काठमाडौं उपत्यकामा भित्रिने तरकारी जाँच्न पाँच जिल्लामा विषादी परीक्षण केन्द्र
काठमाडौं उपत्यकामा भित्रिने फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
मन्त्रालयले चितवन, मकवानपुर, ललितपुर, काभ्रे र नुवाकोटमा विषादी परीक्षण केन्द्र सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए । ती जिल्लामा उत्पादित तरकारी धेरैजसो काठमाडौं उपत्यकामा भित्रिन्छ।
“जहाँबाट धेरै फलफूल र तरकारी भित्रिन्छ, त्यहाँ मेसिन राख्ने योजना बनाएका छौँ”, उनले भने, “संरचना निर्माण नहुँदासम्म कृषि ज्ञान केन्द्रमार्फत विषादी परीक्षणको व्यवस्था मिलाइनेछ ।”
विषादी परीक्षणका लागि रु ६ करोडमा पाँचवटा मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको उनले बताए । “यसै महीना मेसिन आउनेछ भने आगामी आर्थिक वर्षबाट परीक्षण शुरु गरिनेछ”, गेदालले भने ।
तरकारी आयात, निर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर विषादी परीक्षण प्रयोगशाला सञ्चालमा ल्याइन लागेको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बताए ।
परीक्षणपश्चात तरकारीमा मानव स्वाथ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगको मात्रामा कमी आउने उनको विश्वास छ ।
उत्पादन बढी गर्ने मनसायले तरकारी तथा फलफूलमा विषादी अत्यधिक मात्रामा प्रयोग गर्ने प्रवृत्ति किसानमा बढ्दो छ । नेपालमा वर्षेनी भित्रिने करोडौँ मूल्यका विषादीमध्ये धेरै विषादी तरकारीमा खपत हुने गरेको छ ।