कर्णालीमा चिकित्सकमाथि कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
गत बिहीबार प्रतिष्ठानका चिकित्सक डा. करण साहमाथि कुटपिट भएको थियो। त्यस घटनाको विरोध गर्दै चिकित्सकले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।
प्रशासनतर्फका कर्मचारी समेत रहेका बिरामी धनबहादुर शाहीले चिकित्सकमाथि कुटपिट गरेका थिए। कुटपिटमा संलग्न शाही प्रहरी हिरासतमा छन्। उनलाई प्रतिष्ठानले ४५ दिनका लागि निलम्बन गरेको छ।
प्रतिष्ठान कार्यकारी परिषद्को बैठकले अस्पतालका निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ।
उनलाई प्रतिष्ठानले निलम्बन गरे पनि ‘जेल विथआउट बेल’ अनुसार कारबाही नभएको जनाउँदै चिकित्सकले माइतीघरमा प्रदर्शन गरेका छन्। चिकित्सकले कुटपिटमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। उनीहरूले ‘कानूनी राज्यको आभास गराऊ, चिकित्सक साहलाई न्याय दे, स्वास्थ्यकर्मीमाथि हुने हिंसा बन्द गर’ भन्दै प्रर्दशन गरेका हुन्।
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरिसकेको छ। नयाँ व्यवस्था अनुसार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई धरौटी विना हिरासतमा राख्नुपर्ने व्यवस्था गरिएको छ। चिकित्सकले ऐन जारी भएपछिको पहिलो घटना भएकाले कार्यान्वयन गर्न माग गरेका छन्।