‘कांग्रेस वामपन्थीद्वारा डोरिनु नेपाली राजनीतिको दुर्भाग्य हो’
राजतन्त्र अन्त्य र संविधानसभाको माओवादी अजेन्डा कांग्रेसले टपक्कै टिप्यो। यति हुँदाहुँदै संविधान निर्माणका क्रममा केकस्ता कुरा भए भन्नेबारे न नेता न त आमजनताले राम्ररी बुझ्न सके। यसरी भुलभुलैयामै अघि बढेर राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षताको कुरा आयो।
प्राध्यापक राजेश गौतम मूलतः राजनीतिक इतिहासकार हुन्। प्रचण्ड गोर्खा, गोर्खा परिषद् र नेपाल प्रजा–परिषद्बारे पुस्तक लेखेका उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस शीर्षकमा धारावाहिक पुस्तक प्रकाशन गर्दै आएका छन् जुन हालसम्म दश भागसम्म प्रकाशन भइसकेको छ। गौतमले पूर्व प्रधानमन्त्री केआई सिंह र भारतका समाजवादी नेता जयप्रकाश नारायणको जीवनी समेत लेखेका छन्। उनको विद्यावारिधिको शोधपत्र (पुस्तकाकार पनि) नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिकालाई २०४६ सालमा मदन पुरस्कार दिइएको थियो। चार दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका उनी चित्रकार पनि हुन्। सार्वजनिक मञ्चहरूमा देखिनुभन्दा स्वाध्ययन र गहन लेखन–चिन्तनमै रमाउने गौतमले हालै शेखर खरेलसँग राजनीति, जीवन र कलाबारे संवाद गरे।
नेपाली कांग्रेसलाई स्थापनाकालदेखि नै सूक्ष्म ढङ्गले नियाल्दै आउनुभएका यहाँ चौधौं महाधिवेशनसम्म आइपुग्दा पार्टीलाई कस्तो पाउनुहुन्छ?
पछिल्लो महाधिवेशनमा नेताहरूको अवस्थिति हेर्दा कांग्रेस ‘डिक्लाइन’ (पतन) हुँदै गरेको महसूस हुन्छ। अघिल्ला महाधिवेशनमा नेताका आआफ्नै समूह हुँदाहुँदै पार्टीलाई बचाउनुपर्छ, व्यवस्थित रूपमा अघि बढाउनुपर्छ भन्नेमा समान दृष्टिकोण पाइन्थ्यो। यो अधिवेशन पार्टीलाई आफ्नो पकडभित्र राख्ने उद्देश्यबाट सञ्चालन भए जस्तो मलाई लाग्छ।
चौधौं महाधिवेशनले पदाधिकारी मात्र छान्यो, नीतिबारे छलफलै गरेन। नीति विनाको नेतृत्वले पार्टीलाई कता लैजाला?
कांग्रेसले स्थापनाकालदेखि राख्दै आएका विचारमा २०६२/०६३ पछि ठूलो परिवर्तन देखियो। राजतन्त्रको अन्त्यपछि पार्टीले बाटो बिराएको कार्यकर्ताले महसूस गरे। गणतन्त्रपछि कस्तो नीति अख्तियार गर्नुपर्ने हो, पार्टीमा छलफलै हुन सकेको छैन। फेरि, हिजोकै सिद्धान्तलाई नीति मानेको स्थिति पनि होइन। भुलभुलैयामै रहेको देख्छु म।
कांग्रेसमा हिन्दू राज्यको मागसँगै संघीयताप्रति असहमतिको आवाज पनि उठ्ने गरेको छ। खासमा कांग्रेसले अरू कसैको नीति पछ्याएको कि आफैं नीतिविहीन बनेको?
दुइटै कुरा हो। कांग्रेसको विचार स्विकारेर अघि बढेका बहुसंख्यक नेताहरू कांग्रेस हिजोको जस्तो नभएर माओवादी भएको विशेषण लगाइदिन्छन्। यसको अर्थ २०६२/०६३ पछि कांग्रेसले आफ्ना विचारलाई आधार बनाएर अघि बढ्नुभन्दा माओवादीकै नीतिलाई पछ्याएको छ भन्ने हो। जस्तै, राजतन्त्रको अन्त्य कांग्रेसको सिद्धान्त थिएन। संविधानसभाको कुरा कांग्रेसले धेरै अघि उठाएको हो, तर देशको परिस्थितिलाई आधार बनाउँदै त्यसलाई अलि टाढा राख्यो। राजतन्त्र अन्त्य र संविधानसभाको माओवादी अजेन्डा कांग्रेसले टपक्कै टिप्यो। यति हुँदाहुँदै संविधान निर्माणका क्रममा केकस्ता कुरा भए भन्नेबारे न नेता न त आमजनताले राम्ररी बुझ्न सके। यसरी भुलभुलैयामै अघि बढेर राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षताको कुरा आयो। पार्टीभित्र विभिन्न तर्कवितर्क देखा परे। हिन्दू राष्ट्र नै चाहिन्छ भन्नेमा मुख्य रूपमा खुमबहादुरजी (खड्का) हुनुहुन्थ्यो। उहाँको समूह आज पनि छ।
कांग्रेसले स्थापनाकालदेखि राख्दै आएका विचारमा २०६२/०६३ पछि ठूलो परिवर्तन देखियो। राजतन्त्रको अन्त्यपछि पार्टीले बाटो बिराएको कार्यकर्ताले महसूस गरे।
कांग्रेसका संस्थापक नेता बीपी आफूलाई आस्तिक वा नास्तिकभन्दा एग्नोस्टिक (अज्ञेयवादी) भन्नुहुन्थ्यो। बीपीको यही विचारको हवाला दिँदै एकथरी कांग्रेसी धर्मनिरपेक्षताको वकालत गर्छन् त अर्काथरी धार्मिक रूपले स्वतन्त्र हुनुपर्ने तर्क गर्छन्। तपाईंको बुझाइमा बीपीको खास विचार के हो?
बीपीले अपनाएका नीति र विचार सम्पूर्ण रूपमा पार्टीमा स्थापित हुन्छन् भन्ने होइन। उहाँ ‘म धर्मको विरोध गर्दिनँ र कुनै मन्दिरमा टाउको टेकाउन पनि जान्नँ’ भन्नुहुन्थ्यो। जुन नेपाली समाजमा राजनीति गरिरहनुभएको थियो, त्यसले बोक्दै आएको धारणाको उहाँले विरोध गर्नुभएन। त्यसै अर्थमा हिन्दू राष्ट्र पनि भयो, धार्मिक स्वतन्त्रताका कुरा पनि भए।
पहिले वाम शक्तिसँगको हिमचिम नरुचाउने कांग्रेस २०६२/०६३ यता भने वाम दलसँग कार्यगत एकता नै गर्दै अहिले उनीहरूसँग गठबन्धनै बनाएर सत्ता हाँक्दै छ। पार्टीको यस्तो व्यवहारलाई कसरी हेर्नुभएको छ?
वामपन्थीको इतिहास र अवस्थालाई दुई प्रकारले हेर्नुपर्छ। एउटा, नेपालमा त्यस्ता वामपन्थी भए जो आफूलाई प्रजातान्त्रिक संस्कारतिर ढालेर अघि बढे। जस्तो, मनमोहनजी (अधिकारी) वामपन्थी र मार्क्सवादी भए पनि उहाँको ‘स्कूलिङ’ बीपीको समकालीन रूपबाट अघि बढ्यो। पछि, पुष्पकमल दाहालजीको नेतृत्वमा आएको समूह अनि त्यसभन्दा अघिको केपी ओली, सीपी मैनाली, आरके मैनालीको समूहको भन्दा मनमोहनजीहरूको विचार फरक हो। उहाँहरू प्रजातान्त्रिक धारबाटै साम्यवादी विचार स्थापना गर्न चाहनुहुन्थ्यो। बनारसमा रहँदा पुष्पलालजीको धारणा पनि संवैधानिक रूपले अघि बढ्नुपर्छ भन्ने थियो।
बीपी र पुष्पलालबीच सम्बन्ध रहँदारहँदै पनि कांग्रेसभित्र कम्युनिष्टलाई विश्वास गर्न कठिन थियो। एउटा प्रसङ्ग, बीपी र पुष्पलालबीच एउटा वार्ता भएछ। त्यो कुरा तत्काल नभई उपयुक्त समयमा सार्वजनिक गर्ने सहमति रहेछ। तर, भोलिपल्टै बिहान पत्रिकामा छापिइहाल्यो। त्यहींबाट बीपी र पुष्पलालबीच दूरी बढ्यो। यद्यपि, दुवैमा मेलमिलापबाट अघि बढ्नुपर्छ भन्ने दृष्टिकोण थियो। पछिल्लो समयको कुरा गर्दा चाहिं सैद्धान्तिक रूपबाट अघि बढ्नुपर्छ भन्ने मनमोहनजीहरूको समूहसँग कांग्रेसको दूरी त्यति बढ्नुपर्छ भन्ने लाग्दैन। तर, झापा आन्दोलन र बन्दूकै बोकेर अगाडि बढेका वामपन्थीसँग चाहिं कांग्रेसको धारणा आकाश–जमीनको फरक हो। यति हुँदाहुँदै नेपालको राजनीतिमा वामपन्थीहरूले आफ्नो पकड यसरी स्थापित गरे कि नेपाली कांग्रेस जस्तो सशक्त पार्टी समेत त्यसैमा डोरियो। जुन नेपाली राजनीतिकै दुर्भाग्य हो।
कांग्रेस नेतृत्वमा वाम घटक सहितको अहिलेको सत्ता गठबन्धनका काम–कारबाहीलाई कसरी नियालिरहनुभएको छ? अर्कातिर, निर्वाचनमा समेत गठबन्धनै बनाएर जाने निर्णय गरिनु निर्दलीय अभ्यासको छनक होइन र?
हिजो सरकार निर्माण गर्ने प्रवृत्तिले गठबन्धनको स्वरूप स्थापित हुन्थ्यो। तर, अहिलेको गठबन्धन देश निर्माण गर्न वा जनतालाई सेवा दिन नभई सत्तामा कसरी स्थापित हुने, एकले अर्कालाई कसरी कमजोर बनाउने भन्ने उद्देश्यबाट प्रेरित देखिन्छ। एमाले र माओवादीबीचको गठबन्धनले कांग्रेस अघि बढ्न रोकिएपछि वामपन्थीको प्रभुत्व स्थापित हुन्छ भन्ने दृष्टिकोण रह्यो। तर, त्यही गठबन्धनभित्र पनि एकातिर माओवादी र अर्कातिर एमाले आफूलाई कसरी सत्तामा स्थापित गर्ने भन्नेतिर लागे। त्यसबाट उनीहरूको एकीकरण बलियो रूपमा स्थापित हुन सकेन। त्यसपछि जुन किसिमको गठबन्धनको सिलसिला शुरू भयो, त्यसको ध्येय पनि सत्तामा कसरी केन्द्रित हुने भन्ने नै रह्यो।
बीपी र पुष्पलालबीच एउटा वार्ता भएछ। त्यो कुरा तत्काल नभई उपयुक्त समयमा सार्वजनिक गर्ने सहमति रहेछ। तर, भोलिपल्टै बिहान पत्रिकामा छापिइहाल्यो। त्यहींबाट बीपी र पुष्पलालबीच दूरी बढ्यो।
प्रदेश सरकारले पहिलो कार्यकाल लगभग पूरा गरिसके। यसबीचको संवैधानिक अभ्यास चाहिं कस्तो देख्नुहुन्छ?
सबै राजनीतिक दल संविधानभन्दा उल्टो बाटो हिंडिरहेका छन्। आन्तरिक रूपबाट ज्यादै कमजोर उनीहरू सबै संवैधानिक पद र सर्वोच्च अदालतमा समेत आफ्नै मान्छेहरू भरेर आफ्ना कामको प्रमाणीकरणको प्रयासमा छन्। यसले गर्दा देशको आर्थिक, सामाजिक, प्रशासनिक व्यवस्था कमजोर हुँदै गएको म देख्छु। भ्रष्टाचार यति उग्र छ कि सर्वोच्चका न्यायाधीश, अख्तियारकै मानिस पनि मुछिएका छन्।
सत्तामा हुँदा एकथरी कुरा गर्ने दलहरू सत्ता बाहिर हुनासाथ त्यसको ठीक विपरीत गर्छन्। केपी ओली प्रधानमन्त्री भएकै वेला स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)का लागि पत्र लेखियो। ओलीले जुन नागरिकता अध्यादेश ल्याए, त्यसैलाई गठबन्धनले विधेयकका रूपमा संसद्मा टेबल गर्दा एमालेले विरोध जनायो। पुष्पकमल दाहालले एमसीसीका लागि शेरबहादुर देउवासँग मिलेर पत्र लेखे। तर, उनकै पार्टीले विरोधमा सडक ततायो।
नेपालका वामपन्थी र राष्ट्रवादको नारालाई कसरी हेर्नुभएको छ?
यो राष्ट्रवाद नभएर राजनीतिक दलभित्रको दोहोरो चरित्र हो। हाम्रा दल छिमेकी देशहरूबाट ज्यादै प्रभावित रहेको इतिहास छ। हिजो चीन र भारतलाई सन्तुलनमा राखेर राजनीति हुन्थ्यो। अब यूरोपेली देश र अमेरिकालाई समेत सन्तुलनमा राख्नुपर्ने स्थिति छ। तर, हाम्रा नेताहरूमा अध्ययनको ज्यादै कमी छ। उनीहरू भित्र बैठकमा ‘यो बैठकले गरेको निर्णयको विरोध फलानो फलानो व्यक्तिहरूले यस किसिमले गर्नेछन्’ भन्ने प्रकारले निर्णय गर्छन्।
एमसीसी अनुमोदनको विरोध कैयौं स्तरमा माओवादी, एमाले र कांग्रेसभित्रै भइरहेछ। प्रचण्डजीले अमेरिकी सरकारलाई चिठी लेखेको कुरा नारायणकाजीजी (श्रेष्ठ)लाई थाहा थियो होला नि त! थाहा पाउँदापाउँदै माओवादीले भित्र सहमति र बाहिर किन विरोध गर्यो? यस्तो कुराले दलप्रतिको विश्वासमा कमी ल्याउँछ। उनीहरू स्वयं कमजोर हुन पुग्छन्। नेपालको छवि पनि अन्तर्राष्ट्रिय रूपमा राम्रो बन्दैन।
छिमेकीसँगको सम्बन्धलाई जोडेर चर्काइने राष्ट्रवादलाई चाहिं कसरी हेर्नुहुन्छ?
हामीले नेपालको सामाजिक र भौगोलिक स्थिति हेरेर भारत र चीनसँग सन्तुलित नीति अपनाउन सक्नुपर्छ। यसको अर्थ यूरोपेली र अमेरिकीसँग सम्बन्ध बनाउनै हुँदैन भन्ने होइन। भारतसँग कुरा गर्दा अराष्ट्रवाद र चीनसँग कुरा गर्दा राष्ट्रवाद हुन्छ भन्नु कमजोर सोचाइ मात्र हो। राष्ट्रवाद त्यसरी बाँडिंदैन। आम जनताले भारत वा चीनतिर लाग्नुपर्छ कहिल्यै भन्दैनन्।
सबै राजनीतिक दल संविधानभन्दा उल्टो बाटो हिंडिरहेका छन्। आन्तरिक रूपबाट ज्यादै कमजोर उनीहरू सबै संवैधानिक पद र सर्वोच्च अदालतमा समेत आफ्नै मान्छेहरू भरेर आफ्ना कामको प्रमाणीकरणको प्रयासमा छन्।
तपाईं प्रखर बुद्धिजीवी एवं ऐतिहासिक हुनुहुन्छ। दलका नेताहरू राजनीतिक तथा प्राज्ञिक विषयमा सल्लाह लिन कत्तिको आउँछन्?
कांग्रेसको इतिहास लेखें भन्दैमा म कांग्रेस होइन, प्रजातन्त्रमा विश्वास गर्ने मान्छे हुँ। थुप्रै दलका इतिहास लेखें, तर तिनका कुनै नेताले तपाईंले यस्तो किताब लेख्नुभएछ भनेको थाहा छैन। मेरो किताब मागेर पढेको पनि थाहा छैन, सिवाय प्रदीप गिरि। कांग्रेसभित्र पढ्ने प्रवृत्ति नै छैन। अरूमा पनि पठन संस्कृति थोरै मात्र छ। एकपल्ट समानुपातिकमा तपाईंको नाम राखिएको छ भनेर फोन आयो। मैले ठीकै छ भनें। करीब एक महीनापछि फेरि फोन आयो, ‘तपाईंको नाम माथि पठाउन लागिएको छ, पार्टीलाई सहयोग गर्नुपर्यो।’ कति भन्दा ‘५० लाख’ भने। अनि मैले भनें, ‘हेर्नुस् भाइ, मेरो नाम कसले राखेको हो, मलाई नै थाहा छैन। त्यसैले त्यही व्यक्तिकहाँ गएर मेरो नाम झिकिदेऊ भन्नुहोला।’
तपाईंको घरमा जताजतै चित्रकला सजाइएको देख्यौं। तपाईंमा चित्रकारिताको शोख चाहिं कहाँबाट आयो?
धेरै अघि म कलाबारे अलि अलि लेख्दथें। अलि अलि पेन्टिङ पनि गर्दथें। म मानव अधिकार आन्दोलनमा संलग्न भएँ। हृषीकेश शाहजीसँग लागेर नेपाल मानव अधिकार संगठनको उपाध्यक्षसम्म भएँ। सुदीप पाठक आउनुभएपछि संगठनमा ठूलो भ्रष्टाचार भयो। मैले विरोध गरें। तर, त्यहाँका वरिष्ठ दाजुहरूले त्यो घटना ढाकछोप गर्दा मलाई बडो दुःख लाग्यो। त्यसैले त्यो क्षेत्रमा संलग्न हुन्नँ भनेर सिर्जना फाइन आर्ट कलेजमा भर्ना भएँ। ६ महीना जति कला सिकेर यो क्षेत्रमा प्रवेश गरें।
एउटा संस्थाको भ्रष्टाचारका कारण तपाईं कला क्षेत्र प्रवेश गर्नुभयो। देशै भ्रष्टाचारले गाँजिएको अहिलेको अवस्थामा चाहिं तपाईंको क्यानभास कस्तो छ?
अस्ति भर्खर ‘एन्ड अफ द जर्नी’ (यात्राको अन्त्य) शीर्षक चित्र बनाएँ। त्यो चित्र एउटा प्रदर्शनीमा लगेको थिएँ, तर अस्वीकृत भयो। दोस्रो पटक अर्को प्रदर्शनीमा लगें, त्यसले पनि राख्न चाहेन। त्यसलाई अहिले त्यतिकै राखेको छु। यसको अर्थ, म कलाबाट बाहिरिन्छु भनेको होइन। कलासँगै लेखनलाई अघि बढाउँछु। जीवनकालमै सबै कुरा पाउनुपर्छ भन्ने छैन। ५० वर्षसम्म मैले लेखेका किताब कसैले त पढ्ला नि ! त्यसै गरी कुनै समयमा मेरो चित्रकलाले पनि नेतृत्व गर्ला। मेरो यस्तै आशा छ, यसैमा अगाडि बढिरहन्छु।
(हिमालको २०७९ भदौ अङ्कबाट।)