ज्ञानेन्द्र टिक्दा नेपालको सहज जित
केन्या विरुद्धको तेस्रो टी-२० मा ज्ञानेन्द्र मल्लले टिकेर खेल्दा नेपालले सहज जित हासिल गरेको छ।
आइतबार भएको खेलमा नेपालले चार विकटले जित हासिल गरेको हो। केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको छ।
नेपालका लागि मल्लले ४१ बलमा ४४ रन बनाए। प्रारम्भिक ब्याटर अर्जुन साउँदले ३५ रन बनाए। उनको यो डब्यू खेल हो।
त्यस्तै, रोहितकुमार पौडेलले २९, पवन सर्राफले २० र मोहम्मद आदिल आलमले १६ रन बनाए।
केन्याका लागि इगुइन ओचिङ र व्रज पटेलले दुई-दुई तथा इम्यानुअल बुन्डी र कोलिन ओबुयाले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको केन्याले दुई विकेटको क्षतिमा १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले ७३, इर्फान करिमले ५५ र कलिन ओबुयाले १६ रन बनाएका थिए।
नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले एक-एक विकेट लिएका थिए।
पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले दुई र केन्याले एक खेल जितेका छन्। अब चौथो खेल मंगलबार अपराह्न ३ः४५ बजे हुनेछ।