कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक
संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेका कूटनीतिज्ञ कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ।
गुल्मीको दुर्गम भेगमा जन्मिएका गौतमले आफ्नै बलबुतामा राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरेका हुन। उनको यही यात्रासँगै जीवनका विविध पाटा समेटिएको पुस्तक कुलचन्द्र गौतमः आत्मकथा सार्वजनिक भएको हो।
आत्मकथा प्रकाशन भएकोमा गौतमले खुशी व्यक्त गरे। “मेरो जीवनकथा अब नेपाली पाठकमाझ आउँदा असाध्यै खुशी छु,” गौतमले भने, “मैले पाएका अवसरहरू, सामना गरेका चुनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीका निम्ति उपयोगी हुने विश्वास छ ।”
विगतमा प्रकाशन गर्दै आएका जीवनी पुस्तकको सिलसिलालाई नै निरन्तरता दिएर यो कृति पनि तयार पारिएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्। “नेपालको अत्यन्त पिछडिएको ग्रामीण परिवेशबाट आफ्नै बलबुताले उभिएर संयुक्त राष्ट्रसंघको मुख्यालयसम्म पुगेका गौतमको यो रोमाञ्चक जीवनी आफैंमा अनुकरणीय दस्तावेज पनि बन्न पुगेको छ,” उनले भनिन्।
लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको पुस्तक पब्लिकेशन नेपालयले प्रकाशन गरेको हो। चार सय ७२ पृष्ठ लामो कुलचन्द्र गौतमः आत्मकथा पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ।