राप्रपा नेपाललाई ‘तिर’ चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च आदेश
राप्रपा नेपाललाई ‘तिर’ चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। राप्रपा नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा ‘गाई’ चुनाव चिह्न दिन माग गरेको थियो। तर, आयोगले भने यसअघिकै ‘तिर’ चुनाव चिह्न दिने निर्णय गरेको थियो।
त्यसका विरुद्ध राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले निर्वाचन आयोगको निर्णय विरुद्ध अन्तरिम आदेश माग गरेका थिए।
अध्यक्ष थापाको माग बमोजिम सर्वोच्चले किन आदेश नदिने भन्दै निर्वाचन आयोगसँग कारण माग गरेको छ। त्यससँगै दुवै पक्षलाई छलफलका लागि भदौ १४ गते बोलाएको छ। त्यतिन्जेल निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।