहिलेको विकास ढाँचाको बाढीमा यस्ता कथन प्रकृतिप्रति चासो राख्ने मानिसका झिनामसिना आदर्श मात्र बनिराखेका छन्। त्यसैले त विकासका नाममा कंक्रिटकै हालीमुहाली छ। परिणाम, जताततैका शहरमा बाढीले मोटर गाडी बगाउने घटना बढेका छन्। प्रश्न छ- बाढी शहरमा पसेको कि शहरले नदीको बाटो मिचेको?
जलस्रोतको विकासमा सामाजिक प्रभाव र वातावरणको विनाश न्यून गर्ने काम अझै पुछारको प्राथमिकतामा छ।
बालुवाको अर्थ-राजनीति
कंक्रिटको हालीमुहाली अर्थ-राजनीतिसँग जोडिन्छ। आधुनिक विश्व आर्थिक व्यवस्थाका खम्बा हुन्- यातायात, प्लास्टिक, स्टील, एमोनिया, बिजुली र सिमेन्ट। निजी घर, व्यावसायिक भवन, पूर्वाधार निर्माणमा स्टिल, डिजेल, सिमेन्ट र कंक्रिट जोडिएका छन् भने एमोनिया रासायनिक मलको उत्पादनमा। यातायात, प्लास्टिक र बिजुलीको उपयोगिता त भन्नै परेन। उद्योग, मशिन निर्माण कम्पनी, व्यापारी, ढुवानीमा संलग्न व्यवसायी, ब्यांक सबैको सहभागिता छ यो प्रणालीमा।
पूर्वाधार निर्माणमा बालुवा-गिट्टीको माग छ। प्रकृतिमा पदार्थ उपलब्ध छन्, आपूर्ति सञ्जाल र संलग्न पात्रहरू छँदै छन्, बेचबिखनबाट तत्काल फाइदा पनि आउँछ। सरकारहरूलाई उत्खननबाट राजस्व प्राप्त हुन्छ। फलस्वरूप नदीबाट अहोरात्र बालुवा-गिट्टी निकालिँदै छ। बालुवा उत्खनन र गिट्टी कुट्ने काम विपन्न परिवारको जीविकास्रोत पनि हो।
अहिले विश्वभरि कल्पनातीत परिमाणमा बालुवा प्रयोग गरिन्छ। स्यान्ड स्टोरिज पुस्तककी लेखिका किरण परेराका अनुसार, अब बालुवा कहिल्यै नसिद्धिने पदार्थ रहेन। यसको प्रयोगले सामाजिक, वातावरणीय भूराजनीतिक र आर्थिक प्रभाव बढाउँदै छ। एउटा विकसित शहरले क्षेत्रफल विस्तार गर्दै नयाँ स्मार्ट र वातावरणमैत्री बस्ती निर्माण अघि बढाउँछ, सँगसँगै छिमेकी कम विकसित मुलुकको नदी, ताल र आश्रित समुदाय प्रत्यक्ष मारमा पर्छन्। किनभने, बालुवाको आपूर्ति त्यतैबाट गरिन्छ।
विश्व आर्थिक व्यवस्थाका माथि उल्लिखित सिमेन्ट जस्ता खम्बाहरूको सञ्चालन र प्रयोग कार्बन उत्सर्जनमा आधारित छ। कार्बन उत्सर्जन घटाउनु, नवीकरणीय ऊर्जाको भाग बढाउनु ठूलो चुनौती हो। यस्तोमा देशहरूले शून्य उत्सर्जनको लक्ष्य तय गरेका छन्। तर, युक्रेन-रूस युद्ध, अमेरिका-चीन विवादले अन्तर्राष्ट्रिय छलफलको माहोल नै बिथोलिएको छ। अब नजर छ, इजिप्टमा हुने २७औं जलवायु सम्मेलनतिर।
अर्को चुनौती हो, बालुवाको विकल्प खोज्नु। परेराका अनुसार, बालुवाको आपूर्ति चुनौती रहेको तथ्य विकास पद्धतिको मूलधारमा पुग्नै सकेको छैन। यसको दुष्परिणाम नदी प्रणाली र त्यससँग अन्योन्याश्रित सम्बन्ध भएका समुदायमा पर्न थालेको छ। अनियन्त्रित खननको खराब प्रभाव नदी, त्यसभित्रको जीवजगत् र स्थानीय बासिन्दाले भोग्छन्। नेपालमा पनि नदी सन्तुलन कायम राख्नुपर्ने पक्षमा पैरवी गर्नेहरू आक्रमणमा परेका छन्, मृत्युवरण गरेका छन्। बालुवा-गिट्टी उत्खननलाई सरकारले नियमन प्रयास गरे पनि रोक्न सकेको छैन।
नेपालमा पनि नदी सन्तुलन कायम राख्नुपर्ने पक्षमा पैरवी गर्नेहरू आक्रमणमा परेका छन्, मृत्युवरण गरेका छन्। बालुवा-गिट्टी उत्खननलाई सरकारले नियमन प्रयास गरे पनि रोक्न सकेको छैन।
माटो, बालुवा र नदीले भोग्दै गरेका चुनौती परस्परमा जोडिएका छन्। तिनलाई सन्तुलित राख्ने बाटो कस्तो होला ? यसबारे पैरवी गर्ने सानो समूह छ। तर, सत्तामा रहेकाहरू तिनका कुरै सुन्दैनन्। सत्तासीनहरू सुन्दा ठीक लाग्ने भाष्य बोल्छन्, तर व्यवहारमा आफूखुशी गर्छन्। त्यसैले संरक्षण चाहने समूह हताश र विचलित छ।
माटो, बालुवा र गिट्टी प्रयोगको शृङ्खलालाई पानी व्यवस्थापनको समग्रतामा हेर्नु जरुरी छ। मानव शरीरको ७० प्रतिशत भाग, जीवनको आधार, ऊर्जा, खाद्यान्न, सरसफाइ, कीटजीवको आश्रय, आस्था अनि संस्कृतिका सङ्गम हुन् नदी र पानी। यीसँगै माटोको संवर्द्धन आपसमा गाँसिएको छ।
समाज र भूगोलको सम्बन्ध सबैतिर मान्य छ। नेपाल र हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु, भूगर्भ, भूगोल र समाजको परस्पर सम्बन्ध निकै संवेदनशील र विशिष्ट छ। अन्यत्र विकास गरिएका जलविज्ञानका विधि यता ठ्याक्कै लागू हुँदैनन्। १९औं शताब्दीमा स्थापित पानी-ज्ञानको मान्यता अनुसार विगतको वर्षा र बहावको तथ्याङ्कका आधारमा भविष्य आकलन गर्न सकिन्छ। विद्यमान विधिहरू यही मान्यतामा आधारित छन्। जलवायु परिवर्तन लगायत सिलसिलाका कारण अब भने यो मान्यताले काम गर्दैन। तर, हामीकहाँ यो विशिष्टता बुझ्ने/बुझाउने र तदनुरूप शिक्षा प्रणाली विकास गर्नेतिर ध्यानै दिइएन। सामाजिक चेतना समेत ह्रासोन्मुख छ। यस्तोमा सन्तुलित भविष्यको गोरेटो पानी, नदी र माटोको स्याहारसुसार, माया, प्रेम र सम्मानबाटै कोरिनु जरुरी छ।
(दीक्षित जलवायु परिवर्तन र पानी व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न छन्। हिमालको २०७९ भदौ अंकबाट)
कभर स्टोरी:
⇒आफ्नै खुट्टामा बन्चरो
⇒प्रकृति दोहनः गरीबमारा दुश्चक्र
⇒यस्तो छ प्रकृति दोहनको धन्दा
⇒एक दिलीप मारिए, दुई जन्मिए
⇒हाम्रा वास्तविक अगुवा
⇒निशानामा संरक्षणकर्मी