प्रधानमन्त्रीकै पार्टीका विद्यार्थीद्वारा त्रिविका कागजात लुटपाट
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले महत्त्वपूर्ण कागजात र फाइल लुटपाट गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
त्रिविले शनिबार प्रेस विज्ञप्ति जारी गरी विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बसेको वेला १०-१५ जनाको समूहमा आएका नेविसंघका कार्यकर्ताले कागजात तथा फाइल लुटपाट गरेको जनाएको छ।
त्रिविले भनेको छ, “नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौं भन्दै १०-१५ जनाको समूह जबरजस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने, कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
शुक्रबार जमलस्थित होटल एल्लो प्यागोडामा त्रिवि कार्यकारी परिषद्को बैठक बोलाइएको थिया। बैठक बस्ने क्रममा आएका नेविसंघका कार्यकर्ताले लुटपाट गरेको विश्वविद्यालयले जनाएको छ।
यस्ता क्रियाकलापले पदाधिकारी तथा कर्मचारी असुरक्षित बनेको त्रिविले जनाएको छ। त्रिविले भनेको छ, “विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नको लागि विश्वविद्यालयले दुःखद निर्णय लिन बाध्य हुने व्यहोरा समेत अनुरोध गर्दछ।”