अन्डरग्राउन्ड पार्किङ खाली गर्न पोखरा महानगरको निर्देशन
पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङको अनुमति लिई बनाइएका संरचना अन्य प्रयोजनमा लगाइएको ठाउँ खाली गर्न दोस्रो पटक सूचना प्रकाशित गरेको छ।
पार्किङको अनुमति लिई अन्य प्रयोजनमा लगाउने घरधनीले उपलब्ध समयभित्र नहटाए महानगरले नै हटाउने मेयर धनराज आचार्यले बताएका छन्। “महानगरले एक महीनाअघि नै सूचना जारी गरेको हो। फेरि सूचना जारी भएको छ‚” उनले भने‚ “अटेर गर्नेलाई उनीहरूकै खर्चमा अन्डरग्राउन्ड खाली गराउँछौं।”
अन्डरग्राउन्ड पार्किङ त्यही भवनका लागि नै भएको मेयर आचार्य बताउँछन्। “अन्डरग्राउन्ड खाली गरेर पार्किङ गर्ने आफ्नै साधन हो। हामीले बाहिरकालाई दिनुस् भनेका छनौं‚” उनले भने‚ “यदि पब्लिकलाई दिनुहुन्छ भने शुल्क लिएर दिन सक्नुहुन्छ।”
पार्किङको अनुमति लिएका घरधनीलाई पत्र पठाउन शुरू गरेको महानगरका इन्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिए। यसअघि असारमा सूचना जारी गरिएको उनले बताए। २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले पनि अन्डरग्रान्ड खाली गर्न सूचना जारी गरेका थिए। तर‚ कार्यान्वयन भएन। उल्टै पार्किङ शुल्क उठाउने ठेक्का लगाइयो।
पोखराको जनघनत्व र सवारीसाधनको संख्या बढ्दा पार्किङको समस्या बढ्दै गएको छ। महानगरको मुख्य क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, अमरसिंहचोक, लोकसाइड र पृथ्वीचोकमा सवारी साधन पार्किङ गर्ने ठाउँ हत्तपत्त पाइँदैन।
महानगरको मुख्य चोकमा निर्माण हुने घरमा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्ने प्रावधान छ। अन्डरग्राउन्ड पार्किङ नबनाइए नक्शा पास हुँदैन। आर्थिक वर्ष २०७६/७७ देखि अन्डरग्राउन्ड पार्किङ सहित घर वा भवनको नक्शा पास गर्दा दस्तुरमा एक तलाको राजस्व छूटको व्यवस्था गरिएको थियो। चालू आर्थिक वर्षमा अन्डरग्राउन्ड पार्किङ बनाउनेलाई भुइँतलाको ५० प्रतिशत छूट दिइएको छ।
तर, राजस्व छूट लिए पनि २५० भन्दा बढी घर/भवनको अन्डरग्राउन्डमा व्यापार व्यवसाय सञ्चालन गरिरहेको महानगरका इन्जिनीयर पौडेलले बताउँछन्। भुइँतलामा दोहोरीसाँझ, कपडा पसल, मोबाइल पसल, खाजा पसलदेखि मोटरसाइकल ग्यारेज, स्टोर सञ्चालन भइरहेका छन्।
महानगरको मुख्य बजार क्षेत्रमध्ये सबैभन्दा बढी पार्किङ समस्या महेन्द्रपुल र कम लेकसाइडमा छ। “न्यूरोड, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगामा करीब ३० घरले अन्डरग्राउन्ड पार्किङ पालना गरेका छैनन्,” इन्जिनीयर पौडेलले भने‚ “पोखरामा पार्किङ पालना गर्ने करीब ६० घर मात्र छन्।”
मेयर आचार्यका अनुसार‚ सबैभन्दा बढी अन्डरग्राउन्डको पार्किङको पालना गर्ने लेकसाइड हो। “पर्यटकीय एरिया भएर पनि होला, सबैभन्दा बढी लेकसाइडमा मापदण्डको पालना भएको छ‚” उनले भने‚ “अरू ठाउँमा पनि नक्शा पास हुँदाको मापदण्ड पालना भए पोखरामा पार्किङको समस्या धेरै कम हुने थियो।”
पोखराको मुख्य बजार क्षेत्रमा २५० वटा कार पार्किङ गर्ने क्षमता छ। “न्यूरोड क्षेत्रमा कार राखेपछि बाइक राख्ने ठाउँ भेट्न कठिन हुन लागिसक्यो,” इन्जिनीयर पौडेलले भने‚ “बजारमा चल्ने ८०० सार्वजनिक बस छन्, दुई हजार ५०० भन्दा बढी दुईपाङ्ग्रे गाडी एकै ठाउँमा पार्किङ गर्नुपर्ने बाध्यता छ। पार्किङको वैकल्पिक उपाय छैन।” पोखरामा २२ सयभन्दा बढी ट्याक्सी छन्।