अख्तियारद्वारा पूर्व राजपरिवार सदस्य जोडिएको २९ करोडको भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्नेहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
जनकपुर गुठी तहसिल तथा खर्च व्यवस्थापन कार्यालयका तत्कालीन प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायव सुब्बा यमुदाप्रसाद पञ्जियार र जगदेव कामतीले सार्वजनिक जग्गा हिनामिना गरेको आरोप छ। उनीहरू विरुद्ध जनही २९ करोड ८८ लाख रुपैयाँ बिगो र कैद माग सहित मुद्दा हालिएको हो।
उनीहरूले भिड्दै नभिड्ने गुठीको लगत कायम गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गराएको आरोप छ। गुठीको जग्गा संरक्षण गरी अभिलेख राख्नुपर्ने दायित्व बोकेका गुठी कार्यालय प्रमुखले ती जग्गा पूर्व राजपरिवार सदस्य कुमार खड्गविक्रम शाहको नाममा पुर्जा बनाइदिन मालपोतमा पत्राचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
उनी राजा महेन्द्रकी माइली छोरी शारदा राज्यलक्ष्मी शाहका पति हुन्। कुमार खड्गविक्रम २०५८ को दरबार हत्याकाण्डमा मारिएका थिए।
अख्तियारले स्वर्गीय शाहको नाममा सम्पत्ति रहेको भए त्यसबाट र नरहेको भए हकवालाको सम्पतिबाट बिगो भराउने गरी विपक्षी बनाएको छ। उक्त जग्गा हाल २८ जनाको नाममा रहेको अभियोगमा उल्लेख छ।