बाढीले सिन्धुपाल्चोकका विभिन्न सडक अवरुद्ध
शनिबारदेखि परिरहेको अविरल वर्षाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
बाढीका कारण ठाउँ ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्। बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी लगायतका गाउँ गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ ठाउँमा सडकैसडक खोला बगिरहेको छ।
यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। मेलम्चीको सिमखेत, हेलम्बुका विभिन्न स्थान, पाँचपोखरीको राम्चे, भोताङ र गुन्सा लगायतका बाटो अहिले अवरुद्ध भएका छन्।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशः टासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रूपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।
गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको नदीतटीय क्षेत्रमा करोडौंको क्षति गरेको थियो। यस कारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्। -रासस