डोल्पाका चार स्थानीय तहमा जान मानेनन् ब्याङ्क
डोल्पाका चार स्थानीय तहमा ब्याङ्कले शाखा खाेल्न नमान्दा कारोबारमा समस्या भएको छ ।
डोल्पोबुद्ध, शे–फोक्सुण्डो, छार्का ताङसोङ र काइके गाउँपालिकामा ब्याङ्ककाे शाखा नखुल्दा योजनाको रकम भुक्तानी तथा अन्य कारोबारका लागि समस्या भएको हाे ।
डाेल्पाे बुद्ध र छार्का ताङसोङमा राष्ट्रिय वाणिज्य ब्याङ्क, शे–फोक्सुण्डोमा प्रभु ब्याङ्क र काइकेमा नेपाल ब्याङ्कको शाखा स्थापनाका लागि तोकिए पनि सुरक्षाको कारण देखाउँदै उनीहरुले शाखा खाेलेका छैनन् ।
गाउँमा ब्याङ्क नखुल्नाले त्यहाँका सरकारी कर्मचारी, उपभाेक्ता समिति र सर्वसाधारण जनतालाई कारोबारका लागि सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता छ ।
शे–फोक्सुण्डोमा साउनभित्र ब्याङ्कको शाखा स्थापना गर्ने प्रभु ब्याङ्कसँग सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताए ।
तर ब्याङ्कले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म ब्याङ्कको शाखा स्थापना गर्न नसकिने बताएकाे वडा नम्बर ८ पुग्मका आङबहादुर लामाले बताए ।
डाेल्पाे बुद्ध र छार्कामा अध्ययनका लागि गएकाे राष्ट्रिय वाणिज्य ब्याङ्ककाे टाेली जेठकाे दाेस्राे साता लेक लागेर फर्केकाे थियाे । अध्ययन टोलीका सदस्यलाई नै लेक लागेर उद्धार गर्नु परेपछि ब्याङ्क स्थापनाको काम झनै अन्योल बनेको छ ।
डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चारवटामा मात्र ब्याङ्कले शाखा खाेलेका छन् ।
स्थानीय तहमा ब्याङ्क नभएपछि स्थानीय तहको काम हप्ता दिन लगाएर जिल्ला सदरमुकामबाट गर्नुपरेकाे गाउँपालिकाहरुले बताएका छन् ।