गाउँमै सुविधायुक्त प्रसूति सेवा
गाउँमा रहेको स्वास्थ्य चौकीले सुविधायुक्त प्रसूति सेवा दिन थालेपछि कटहरी गाउँपालिकाका महिलाहरूलाई विराटनगर धाउनुपर्ने बाध्यता हटेको छ।
मोरङको कटहरी गाउँपालिका–६ थलाहाकी अस्मिता सरदार घर नजिकैको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा पाएकोमा खुशी छन्। अस्मिता र बच्चा दुवै स्वस्थ छन्।
प्रदेश १ को राजधानी विराटनगरबाट १२ किलोमिटर उत्तर पूर्वमा पर्ने थलाहा स्वास्थ्य चौकीबाट स्थानीय गोमादेवी सरदारले पनि प्रसूति सेवा लिइन्। उक्त प्रसूति केन्द्रमा १० महीनामा ५३ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। उनीहरू सबै स्वस्थ रहेको चौकीले जनाएको छ।
वडा नम्बर ३ को स्वास्थ्य चौकीमा प्रसूति सेवाका लागि भर्ना भएकी स्थानीय दीप्ति साह ठूला अस्पताल सरह घर नजिकैको स्वास्थ्य चौकीमा सुविधा रहेकाले सेवा लिन आएको बताइन्। गाउँपालिकाले चौकीमा २४ घण्टे प्रसूति सेवा शुरू गरेपछि गाउँमै सुविधा पाएको स्थानीयबासी बताउँछन्। विराटनगरको कोशी अस्पतालको प्रसूति वार्ड सधैं भरिने भएकाले २४ घण्टासम्म पालो पर्खनुपर्ने अवस्था हुन्छ। अहिले कटहरीका केही महिला मात्र विराटनगरका ठूला अस्पतालमा प्रसूतिका लागि जाने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र गुप्ता बताउँछन्।
विश्वास दिलाउन अभियान
कटहरी स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना भएको पहिलो वर्ष २३ जनाले मात्रै प्रसूतिको सेवा लिएका थिए। दोस्रो वर्ष ६७ जना पुगे।
चौकीमा कम संख्यामा गर्भवतीहरू सेवा लिन आएपछि स्वास्थ्यकर्मी परिचालन गरी अभियान नै सञ्चालन गरिएको थियो। चौकीमा प्रसूति गराउनेलाई पाँच हजार रुपैयाँ भत्ता दिइएको थियो। त्यस बाहेक चार पटक जाँच गराए ८०० रुपैयाँ र थप एक हजार रुपैयाँ यातायात खर्च दिने योजना ल्याइएको थियो। यस्तै, प्रयोगशालाको परीक्षण र भिडिओ एक्स–रे निःशुल्क गरिएकाले सेवा लिने महिलाको संख्या बढ्दै गएको गुप्ता बताउँछन्। केन्द्रमा आउनेका लागि एम्बुलेन्स निःशुल्क गरिएको छ।
५० हजारभन्दा बढी जनसंख्या रहेको कटहरीमा दुई वटा प्रयोगशाला सहितका प्रसूति केन्द्र सञ्चालनमा छन्। सात वडामा आठ वटा स्वास्थ्य चौकी छन्। विराटनगरका अस्पतालमा परीक्षण गराए पनि गाउँपालिकाले दिने सुविधाका कारण सुत्केरी हुन चौकीमा जाने बढ्दै गरेको स्थानीयबासी बताउँछन्। सुत्केरी र नवजात शिशुको स्याहारमा गाउँपालिकाले निकै मिहिनेत गरेको छ। सात वडाका दलित, गरीब बस्तीमा १० वटा पोषण सम्बन्धी समूह बनाइएको छ। सबै समूहलाई पोषणयुक्त पीठो तयार गर्ने मशिन दिइएको छ।
“गाउँपालिकाको पहिलो बैठकले निर्णय गरेर स्वास्थ्य सेवामा केन्द्रित भएका छौं,” गाउँपालिका अध्यक्ष देवराज चौधरीले भन्छन्। कटहरीमा धेरैजसो जनता मजदूरी गरी जीविकोपार्जन गर्छन्। यहाँका जनता ज्यालादारी कामका लागि दैनिक विराटनगर आउँछन्। उनीहरूलाई कुनै पनि रोग लागे गाउँमै उपचार होस् भनेर सेवा विस्तार गरिएको चौधरीले बताउँछन्।
यसअघि पार्टीका कार्यकर्ता र नेताका आफन्तलाई उपचार खर्च दिंदै आएको र अहिले त्यसलाई रोकेर उपचार खर्च व्यवस्थित गरेको अध्यक्ष चौधरी बताउँछन्। “गाउँको स्वास्थ्य चौकीमा उपचार नभएर सिफारिश लिएर अस्पताल जानुपर्ने बाध्यता भएकालाई मात्रै उपचारमा सामान्य सहयोग गर्न थालेका छौं,” चौधरी भन्छन्, “यति धेरै स्वास्थ्यकर्मी पालिकामा छन्, उपचार खर्च दिएर अस्पताल पठाइने गरिएको रहेछ।”
नेपाल सरकारको प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाउने योजना भने कटहरीमा अझै कार्यान्वयन भएको छैन। १३ कट्ठा जग्गा दिने दाता नपाएकाले अस्पताल बनाउने योजना अझै तय भइनसकेको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य बताउँछन्। चालू आर्थिक वर्षमा अस्पताल निर्माण शुरू नगरे सरकारले बजेट नदिने उनको भनाइ छ।
गाउँमै प्रयोगशाला
कटहरी स्वास्थ्य चौकीमा दुई वर्षदेखि प्रयोगशाला सञ्चालित छ। थलाहा स्वास्थ्य चौकीमा यही भदौ पहिलो सातादेखि प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। प्रयोगशालामा ५० खालको परीक्षण हुने चौकी प्रमुख रेमन्तकुमार दासले जानकारी दिए।
परीक्षणमा प्रयोग हुने रसायनको शुल्क मात्रै लिने गरिएको छ। रगतमा चिनीको मात्रा परीक्षण गर्न विराटनगरका प्रयोगशालामा कम्तीमा १०० रुपैयाँ तिर्नुपर्छ भने कटहरीमा ३० रुपैयाँ मात्रै लिने गरिएको छ। गर्भवती, सुत्केरी र शिशुको परीक्षण निःशुल्क गरिएको छ।
कटहरीका कार्यपालिका सदस्य जितनारायण सरदारका अनुसार, थलाहासम्म पुग्ने कच्ची बाटोका कारण गर्भवती, सुत्केरी र बिरामीलाई विराटनगर धाउन समस्या हुन्छ। सार्वजनिक यातायात नचल्ने उक्त गाउँमा यातायातको सुविधा भनेको तीनपाङ्ग्रे टेम्पो मात्रै हो।