राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेश
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक आइतबार राष्ट्रिय सभामा पेश भएको छ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नागरिकता विधेयकमा पुनर्विचार गरियोस् भन्ने पत्रबारे जानकारी गराएका थिए। त्यसपछि प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहितको नागरिकता विधेयकबारे जानकारी गराएका थिए।
यसअघि नागरिकता विधेयकलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ।
प्रतिनिधि सभाले पारित गरेको विधेयक आज राष्ट्रिय सभामा पेश भएको छ। आजै बस्ने राष्ट्रिय सभाको अर्को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव फुयाँलले जनाएका छन्।