विशेष संस्करणमा आउँदै डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’
चर्चित मुटु शल्यचिकित्सक डा. भगवान कोइरालाको पुस्तक हृदयको विशेष संस्करण आउने भएको छ।
आइतबार फाइनप्रिन्टले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डा. कोइरालाको विशेष संस्करण भदौ अन्तिम साता विमोचन गर्न लागिएको जानकारी दिएको छ।
डा. कोइरालाले पुस्तकमा आफ्नो बाल्यकाल, संघर्ष र व्यावसायिक जीवनका उतारचढाव लेखेको बताए। यससँगै संघर्ष गर्दाका अनुभव, स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक ढङ्गले समेटिएको उनले बताए। “यो किताब आत्मकथा जस्तै पनि हो, तर पूरै आत्मकथा होइन,” डा. कोइरालाले भने, “यो किताब म जस्तो छु, त्यस्तै छ।”
डा. कोइराला अहिले ‘काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)’ अस्पताल निर्माण अभियानमा छन्। त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। यस्ता अस्पताल सातै प्रदेशमा विस्तार गर्ने डा. कोइरालाको लक्ष्य छ।
उनको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले हृदयको विशेष संस्करण ल्याउन लागेको जनाएको छ। विशेष संस्करण एक पटकका लागि दुई हजार पाँच सय प्रति मात्र मुद्रण हुने जनाएको छ। जसको मूल्य २५ हजार राखिनेछ। विशेष संस्करणलाई डा. कोइरालाले प्रत्येक पुस्तकमा क्रम सङ्ख्या अङ्कित हस्ताक्षर गर्ने जनाइएको छ।
विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने सबै रकम अस्पताललाई हस्तान्तरण गरिने फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले बताए।
त्यस्तै, विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि आउने भएको छ। त्यसको मूल्य ५७५ रुपैयाँ हुने जनाइएको छ। नियमित संस्करणबाट प्राप्त हुने लेखस्वको ५० प्रतिशत रकम अस्पताललाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताए।