गणपूरक संख्या नपुगेपछि संसद् स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेकय पारित गर्ने कार्यसूची थियो। सभामुख अग्निप्रसाद सापकोटाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ निर्णयार्थ प्रस्तुत गर्दा सांसद घनश्याम खतिवडाले नियमापत्ति गरेका थिए।
उनले संविधानको धारा ९४ अनुसार गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। उनले यस्तो महत्त्वपूर्ण विधेयक पारित गर्दा गणपूरक संख्या आवश्यक हुने उनको भनाइ थियो।
त्यसपछि सांसदहरूको संख्या गणना गर्दा ४५ जना मात्रै उपस्थित रहेका थिए। प्रतिनिधि सभाबाट कुनै पनि प्रस्ताव वा निर्णय गर्दा कम्तीमा ६९ जना सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ।
संवैधानिक व्यवस्था अनुसार, गणपूरक संख्या नभएको भन्दै सभामुख सापकोटाले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।