मदन पुरस्कारले जिम्मेवारीको भारी बोकाएको छ: नवराज लम्साल
मदन पुरस्कारको घोषणाले आफूलाई जिम्मेवारीको भारी बोकाएको महसूस भएको लेखक एवं पत्रकार नवराज लम्सालले बताएका छन्।
शनिबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले अग्नि महाकाव्यका लागि लम्साललाई २०७८ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, २०७८ सालको जगदम्बा-श्री सम्मानबाट साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई सम्मानित गरिने भएको छ।
मदन पुरस्कारको घोषणापछि हिमालखबरसँग संक्षिप्त कुराकानी गर्दै लेखक लम्सालले मदन पुरस्कार गुठीको निर्णयले खुशी भएको बताए। “यो उच्चकोटिको पुरस्कार हो। यो पुरस्कार पाउँदा खुशी त हुने नै भएँ,” लम्सालले भने, “मदन पुरस्कारले जिम्मेवारीको भारी पनि बोकाएको छ।”
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको हो। योसँगै श्रेष्ठ पुस्तकको सूचीमा दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नयनाथ पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।
आफ्नो पुस्तक प्रकाशन हुँदा यति ठूलो पुरस्कार पाउँला भन्ने नसोचेको लम्सालको भनाइ छ। तर, पछिल्लो समय अग्निले देशका विभिन्न क्षेत्रबाट तीन वटा पुरस्कार प्राप्त गरेकाले मदन पुरस्कारका लागि पनि अलिकति आशावादी बनाएको उनले बताए।