नेपाल केन्यासँग सात रनले पराजित
केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल सात रनले पराजित भएको छ।
नैरोबीमा सोमबार भएको खेलमा केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९४ रनमै समेटियो। नेपालका लागि रोहितकुमार पौडेल बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। उनले ५५ बलमा ४७ रन बनाए।
केन्याका लागि राकेप पटेलले तीन तथा इलिजा ओटिनो, सेम नोचे र व्रज पटेल दुई-दुई विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। केन्याका लागि लुकास ओलुचले ३३ र कलिन्स ओबुयाले २० रन बनाएका थिए।
नेपालका लागि भने सन्दीप लामिछानेले कीर्तिमानी बलिङ गरेका थिए। उनले चार ओभरमा नौ रन दिएर पाँच विकेट लिएका थिए।
त्यस्तै, मोहम्मद आदिल आलमले दुई, सहाब आलम र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।
पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले दुई-दुई खेल जितेका छन्। अब पाँचौं खेल मंगलबार अपराह्न ३ः४५ बजे नैरोबीमा हुनेछ।