रंगमञ्चमा ‘धूमधामको घुमघाम’
चर्चित बालपुस्तक धूमधामको घुमघाममा आधारित नाटक मञ्चन गर्न थालिएको छ।
ललितपुरको पाटनढोकास्थित रातो बङ्गला स्कूलको कमलमणि थिएटरमा धूमधामको घुमघाम नाटक मञ्चन गर्न थालिएको हो। शुक्रबारदेखि शुरू भएको नाटक सोमबारसम्म चल्नेछ।
शुक्रबार र शनिबार दैनिक एक शो मञ्चन गरिएको थियो। शुक्रबारको प्रिमियर शोबाट संकलन भएको रकम भने काभ्रेको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रलाई सहयोग गरिनेछ।
आइतबार दिउँसो १ बजे पहिलो शो मञ्चन भएको छ भने अब साँझ ५ः३० बजे तथा सोमबार दिउँसो १२ बजे र साँझ ५ः३० बजे मञ्चन गरिने भएको छ।
लेखक कनकमणि दीक्षितको बालपुस्तक धूमधामको घुमघामलाई नाटकका रूपमा प्रस्तुत गरिएको हो। यसलाई आयुष निरौलाले नाट्य रूपान्तरण गरेका हुन्।
आकांक्षा कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक रातो बङ्गला किताबसँगको सहकार्यमा कथा घेराले प्रस्तुत गरेको हो। यस नाटकमा ३० जना कलाकारले अभिनय गरेका छन्।
यस नाटकमा कलाकार अकाश नेपाली, आशिष काफ्ले, ऋषिकेश बस्याल, कविराज राई, गणेशप्रसाद पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निसान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लले अभिनय गरेका छन्।
विश्व मानन्धरको कभर आर्ट रहेको नाटकमा चन्द्र डंगोल, भाइकाजी राजबाहक र वीर उपरकोटीले ग्राफिक्स तथा धिरज थापा मगरले बन्दोबस्तीको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, सजन थापा मगर, शोभित लिङ्गखा, प्रदीप प्रधान, नमुना गुरुङ, अजय विश्वकर्माले प्रप्स, हेडगियर र सेट आर्ट तथा ताण्डव, निसान खत्री, आशिष काफ्ले र कविराज राईले मञ्च तयार गरेका छन्।
भान्सामा बबी थापा, ध्वनि संयोजनमा सुरज मल्ल र वेशभूषामा सञ्जिता पराजुलीले काम गरेका छन् भने सुदाम सिकेको कोरियोग्राफी रहेको छ। नवीननाथ नेवा, अकाश राजवंशी र ब्रह्म दीपको स्ट्रिङ्स इम्प्याक्टमा इँगिहोपो कोइँच सुनुवारले प्रकाश परिकल्पना गरेका छन् भने विजय नेपालले मञ्च व्यवस्थापन गरेका छन्। यसको निर्माण व्यवस्थापन क्षितिजले सम्हालेका हुन्।
यो नाटक अर्को महीना टेकूस्थित कौसी थिएटरमा पनि मञ्चन गरिने भएको छ।