रानीखर्क र प्वाल परेको कपडा जस्ता हिमाल
जलवायु परिवर्तनले हिउँ पग्लेर चट्टान मात्र रहँदै गएका हिमाललाई देख्दा मन अमिलो भयो। लाग्यो, फेरिएको आफ्नै रूपरङ कस्तो लाग्दो हो हिमाललाई?
सर्लक्क हिमालै ढाक्ने बाक्लो कुहिरो। थोरथोरै चिसो सिरेटो। बझाङ र बाजुरासँगको सिमानामा पर्ने हुम्लाको नाम्खा गाउँपालिकास्थित चार हजार मिटरभन्दा माथिल्लो उचाइको रानीखर्क कुहिरोमा लुकाछिपी खेलिरहेको थियो।
अघिअघि हिंडिरहेका घोडा र मान्ठ अलि पर पुगेपछि बिलाइजान्थे, कुहिरोमा। र, सेतै कुहिरो मात्र देखिन्थ्यो। लाग्यो, यो बाटो त्यहीं सकिन्छ। छिट्छिटो हिंड्दा भने कुहिरोमा बिलाएका घोडा र मान्ठ देखिन्थे, तर फेरि उस्तै गरी हराइजान्थे।
हिंड्दा-हिंड्दै म पनि हराउँदै थिएँ- पुराना स्मृति कथामा। निकै लामो समयपछि त्यही बाटो हिंड्दै थिएँ, जुन बाटो भएर मेरो बचपन हिंडेको थियो।
सानैमा खर्क जाँदा कहिले म एपीसँग घोडा चढ्थें। कहिले आपाले भाइ र मलाई एउटा ताटोत (दुईमुखे थैलो) भित्र हालेर घोडा चढाउनुहुन्थ्यो। हामी घोडा चढेपछि घोडाको ढाडमा पनि कान उम्रिए जस्तो देखिन्थ्यो।
उसै गरी यो साउनमा दिनभरि घामले मुख नदेखाए पनि पानीले साथ छाडेन। लगभग १२ घण्टा हिंडेपछि रानीखर्क पुग्यौं। खर्क पुग्दा झमक्क रात परिसकेको थियो। बाक्लो कुहिरोमा टिलिङ खोलाको एकोहोरो गुनगुन मात्रै सुनिन्थ्यो। बस्तुभाउ कराएको आवाजले टिलिङ खोलालाई जित्थ्यो। त्रिपालमा बज्रिएको पानीको कर्कश आवाज नेपथ्यमा गुन्जिरहेको थियो।
बिहान उठ्दा नीलो आकाशमा फुलेका थिए- बादलका फूल। मिराङ डाँडामा उक्लेर वरिपरि नियालें। हरियो मैदानमा भोजपत्र र माटोले छाएका ससाना टोङ लाइ (खर्क/घर)हरू सेतो च्याउ जस्तै देखिन्थे। कुहिरो हिमाल चढेपछि आँखैअघि छ्याङ्ग देखिएको थियो- शैपाल।
शैपाल हिमालबाट हिउँ पग्लेर फेदैमा ठूलो ताल बनेको छ। त्यही तालको नीलो पानी आफ्नो स्वरूप फेरेर बग्छ र बन्छ- रानीखर्क नदी। हरियो समथर मैदानमा बगेको छ, रानीखर्क नदी। हेरेर कहिले नअघाउने सुन्दरता। तर, त्यही सुन्दर ठाउँ र सुन्दर ठाउँमा बस्ने गोठालोका कथा भने उत्ति सुन्दर छैनन्।
मिराङ डाँडाबाट निकै बेर नियालेपछि लाग्यो, अब हिमाल हिमाल जस्तो छैन। हिउँ पग्लिएर ठाउँ ठाउँमा चट्टान देखिन्छ। हिमालको रूपरङ फेरिएको छ। हिउँ पग्लिएर होला, हिमाल प्वाल परेको कपडा जस्तै देखिएको छ।
फुपूलाई पनि त्यस्तै अनुभूत भएको रहेछ। चौंरीको दूध दुहुँदै गरेकी फुपू बोलिन्, “यो हिमाल जहिल्यै सेतै देखिन्थ्यो। ताल पनि टन्नै भरिएको हुन्थ्यो। तालको पानी पनि धमिलो भएको छ। हिमाल पनि त मैलिएको छ।”
फर्केर फुपूतिर हेरें। चिसो र मोसोले हात पटपटी फुटेका थिए। धुवाँले आँखा राता भएका थिए। फुपू त थप केही बोलिनन्। तर, लौरोको टुप्पोमा अड्किएको हिलो र हिलोकै रङ पोतिएका जुत्ताले गोठालो जाँदाको दुःख भनिरहे झैं लाग्यो।
र लाग्यो, हिमाल चूपचाप उभिएर गोठालोका दुःख हेरिरहेको छ। ज्यान हत्केलामा राखेर हिउँमा चिप्लिँदाचिप्लिँदै यार्चा टिप्न जानेहरूका दुःख निकालिरहेको छ। महसूस गरिरहेको छ, राज्यले किनारातिर हुत्याएका मान्ठहरूको सङ्घर्ष। सुनिरहेको छ, आफ्नो पहिचान हराएका भोतहरूको कथा।
रानीखर्कमै भेटिएका कुगा कामीले पनि त्यस्तै गुनासो सुनाए। “उहिल्यै हाम्रा मि-एपी (बाजेबज्यै) भोतबाटै बसाइँ सरेर आएका हुन् रे। बसाइँ सर्दै आउँदा हाम्रो पहिचान हरायो, थर हरायो,” उनी भन्छन्, “हामी त भोत पो हौं। तर, हामीलाई मोन (गैरभोत) बनाएछ।”
उनलाई कसले यस्तो गर्यो भन्ने थाहा छैन। राज्यले पनि बेवास्ता गरेको उनले महसूस गरेका छन्। उनी भन्छन्, “राज्यले हामीलाई बिरानो जस्तो व्यवहार गर्छ।”
जलवायु परिवर्तनले हिउँ पग्लेर चट्टान मात्र रहँदै गएका हिमाललाई देख्दा मन अमिलो भयो। लाग्यो, फेरिएको आफ्नै रूपरङ कस्तो लाग्दो हो हिमाललाई?
हिउँ पग्लिँदै गएपछि हिमालको पहिचान र अस्तित्व उस्तै रहला र कि नरहला? हिमाल नै रहला र? हिउँ नै नपरेपछि हिमालसँग जीवन गाँसिएका हिमालीको जीवन कस्तो होला?
मनमनै यस्तै प्रश्न गर्दागर्दै अर्कै विचार निस्क्यो। ठिङ्ग उभिएको हिमालको मौनताको भाषा कस्तो होला? उसका विवशताहरू के के होलान्? के आफ्नो फेरिंदै गरेको रूपरङ हेरेर दुःखी हुँदो हो?
हिउँदमा हिउँसँग लोट्दै, लड्दै कठिन जीवन जिउने मान्ठ फागुन-चैतमा सप्रेको बालीनाली हेरेर मुस्कुराउँछन्। हिउँ कम हुँदै गएपछि पनि हिउँदे बालीनाली उस्तै गरी सप्रेलान्? हिमालसँगै हिमालीको मुस्कान उस्तै रहला? चिन्ता बढ्दो छ, मेरो जस्तै हिमालीको मनमा।
टोलाउँदाटोलाउँदै एक हुल प्याउँली काग भुर्र उडेर शैपालतिर लाग्यो। एकतमासको मन उडिरहेका प्याउँली कागसँगै रमायो। अलिकति ईर्ष्या लाग्यो। पहुँचभन्दा परका हरेक कुरा उत्तिकै आकर्षक लाग्दा रहेछन्, जस्तो रानीखर्कबाट शैपाल हिमाल।