प्रधानन्यायाधीश जबरा विरुद्ध बारले बुझाएका यी हुन् ३४ ‘प्रमाण’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध नेपाल बार एशोसिएशनले संसद्को महाअभियोग सिफारिश समितिलाई ३४ वटा ‘प्रमाण’ बुझाएको छ।
आइतबार बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले महाअभियोगसँग सम्बन्धित कागजात, विवरण र जानकारी संसदीय समितिलाई बुझाएका हुन्।
बारले सिफारिश समितिलाई बुझाएको पत्रमा भनिएको छ, “प्रधानन्यायाधीश चोलेन्द्र शम्शर जबरा उपरको नेपालको संविधानको धारा १०१ बमोजिम महाअभियोग प्रस्तावलाई पुष्टि गर्ने महाअभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू यस निवेदनसँग संलग्न गरी पठाइएको व्यहोरा अनुरोध छ।”
सत्तारूढ दलका सांसदले प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा छन्। उनी विरुद्ध महाअभियोग प्रस्ताव पेश गर्न प्रतिनिधि सभाले महाअभियोग सिफारिश समिति गठन गरेको छ। समितिले जबरा विरुद्ध प्रमाण जुटाइरहेको छ।