दृश्य, धन्दा र उफ्!
मलाई शङ्का छ, कतै यो चिन्तामणिहरूको देश त हैन? जो भेटिन्छ, चिन्तित छ। मेरै ताल हेर्नुस् न, पृथ्वीका भुइँमान्छेको कथा पनि ढङ्ग पुर्याएर लेख्न नजानेको लेखक, तर अचेल अन्तरिक्षको चिन्ता लाग्छ।
सरकारले सवारी साधनहरूमा अंग्रेजी अङ्क र अक्षरमा लेखिएको नयाँ नम्बर प्लेट जडान गर्नुपर्ने आदेश जारी गरेपछि नेपाली भाषालाई माया गर्ने र हालै नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीको ठूलो समूहको ध्यानाकृष्ट भयो। सरकारको यस्तो कार्यले नेपाली भाषा सङ्कटमा पर्ने निक्र्योल सहित उक्त समूहले टिकटकमा यस्तो भिडिओ विज्ञप्ति जारी गरेको छ-
‘नेपाल गवर्मेन्टबाट बाइक, कार र अरू फोर ह्वीलर गाडीहरूमा इङ्लिस लेटर र नम्बर प्रयोग गरेको इम्बोस्ड प्लेट जडान गर्नुपर्ने अर्डर जारी भएकोे कुरामा हाम्रो ध्यान आकृष्ट भएको छ। यो बहुत खराब अर्डर हो। हामी यसको जोडदार विरोध अर्छम्। तपाईंहरूले पनि अर्नुस्। नत्र नेपाली भाषा बहुतै मुश्किलमा पर्छ।’
भिडिओ विज्ञप्ति समाप्त भइसके पनि खिच्नेले क्यामेरा बन्द गर्न बिर्सेछन्। त्यसैले तीमध्येका एक जनाले आफ्नी छोरीलाई नर्सरीमा पढाउन अंग्रेजी माध्यमको स्तरीय स्कूल कुन छ र त्यहाँ भर्ना गर्न कसलाई भनसुन गर्नुपर्छ भनेर फोनबाट कोही निकट मित्रसित सोधखोज गरिरहेको दृश्य पनि देखियो।
त्यस लगत्तै अर्का दुई जना चाहिं ‘पानी’ को ‘नी’ ह्रस्व लेख्ने कि दीर्घ लेख्ने भन्ने कुरामा घम्साघम्सी गरिरहेको दृश्य पनि सार्वजनिक भयो। अलिक पर एक जना स्नातकोत्तरवाला आफ्नो भाइले नेपालीमा ८० अङ्क ल्याएकोमा खुशी हुनुभन्दा अंग्रेजीमा ४० मात्र ल्यायो भनेर दुःखी भइरहेको देखियो।
यसरी दृश्य आफैं बोल्यो।
धन्दा
यतिका वर्ष आख्यान लेखनमा लागेपश्चात् भ्रम नै सही, आफू छोटेमोटे साहित्यकार बनिसकेकोमा मलाई दृढ विश्वास छ। थोरबहुत पाठकले चिन्छन् पनि। तर, साहित्यमा पाठकभन्दा पिछलग्गु बढ्ता स्वादिलो र फलदायी हुन्छ त भनेर पारखी मित्रहरूले वेलामौकामा फलाकिरहेको सुनेर म पनि यसतर्फ लालायित भएको छु। यसैले अब समालोचना क्षेत्रमा लाग्ने निर्णय गरेको छु। यसका खातिर मैले केही थान कार्ययोजना बनाइसकेको छु। जो निम्नानुसार छन्ः
क) उदीयमान लेखकलाई महान् भनेर ठोकुवा सहित अतिशय प्रशंसा गर्नेछु। यसले एकातिर मेरा दुश्मन लेखकहरूको मुटुमा तोडफोड गर्छ, अर्कातिर ती उदीयमानलाई आजीवन मेरो चाकर बनाउँछ।
ख) मलाई नमस्कार नगर्ने, मेरा आख्यानको चर्चा नगर्ने, मेरा कृतिको थोरै पनि आलोचना गर्ने कोही छ भने म त्यस्ता लेखक र तिनका राम्रा भनिएका कृतिलाई पनि माटोमा मिलाउने गरी लेख्नेछु।
ग) यूरोप, अमेरिका बस्ने सिकारु लेखकलाई पनि भरमार तारीफ गरिदिनेछु। त्यस्ता लेखकले मलाई उपहार-सौगात टक्र्याउने त छँदै छ, भविष्यमा विदेश यात्राको प्रायोजन गरिदिन सक्छन्। केही समालोचकले यही धन्दाबाट लामो समयदेखि लाभ पाइरहेको पनि लुकेछिपेको छैन।
घ) अहिले किताबको दाम महँगो भएको छ। छापिएका जति सबै किन्न बर्सेनि काठमाडौं खाल्डोको चार आना घडेरी नै बिक्री गर्नुपर्ने हुन सक्छ। तर, समालोचक भएपछि वेलावेला घरेलु पुस्तकालय अगाडि बसेर जूम मिटिङमा भाग लिइरहनुपर्छ।
त्यसका निम्ति समालोचना गराउन निःशुल्क रूपमा थुप्रिने किताबहरूले राहत दिनेछ। तीमध्ये समय, काल र परिस्थिति अनुसार र आफू अनुकूलका किताबहरूको गाता छामेर र बास्ना सुँघेर (पढेर हैन) समालोचना लेख्नेछु र यथोचित लाभ प्राप्त गर्नेछु।
भोलिदेखि यही धन्दामा लाग्नेछु।
उफ्!
अचेल जसलाई देख्छु, चिन्ता मात्र गरिरहेको देख्छु। बिहानै कुकुर डुलाउँदै सडकमै आची गराउने एक मित्रलाई बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनमा असफल हुन्छन् भन्ने चिन्ता छ। एक वर्षदेखि कक्षाकोठामै नपसेका त्रिभुवन विश्वविद्यालयका प्राडालाई सिंहदरबारका कर्मचारीहरू कामचोर भए भन्ने चिन्ता छ।
कर्णाली प्रदेशको एक पालिकाका वडा सदस्यलाई धरानका मेयर हर्क साम्पाङ सफल होलान् भन्ने चिन्ता छ। कक्षा ११ को विद्यार्थीलाई शेयर बजारको चिन्ता छ। नेपालको चुच्चे नक्शाको समर्थनमा जुलूसमा सहभागी एक पितालाई छोराले अस्ट्रेलियाको नागरिकता कहिले पाउला भन्ने चिन्ता छ। विद्युत् प्राधिकरणको इन्जिनीयरलाई पल शाह जेल परेकोमा चिन्ता छ।
बारीमा काम गरिरहेका किसानलाई ‘ईश्वर पोखरेलले पानी ट्याङ्कीमा लुकाएको रकम भिज्यो कि भिजेन’ भन्ने चिन्ता छ। सोल्टी होटलको एसी जडित सभाकक्षमा कार्यपत्र प्रस्तुत गरिरहेको एक बुद्धिजीवीलाई दिल्लीको गर्मीको चिन्ता छ र अर्कोलाई मोदीजीले आफ्नी जहानसित विधिवत् छोडपत्र गरेका छन् कि छैनन् भन्ने चिन्ता छ।
मलाई शङ्का छ, कतै यो चिन्तामणिहरूको देश त हैन? जो भेटिन्छ, चिन्तित छ। मेरै ताल हेर्नुस् न, पृथ्वीका भुइँमान्छेको कथा पनि ढङ्ग पुर्याएर लेख्न नजानेको लेखक, तर अचेल अन्तरिक्षको चिन्ता लाग्छ। त्यसमाथि मङ्गलग्रहमा एक टुक्रा घडेरी आफ्नो भागमा पर्ला कि नपर्ला भन्ने चिन्ता पनि थपिएको छ। उफ् !
(हिमालको २०७९ भदौ अंकबाट।)