यी हुन् एमाले केन्द्रीय कमिटी बैठकमा पेश हुने ११ अजेन्डा
नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकमा पेश हुने अजेन्डासँगै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड तय गरेको छ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले पोलिटब्यूरो बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोट मापदण्ड तय गरेको हो। उम्मेदवार सिफारिश गर्न पाँचबुँदे मापदण्ड तय गरिएको एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।
एमालेले पार्टी नीतिप्रति प्रतिबद्ध रहेको, जनतामाझ लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने तथा आन्दोलनमा योगदान गरेको निष्ठावान् र पार्टीलाई सहयोग गरेको व्यक्ति उम्मेदवारका लागि योग्य मानिने मापदण्ड बनाएको हो। यससँगै नेपालको संवैधानिक व्यवस्था अनुसार सन्तुलित, समानुपातिक र सबै क्षेत्र तथा वर्गलाई पनि समेटिने भएको छ।
“उम्मेदवार छनोटको मापदण्ड मुख्यतः पार्टीको नीति, सिद्धान्त र कार्यक्रमप्रतिको प्रतिबद्धता हुनुपर्नेछ। पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा भएको हुनुपर्नेछ। लोकप्रियता र विजयको सुनिश्चितता भएको व्यक्ति हुनुपर्नेछ,” बैठकपछि प्रचार विभाग प्रमुख गुरुङले भने, “संविधान अनुरूप सन्तुलन र समावेशीको सिद्धान्तलाई पनि आधार मानिनेछ।”
एमालेले भदौ २० गतेभित्र उम्मेदवार सिफारिश गर्न मातहत कमिटीलाई सर्कुलर गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाका लागि बढीमा तीन जनाको नाम सिफारिश गर्न जिल्ला पार्टी कमिटीलाई निर्देशन दिइने जनाइएको छ।
चुनावी तयारी अन्तर्गत शुक्रबार र शनिबार एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ। चुनावी तयारी लगायतका विषयमा केन्द्रीय कमिटी बैठकमा विस्तृत छलफल हुने भएको छ।
पोलिटब्यूरो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको निष्कर्ष सुनाएका थिए। उनले माओवादी लगायतका वाम घटकबीचको गठबन्धन तत्काल हुने सम्भावना टरेको बताएका छन्।
उनले गठबन्धन टुट्ने सम्भावना पनि नरहेको जिकिर गरेका छन्। ओलीले पोलिटब्यूरो बैठकमा भने, “यो निर्वाचनका लागि वाम गठबन्धनको सम्भावना अब छैन। यो सत्ता गठबन्धन टुट्दैन। हाम्रा समर्थकलाई गाउँ गाउँ पठाऔं।”
यससँगै पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ वटा अजेन्डा पनि तय गरेको गुरुङले बताए।
केन्द्रीय कमिटी बैठकमा पेश हुने ११ अजेन्डा:
१) अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने।
२) गएको स्थायी कमिटी बैठकले मनोनीत गरेका चार जना केन्द्रीय सदस्यहरूको शपथ ग्रहण गराएर बैठकमा सहभागी गराउने।
३) यसअघि सम्पन्न भएका पार्टी सचिवालय बैठकले गरेका सम्पूर्ण निर्णयहरूको अनुमोदन गर्ने।
४) गएको सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा प्रस्तुत भएर पारित भएका उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया तय गर्ने।
५) स्थानीय तह निर्वाचन सम्बन्धमा प्राप्त उजुरीहरूको छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलको रिपोर्ट प्रस्तुत गर्ने।
६) पार्टी संगठित सदस्यहरूको दोहोरिएको पार्टी सदस्यता नम्बर व्यवस्थापनबारे आवश्यक निर्णय गर्ने।
७) केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्को रिपोर्ट प्रस्तुत गरी अनुमोदन गर्ने।
८) भारत प्रवासको काम व्यवस्थित गर्न बनेको नियमावली प्रस्तुत गरी पास गर्ने।
९) विभिन्न विभागहरू, निकाय परिचालन गर्ने सम्बन्धमा बनेका केही नियमहरू प्रस्तुत गरी पारित गर्ने।
१०) स्थायी कमिटीले मनोनयन गरेका चार नयाँ केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोक्ने।
११) समसामयिक राजनीतिक प्रस्ताव पारित गर्ने।