राष्ट्रपतिले फिर्ता पठाउँदैमा नागरिकता विधेयक रोकिंदैनः दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउँदैमा नागरिकता विधेयक नरोकिने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले नागरिकता विधेयक राष्ट्रिय सभाबाट चाँडै पारित भई राष्ट्रपतिबाट पनि प्रमाणीकरण हुने विश्वास समेत व्यक्त गरे।
“राष्ट्रपतिले विधेयक फिर्ता पठाउँदैमा यो रोकिने अवस्था छैन,” दाहालले भने, “त्यस्तो सङ्कट ल्याउने घटना पनि हुँदैन।”
अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले नेपाली सेनाका उच्च अधिकारीसँग गरेको भेटघाट स्वाभाविक नभए पनि यसले कुनै सङ्कट ल्याउने सम्भावना आफूले नदेखेको बताए।
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनले भदौ १५ भित्र सीट बाँडफाँड गरिसक्ने दाबी गरे। कार्यदलले आज बेलुकासम्म प्रतिवेदन बुझाएसँगै शीर्ष तहमा सीट बाँडफाँडका विषय टुङ्गिने उनको भनाइ छ।
“बाहिरबाट हेर्दा सीट बाँडफाँडको विषय निकै पेचिलो बने जस्तो देखिए पनि यथार्थ त्यसो छैन,” उनले भने, “सीट बाँडफाँडमा अहिले कोही पनि हार्ड एन्ड फास्ट हुनु हुन्न। यो विषयमा लचिलो, उदार र जिम्मेवार भएपछि कुरा मिल्छ, यही मान्यतामा हामी छौं।”