रैथाने तीजकथा
तीजलाई पतिप्राप्तिकै ध्येयले व्रत बस्नुपर्ने पर्वका रूपमा रूढ गराउन दृढ पितृसत्तात्मक मूलधारले यसको प्रतिवाद गर्ने रैथाने लोककथाहरू क्रमशः प्रतिस्थापन गर्दै छ।
सेवा भट्टराई
परम्परा भन्छ, अविवाहित महिलाले भगवान् शिव जस्तो पति पाउन तीजको व्रत बस्नुपर्छ। अर्को धारणाले चाहिं शिव व्यक्ति नभएर गुण रहेको र त्यही गुणप्राप्तिका लागि व्रत बस्नुपर्ने महिमा कहन्छ। शिव जस्तो पति पाउने मान्यताले व्रत बस्नुलाई नारीवादीहरू पितृसत्ताको प्रवर्द्धन भन्दै आलोचनामा उत्रिँदा शिवका लागि नभएर पार्वतीको विद्रोहको सम्मानस्वरूप व्रत बस्ने भनी पर्वको बचाउ गर्नेहरू पनि छन्।
जेजस्ता तर्क र प्रतिवाद छन्, ती सबै शिव-पार्वतीको शास्त्रीय कथानकसँग ठोक्किन्छन्। नेपालमा बढीजसो स्कन्द पुराण, स्वस्थानी व्रतकथा आदि लोकप्रिय छन्। यस अनुसार, बाबुआमाले पार्वतीको विवाह विष्णुसँग गर्न लागेका हुन्छन्। तर, उनी शिवसँग बिहे गर्न चाहन्छिन्। त्यसैले तपस्या गरेर भए पनि उनलाई पाएरै छाड्छिन्।
मेरो बुझाइमा यो लोकप्रिय कथाले पितृसत्तात्मक र नारीवादी दुवै धारणालाई पर्याप्त ठाउँ दिन्छ। मूलधारमा पितृसत्तात्मक पक्ष बढी देखिनुको कारण चाहिं यस धारका पहरेदार अर्थात् सञ्चारकर्मी अधिकांश पुरुष रहेकाले हो। एउटै कथाबाट निस्कने यस्ता परस्पर विरोधी बुझाइले हाम्रा धर्म-संस्कृति र मूल्यमान्यता चलायमान् अनि सर्वथा द्वन्द्वको स्थितिमा रहेको देखाउँछन्। लोकसाहित्यमा चाहिं शास्त्रीयभन्दा फरक कथाहरू पाइन्छन् जहाँ यी दुवै बुझाइ लागू हुँदैनन्।
खोटाङ संस्करण
थुप्रै हिन्दू कथा जनजाति समाजमा पनि भिजेका छन्। मारुनी नाच यस्तै कथाहरू बुनेर नाचिन्छ। पूर्वी जिल्ला खोटाङको हलेसीमा चाहिं सरस्वती नाच प्रचलित रहेछ। तिहारमा नाचिने यो नाचमा विभिन्न कथा गीति शैलीमा प्रस्तुत गरिन्छ। उक्त नाचका गुरु जितराज चाम्लिङसँगको वार्तामा मैले सुनेका विभिन्न धार्मिक कथामध्ये एउटा थियो, शिव-पार्वतीको कथा।
त्यो यस्तो छ- पार्वतीकी आमा मेनकालाई पतिले केही गल्ती नगर्दा पनि गाली गरिरहँदा रहेछन्। त्यस्तो देखेर दिक्क भएकी पार्वती ‘बुद्धि नभएको मान्छेसँग विवाह गर्नु नपरोस्, राम्रो मान्छे पाइयोस्’ भन्दै तपस्यामा बस्छिन्। शिवले उनी तपस्या गरेको देख्छन्। तर, तपस्यास्थल पुरुष जान नहुने भनिएको ठाउँमा हुन्छ। तब शिव पानीमुनिबाट त्यहाँ पुग्छन्। उनी पार्वतीलाई प्रणय प्रस्ताव राख्छन्-
ओम् श्री गणेशाय नमो मनः स्वहा
तमो एको पार्वती जोलाई
हामी आफू नारी जो बोलावए
तमरे राना रस मै लिउँला
इसोर महादेउकी बाचा।
यो कथामा पार्वतीले शिवको प्रस्ताव अस्वीकार गर्छिन्। आफू रूप बदलेर बस्ने तर शिवको हातमा नआउने बताउँछिन्-
ओम् श्री गणेशाय नमो मनः स्वहा
तमो हामीलाई एको नारी जो बोलाए
वनकी सिरिचम्पा फूल भइ हामी बैठी रहुँला
हामरे राना रस नहिँ दिउँला
गौरा हो पार्वतीकी बाचा।
तर, शिवले त्यो फूल नै शिरमा लगाउने र पार्वतीलाई प्राप्त गरिछाड्ने बताउँछन्-
ओम् श्री गणेशाय नमो मनः स्वहा
वनकी एकु सिरि चम्पा फूल
तोडि न तोडि सोहि फूल म लाउँला
तमरे राना रस मै लिउँला
इसोर महादेवकी बाचा।
दोहोरी चलिरहन्छ। पार्वतीले तितरी चरी भई उडिजाने बताएपछि शिव भन्छन्- हमु एकु अकाशकी चलेस बाज भइ छोपी न छोपी, गाँजी न गाँजी मै आउँला।
पार्वतीले जल-कपूर माछा भई बगेर जाने सुनाउँदा शिव जाल हालेर माछा छोपिछाड्ने बताउँछन्। पार्वतीले शिलापत्थर (ढुङ्गिया) भएर बस्छु भन्दा शिव आफू मनुष्य बनी त्यही शिलामाथि झलमल्ल घाम तापेर बस्ने बताउँछन्। पार्वतीले श्रीखण्ड काठ भएर बस्छु भन्दा शिव त्यसैको चन्दन घोटेर लगाउने सुनाउँछन्।
पार्वतीले चन्द्र-सूर्य भएर बस्ने भन्दा शिव बादलले तिनलाई छोपिदिने बताउँछन्। पार्वतीले अन्तिम उपायस्वरूप वायु भएर बहेर जाने धम्की दिन्छिन्। तब शिव भन्छन्- हामु चारै दिशा जगत्र भइ बैठि रहुँला, तमरे राना रस मै लिउँला।
चारै दिशा र जगत्मै शिव फैलिएपछि पार्वतीले ठाउँ पाउँदिनन्। अन्त्यमा भन्छिन्,
ओम् श्री गणेशाय नमो मनः स्वहा
तमु चारै दिशा जगत्र भइ बैठि रहुला
हामु पार्वतीले तमुलाई
आफ्नो पुरुखा (पुरुष) जो बोलावै
गौरा हो पार्वतीकी बाचा।
डडेल्धुरा संस्करण
सुदूरपश्चिममा पाँचदिने गौरा पर्व मनाइँदा विभिन्न धार्मिक गीत गाइन्छ। गौरादेवीका नाममा मनाइने यो पर्वको केन्द्रमा पनि शिव-पार्वतीकै कथा छ। डडेल्धुराकी बिस्ना भट्टले यस्तो कथा सुनाइन्-
मैनादेवीले गौरा देवीलाई जन्म दिन्छिन्। कन्या ६ दिनकी भएपछि ज्योतिषीलाई उनको भाग्य देखाइन्छ। ज्योतिषीले पहिलोपटक धुलौटो कोर्दा होरो अर्थात् चिना देखा पर्दैन। फेरि कोरिहेर्दा ज्योतिषीले भन्छन्- ‘कन्या परिवारका सबै सदस्यका लागि अशुभ छे।’
कन्या जति जन्मी गइ अति रूप ठान
कन्या जति जन्मी गइ इजाबाका मूल
कन्या जति जन्मी गइ दाइ भाउजुका मूल
कन्या जति जन्मी भाइ बुहारीका मूल।
कन्या आठ वर्ष पुगेपछि तपस्या गर्न जाने बताउँछिन्। बाबुआमाले रोक्दारोक्दै उनी आफैं झुप्रो हालेर गङ्गातटमा बस्छिन्। तप गर्न बसेकी गौरा र महेश्वर (लोकलवजमा मयासर)को प्रेमकथा यहाँ यसरी दिइएको छ-
वारिबाट मयासर गउल चराउन
पारीबाट बाली कन्या पुतली सेलाउन
बारीबाट मयासर बाँसुरी बजाउन
पारीबाट बाली कया विणयी बजाउनी
विणयीका शबदले मयासर आया
गङ्गा अउले मयासर पारीबाट आया।
गाई चराउने मयासर बाँसुरी पनि बजाउँछन्। गौरा चाहिं वीणा बजाउँछिन्। यही क्रममा मयासरले गौरालाई मन पराउन थाल्छन्। उनको छेउ गएर परिचय सोध्छन्। शुरूमा आनाकानी गरे पनि गौराले आफ्नो सबै कुरा बताउँछिन्। त्यसपछि मयासरले गौराका बाबुआमासँग उनको हात माग्ने प्रस्ताव गर्छन्।
तमरा बाबाथाइ माग्या मेरा आशल्यौ कि?
बाबुआमाको रोजाइ शिरोपर गर्ने गौरा बताउँछिन्, ‘पस्केको भात किन नखाउँला? बाबाले दिएका ठाउँमा किन नजाउँला?’
पातलि पसक्यो भात खाउँला कस न?
बाबा जिउका दिया घर जाउँला कस न?
त्यसपछि मयासरले गौराको घर जाने बाटो अनि बाबुआमालाई खुशी पार्ने रहस्य सोध्छन्। गौरा सिकाउँछिन्, ‘बाबाआमा पानी भर्न जान लागेमा भाँडो लिएर काम गरिदिनू, भात पकाउन लागे सब ठीक पारिदिनू।’
कसी सेवा लाग कन्या कसी सेवा लाउँला
पनिया झैं झान्ना त गोडोलीँ समाया
भात जति पकाउना त पात लिलिया।
मयासर गौराको घर पुगेर जोगीको भेषमा भिक्षा माग्न थाल्छन्। मैनादेवीले भिक्षामा अनेक चीज दिन्छिन्। तर, मयासर ती चीज आफ्नै घरमा रहेको भन्दै लिन अस्वीकार गर्छन्।
लैजा लैजा बडो भाट मंगी मास लैजा
तमरा जसा मैंगी मास मेरै घर हुन्ना।
यसरी मास, चामल, अरू अन्न हुँदै जनावर, गरगहना, धन आदि धेरै कुरा अस्वीकार गरिँदा मैनादेवी हैरान हुन्छिन्।
इसराण तपसीले के भाँती धन्नेया?
उनी सोध्छिन्, ‘त्यसो भए के माग्छौ त?’ मयासरले वाचा गराउँछन्। मैनादेवी भन्छिन्, ‘भएको कुरा मात्रै माग, नभएको नमाग।’
छनु जति मागे बडो नछन नमागे।
शपथ पाइसकेपछि मयासर भन्छन्, ‘गङ्गा किनारमा तप गर्दै गरेकी कन्या देऊ।’
झुटि जन बोल्या मैना जुठो ज नखाया
छन जति माग्दो मैना नछनो नाहिँ माग्दो
तमरी छ बाली कन्या हम ब्याउन दिय।
शुरूमा मैनादेवीले आफ्नी त्यस्ती कुनै कन्या नभएको र गङ्गामा अरू कसैले तपस्या गरेको हुन सक्ने बताउँछिन्।
न हमरी बाली कन्या न मै कसकी माय
हरिहर दैव नारायण झुटो जन बोल
गङ्गा ठठ तपस्यामा कैकी बाली कन्या?
के त तप बसने त चाकरे रउली
के त तप बसने त पुतरे बुहारी।
मयासरले झूटो नबोल्ने वाचा सम्झाएपछि उनले ‘खरानी छर्ने जोगीलाई छोरी दिन नचाहेको’ सुनाउँछिन्। भन्छिन्, ‘सूर्य जस्ता देवतालाई छोरी दिने मेरो इच्छा छ।’
छार छकन्या फूस छर्न्या कन्यै जाइ हाल
हो रै मेरी बाली कन्या सुरिजैका जोग।
मयासरले सूर्य र गौराको जोडा नमिल्ने बताउँदा चन्द्र, भीमसेन लगायत अन्य नाम लिन्छिन्। मयासर ती सबैभन्दा आफैंसँग गौराको जोडी सुहाउने ढिपी कस्छन्। तब मैनादेवी शरीरमा खरानी र कपालमा लिखा रहेको भन्दै उनलाई गाली गर्छिन्।
केही गर्दा पनि आमाले नमानेपछि गौरा मयासरसँग भन्छिन्-
छाड गोसाइँ मयासर तपसीको रूप
लिय गोसाइँ मयासर आफ्नो जसो रूप।
सय घडा पानीले नुहाएर र सय घडा घिउले मालिस गरेपछि मयासर आफ्नो रूपमा फर्किन्छन्। तब मैनाले उनमा सबैतिर सुवर्ण देख्छिन्। त्यसपछि उनी मयासरलाई कन्या लान्छौ कि भनेर सोध्छिन्। मयासर आफू सासूको सम्मतिमा गौरालाई विवाह गर्ने बताउँछन्।
जमाइको रूप आफै जाइ रमाइ
आसली त बाली कन्या न त आफैँ आउँलो
हाइ शिव सदाशिव बुरो ज न बोल
तम होल्यौ सासु बराली मै दियो को जमाइ।
त्यसपछि गौरा र मयासरको रीतपूर्वक विवाह गराएर यो गीत सकिन्छ।
विश्लेषण
दुवै भेगका यी कथा शास्त्रसँग हुबहु मेल खाँदैनन्। जस्तो- खोटाङमा आमाबाबुको नाम मैना र पर्वत नभई आमालाई मेनका भनेको पाइयो, बाबुको नामै लिइएन। डडेल्धुराको गीतमा आमा मैनादेवी र बाबु काला मेघ भनिएको छ। दुवै लोककथामा पार्वतीले तपस्या गर्ने र त्यही क्रममा शिवले मन पराएको कुरा भने समान छ। आधारभूत संरचना एउटै भए पनि यी कथाको शैली र स्वाद नितान्त फरक छन्। पुरुषप्रधान मारुनी र नारीप्रधान गौरा अन्तर्गतका गीतले त्यसै अनुरूप पुरुष र नारीचरित्र निर्माण गरेको देखिन्छ।
खोटाङमा पाइने कथामा पार्वती शुरूमा शिवप्रति सकारात्मक छैनन्। शास्त्रमा उल्लेख भए जसरी उनी शिवलाई प्रेम गरेर उनैका लागि व्रत बसेकी छैनन्। यस अर्थमा यो कथाले पार्वतीको प्रेमिल भावना गौण बनाउँदै उनलाई शास्त्रीय कथाभन्दा अझ बढी विद्रोही देखाउँछ। ‘तमरे राना रसमै लिउँला’ भन्ने पंक्ति दोहोरिरहँदा शिवको आशय प्रेम, दाम्पत्य वा विवाह नभई सहवास रहेको छनक पाइन्छ। बरु यसले आक्रामक पुरुष प्रवृित्तलाई चित्रण गर्छ जो प्रेम र सहवास जस्ता भावनाप्रधान विषयमा पनि शक्तिकै दम्भ देखाइरहन्छ।
पार्वतीले नमान्दा नमान्दै शिव हरेक पटक उनलाई जित्न खोज्छन्। यहाँ उनले मन जित्न होइन, बलपूर्वक प्रभुत्व कायम गर्न खोजेका छन्। गीतको हरेक चरणमा प्रयुक्त विम्ब÷प्रतीकले शक्तिको लडाइँमा महिला हारेको र पुरुष जितेको देखाएका छन्, चाहे तितरी चरीलाई बाजले गाँजेको, मछलीलाई जालमा पारेको विम्ब होस् वा चन्द्र-सूर्यलाई बादलले ढाकेको। अन्तिममा पनि शिवले पार्वतीको मनमा प्रेम जगाएर होइन, उनलाई कतै उम्कनै नदिने प्रपञ्चमा पारेर वशमा ल्याउँछन्।
डडेल्धुराको प्रसङ्गमा पनि बाँसुरी बजाउने मयासर र वीणा बजाउने गौरा शास्त्रीय चित्रणसँग मेल खाँदैनन्। यसमा गाई चराउने कृष्ण र सङ्गीतकी अधिष्ठात्री सरस्वतीबारेको शास्त्रीय सन्दर्भबाट केही अंश लिइए जस्तो लाग्छ। दोस्रो कुरा, यो गीतले पार्वती किन तपस्या गर्न जान्छिन् भन्ने बताउँदैन। घटनाक्रम हेर्दा सारा परिवारमा ‘मूल’ परेकाले त्यसैको समाधान हेतु गएको अनुमानसम्म लगाउन सकिन्छ।
यहाँ पार्वतीले शिवलाई पछ्याएकी छैनन्, शिव स्वयं मोहित भएर उनीसम्म आएका छन्। मयासरको प्रेमको अभिव्यक्ति नै आमाबुबासँग गौराको हात माग्ने कुराबाट हुन्छ। गौराले पनि आमाबुबाको निर्णय सहर्ष स्विकार्ने बताउँछिन्। शास्त्रीय कथाकी विद्रोही पार्वती यहाँ देखिन्नन्।
छोरीको हात माग्न मयासर गौराको घर पुग्दा आमाले पहिले झूटो बोल्छिन्, उनलाई गाली पनि गर्छिन्। यो संवादले शास्त्रीय कथामा पार्वती वा सतीका बाबुआमाले शिवलाई अस्वीकार गरेको झल्को दिन्छ। तर, यहाँ मैनाकी आमाले गाली गर्दा भनेको खरानी र लिखाको प्रसङ्गले नितान्त लौकिक स्वाद दिन्छ। अन्तिममा बाबुआमाको सहमतिमै गौरा र मयासरको विवाह हुन्छ।
निष्कर्ष
यी दुवै कथाका आआफ्नै पितृसत्तात्मक आयाम पनि छन्। खोटाङको कथाले शक्तिमा आधारित पुरुषत्वलाई प्रवर्द्धन गर्छ भने डडेल्धुराको कथाले कोमल प्रेमकथा देखाए पनि पार्वतीको विद्रोही चरित्रलाई समेट्दैन। यति हुँदाहुँदै दुवै कथाले तीजमा प्रचलनमा रहे जस्तो शिवलाई पति पाउन पार्वतीले तपस्या गरेको पितृसत्तात्मक कथनलाई अस्वीकार गरेका छन्।
यिनले त पार्वतीलाई सांसारिक मोहबाट टाढा रहेकी तपस्वी, योगी नारीशक्तिका रूपमा चित्रण गरेका छन्। खोटाङमा पार्वती शिवको अधीन नहुने कोशिश गरिरहेकी छिन् भने डडेल्धुरामा आफ्ना कारणले कसैलाई विपत्ति नपरोस् भनेर तपस्या गर्न गएकी छिन्। दुवै कथामा उनी शुरूमै शिवप्रति अनुरक्त छैनन्, बरु शिवले नै पहिले अनुरक्ति देखाएका छन्।
आज तीजका सन्दर्भमा महिलाले पतिप्राप्तिकै लागि व्रत बस्नुपर्छ भन्ने पितृसत्तात्मक अपेक्षा नै सबैतिर हावी हुन थालेको मेरो बुझाइ छ। माथि प्रस्तुत दुवै गीतिकथामा पार्वती किन तपस्या गर्न जान्छिन्, खुलाइएको छैन। यिनले शास्त्रीय घटनाक्रमलाई नकारेका छन्। तर, हिजोआज पार्वतीले शिवलाई पति पाउनकै निम्ति व्रत बसेकी हुन् भन्ने पृष्ठभूमि गीतको अघि वा पछि जोडिने गरेको पाइन्छ। अर्थात्, मूलधारको कथाले अरू कथाहरू बिर्साउँदै लगेको छ।
पुराणहरूमै पनि शिव-पार्वतीको कथाबीच एकरूपता छैन। भारतीय लोकपरम्परामा त अझ धेरै कथा छन्। हिन्दू धर्मको मूलधारले पनि शिवलाई सधैं पार्वतीभन्दा उच्च स्थान दिएको छैन। शिव-शक्ति समान रहेको र कुनै वेला शक्ति शिवभन्दा उच्च स्थानमा रहेका कथन थुप्रै पाइन्छन्। यस्तै विभिन्न कथनबीचको निरन्तर द्वन्द्व यसको पितृसत्तात्मक पक्ष नै हावी गराउन उद्यत देखिन्छ। यद्यपि, सङ्कलित लोककथन, अध्ययन र छलफलहरूले मूलधार बाहेकका दृष्टिकोणहरू ब्युताउँदै तिनको सामाजिक र लौकिक अस्तित्व हामीलाई सम्झाइरहन्छन्।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य सङ्कलक र अनुसन्धानकर्ता हुन्। हिमालको २०७९ भदौ अङ्कबाट।)