कथा दादाकाे
म त फाल्न सक्तिनँ यो ‘दादाजी’ भैहाल्यो। तर, आमापट्टिको मामा न बाबुपट्टिको काका यो, नेपाली भाषाले फालिदिए हुन्न यो शब्द- ‘दादा’?
‘दादा’ को पनि एउटा कथा छ। तर, यो कथा-किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो। एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ? पाइने देखें मैले यही दादाको कथा हाल्दा।
नेपालीमा दादा शब्द छ कि छैन? भए कताबाट आयो? कि कतैबाट नआएको रैथाने शब्द हो यो? खोजिपस्ने काम विद्वान्हरूको हो। यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो। भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिंदैनन्। त्यसैले म अलिकति छामछाम छुमछुम गर्दै छु यस विषयमा।
पुरानो नेपाली साहित्यमा त दादा शब्द प्रचलनमा आएको देखिएन; तर बोलीचोलीमा यो शब्द चल्थ्यो- १९८२ साल या त्यसको अलि पछिसम्म। नेपालमा करियाप्रथा उन्मूलन नहुन्जेल, अर्थात् कमाराकमारीको किनबेच हुन नछाडुन्जेल दादा शब्दलाई नेपाली भाषाले पचाएको थियो। घरमा पहिलादेखि बसेका या आफूभन्दा जेठा कमाराहरूलाई मालिकहरूले दादा भन्थे- नाम जोडेर या नजोडीकनै। करियाप्रथा अन्त्य भएपछि यो शब्द पनि बिलायो। विस्थापित भयो।
तर, फेरि यो स्थापित भयो अलि पछि, नेपालमा हिन्दी सिनेमा चल्न थालेपछि। पहिले पहिले त यसको स्वरूप राम्रै थियो- बाजे, हजुरबाको अर्थमा चलुन्जेल। पछि त्यही हिन्दी सिनेमामा बम्बईको प्रभाव परेर ‘दादा’ ले टोलको हुल्याहा, बदमास, गुण्डा जनाउन थाल्यो। त्यसले शब्दको नै अवमूल्यन गर्यो।
यो म किन भन्न सक्छु भने, सन् १९१६ मा छापिएको बृहत् हिन्दी शब्दकोशमा ‘दादा’ शब्दको अर्थ- पितामह (भन्नाले बाजे) मात्र दिएको छ, गुण्डा या बदमास दिएको छैन। पछिका कोशमा यी अर्थ पनि छन्। हिन्दीमा भन्दा बङ्गाली भाषामा ‘दादा’ शब्द बढी प्रचलित छ। त्यहाँ मुख्यतः दादा भन्ने शब्दले दाइ या दाजुलाई जनाउँछ।
तर, अचम्म लाग्छ, बङ्गाली शब्दकोशमा दादा शब्दको ‘पितामह, मातामह, जेष्ठभ्राता’ बाहेक ‘कनिष्ट भ्राता, पौत्र दौहित्र प्रभृति’ लाई ‘स्नेह सम्बोधन’ को समेत अर्थ दिइएको छ। अर्थात् के भने बङ्गाली भाषामा जसलाई पनि आदर या माया गरेर ‘दादा’ भन्न सकिने रहेछ। यस्तो मीठो शब्द पश्चिम भारत (बम्बईतिर) पुग्दा गुण्डा, बदमास या मसहुर हुल्याहाको भागमा कसरी पर्यो, बुझ्न सकिंदैन।
त्यतापट्टि नलागी हामी चाहिं नेपाली ‘दादा’ तिरै फर्कौं । नेपालमा पहिले छापिएको चक्रपाणि चालिसेको नेपाली बगली कोश (१९९८) मा दादा शब्द छैन। तर, त्यसभन्दा झण्डै दश वर्षअघि छापिएको टर्नरको नेपाली डिक्स्नेरीमा भने यो शब्दको प्रविष्टि छ। अर्थ उही छ, कमाराका लागिको आदरार्थी शब्द। अनि पछिबाट दाजु भन्ने अर्थ पनि दिइएको छ, त्यहाँ। दादा त भयो नै, टर्नरले दादी पनि दिएका छन् । अर्थ छ, ‘ओल्ड स्लेभ उमन’ (बूढी कमारी)। बालचन्द्र शर्माले पनि दादालाई प्रवेश गराएका छन् आफ्नो कोशमा, अर्थ दिइएको छ, ‘दाइ, दाजु (बालबोलीमा); कमाराका लागि आदरार्थी शब्द’ भन्ने।
नेपाली बृहत् शब्दकोश (प्रज्ञा-प्रतिष्ठान) ले पनि दादालाई छाड्न सकेन। अर्थ उही दियो, तर ‘दादागिरी’ भन्ने शब्द थपेर जसलाई बलप्रयोग गर्ने बदमाससँग जोडिदिएको छ। प्रज्ञाले दाइ पनि दादा पनि दुवैलाई संस्कृतको ‘दायाद’ (अंशियार) ले जन्माएको भनेको छ। महानन्द सापकोटाले पनि यी दुई शब्दलाई ‘दायाद’ कै सन्तान मानेका छन्। तर, दाजु, दाइ, दाजीलाई माने पनि दादालाई उनले आफ्नो नेपाली शब्द परिचय (२०३४) मा भित्र्याएका छैनन्। समुद्रपारका नेपाली विद्वान् फादर विल्यम बर्कले आफ्नो सही शब्द (१९९४ ई.) (पर्यायवाची शब्दकोश) मा दाज्युको दाइ, दाज्यैका साथ दादालाई पनि पर्यायवाची मानेर हालेका छन्।
नेपालीमा दाजु र दाजी सँगसँगै भेटिन्छन्। तर, नेपाली घरहरूमा ‘दाजी’ भन्ने शब्द अचेल उति सुनिंदैन। केही कालअघिसम्म नेपाली अभिजात्य वर्ग (राणा, शाह) हरूमा चल्थ्यो यो शब्द। उनीहरू दाजुलाई दाजी भन्थे, सर्वसाधारणले दाइ भने जस्तो। त्यो दाजी दाइजीको अपभ्रंश हो कि भन्नलाई आर.डी. चटौतको डोट्याली शब्दकोशले बाटो छेक्छ। भन्छ, डोटीमा दाजी, दाजि, त्यहाँ पहिलेदेखि नै चलेको हो रे!
दाजीलाई छाडेर हामी फेरि दादामै आऔं। दादा बङ्गालीमा बढी चलेको छ, भनियो माथि। त्यसो हो भने त्यहाँ (कोशमा) यसका व्युत्पत्तिमा के दिएको रहेछ भनेर हेरें मैले। सन् १९४० भन्दा पहिले आशुतोष देवले निकालेको नूतन बाङ्ला अभिधान कोश छ।
त्यहाँ दादाको तल ‘फार्सी’ भनेर लेखिएको छ। त्यसको माने उनका हिसाबले ‘दादा’ शब्द फार्सीबाट आएको हो भन्ने भयो। फार्सीमा आफ्नो गति नभएकाले मैले फार्सीको सन्तान उर्दूको लुगात (कोश) पल्टाएँ।
तर, उर्दूमा दादा भन्ने शब्द नै छैन ! हिन्दीमा छ, यो शब्द उर्दूमा छैन भनेपछि हिन्दीमा यो कसरी आयो त भनी खोजी हेर्नुपर्यो मैले। काशी नागरी प्रचारिणी सभाले १९१६ ई.मा प्रकाशन गरेको (४ भाग भएको) हिन्दी शब्दसागरमा सम्पादक श्यामसुन्दर दासले दादाको जन्म संस्कृतको ‘तात’ बाट भएको भनी मानेको देखियो।
तर, हामी यस्तो विद्वत्ताको झमेलामा नपसौं। दादालाई हामीले राख्ने कि फाल्ने भन्ने मात्र हेरौं। नेपालीमा हामी बाजेलाई दादा भन्दैनौं। गुण्डासुण्डाका लागि पनि हामीसँग आफ्नै हुल्याहा शब्द छँदै छ, हिन्दी फिल्मका दादा हामीलाई किन चाहियो?
अब हाम्रामा कमारा या करिया पनि रहेनन्, माया गरेर हामीले दादालाई पाली राख्नाको औचित्य छैन। दाजुलाई दादा भन्दा रहेछौं हामी कतै कतै, तर अत्यल्प संख्यामा। भनेपछि हामीलाई दादा चाहिएन भनी घोषणा किन नगर्ने? गर्न हुन्थ्यो। तर, मलाई ड्याग पर्छ।
मलाई रातो बङ्गला स्कूलका विद्यार्थी, गुरु, गुरुआमाहरू र निकै जना अभिभावकहरू समेत दादा या दादाजी भन्छन्। उनीहरूको भोक्याबुलरी (शब्दभण्डार) बाट यो शब्द झिकिदिने हो भने म कहाँ रहुँला? त्यही द्विविधा भो!
यसलाई अलि अर्थ्याऔं। म दादा नै कसरी भएँ, त्यो भनूँ। हाम्रो घर पहिलेदेखि नै हिन्दीभन्दा बङ्गाली भाषाको नजिक थियो। त्यसैले बङ्गालीको सिको गरेर मेरा भाइबहिनीले मलाई दादा भने। काकाफुपूहरूले दादा भनेकाले मेरा छोराछोरी र दाजुभाइका छोराछोरीको पनि म दादा नै भएँ।
हुँदाहुँदा बुहारीहरू, ज्वाइँहरू र नातिनातिना, भान्जाभान्जीको पनि म दादा हुन पुगें। यस्तैमा रातो बङ्गला स्कूल खुल्यो। म त्यहाँ शिक्षक भएँ। प्रिन्सिपलहरूले मलाई दादा भनेको सुनेर गुरुगुरुआमाले पनि नाम काढेर ‘कमल सर’ भन्न सकेनन्। बरु प्रिन्सिपल र डाइरेक्टरहरूले भन्ने दादामा ‘जी’ थपे उनीहरूले। अनि म दादाजी भएँ। यो दादाजीलाई अब म फाल्न सक्तिनँ।
म त फाल्न सक्तिनँ यो ‘दादाजी’ भैहाल्यो। तर, आमापट्टिको मामा न बाबुपट्टिको काका यो, नेपाली भाषाले फालिदिए हुन्न यो शब्द- ‘दादा’?
-२०६१ असोज १८
(विसं १९८६ भदौ कुशे औंसीका दिन जन्मेका दीक्षितको २०७३ पुस १४ गते निधन भएको थियो। १-३० कात्तिक २०६१ को हिमाल खबरपत्रिकामा प्रकाशित यो लेख कुशे औंसीकै दिन पुनः प्रकाशित गरेका छौं।)