पश्चिम सेतीमा नेपालले २१.९ प्रतिशत निःशुल्क बिजुली पाउने, दुई वर्षभित्र विस्तृत अध्ययन सकिने
पश्चिम सेती जलविद्युत् आयोजनामा नेपालले २१.९ प्रतिशत निःशुल्क विद्युत् पाउने भएको छ।
भारतीय सरकारी स्वामित्वको कम्पनी एनएचपीसी लिमिटेड र लगानी बोर्डबीच भएको सम्झौतामा ७५० मेगावाट क्षमताको यो आयोजनाबाट मासिक उत्पादन हुने विद्युत्को २१.९ प्रतिशत निःशुल्क नेपालले पाउने उल्लेख छ।
त्यसै गरी ४५० मेगावाटको एसआर-६ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतको पनि सोही परिमाण (२१.९ प्रतिशत) निःशुल्क विद्युत् नेपालले पाउने सम्झौतामा उल्लेख छ। बिहीबार लगानी बोर्डले दुई पक्षबीच भएको सम्झौतालाई सार्वजनिक गरेको छ।
भदौ २ गते काठमाडौंमा एनएचपीसीका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक एके सिंह र लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार, कुल १२ सय मेगावाट क्षमताका यी दुई आयोजनाले पूर्ण उत्पादन गरेका वेला नेपालले २६२.८ मेगावाट बिजुली सित्तैमा पाउनेछ। यद्यपि, आयोजना व्यावसायिक रूपमा सम्भाव्य नभएमा भने यो सहमतिबारे दुवै पक्षको सहमतिमा छलफल गरेर नयाँ मोडल तय गर्न सकिने सम्झौतामा उल्लेख छ। आफूले निःशुल्क पाउने विद्युत् नेपालले भारतमा बिक्री गर्न चाहेमा एनएचपीसीले छुट्टै सम्झौता गर्ने पनि उल्लेख गरिएको छ।
सम्झौता अनुसार, दुई वर्षभित्र एनएचपीसीले यी आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरिसक्नेछ। त्यसपछि आयोजना निर्माणको चरणमा जानेछ। सम्झौतामा पश्चिम सेतीका हकमा ४५ दिनभित्र र एसआर-६ का लागि ६ महीनाभित्र सर्वेक्षण अनुमतिपत्र प्रदान गरिनेछ।
एनएचपीसीले अध्ययन र निर्माणक्रमका सबै लागत बेहोर्नेछ। यो आयोजनाबाट उत्पादित विद्युत् भारत लैजान एनएचपीसीले नै प्रसारण लाइन पनि निर्माण गर्नेछ। पश्चिम सेती निर्माणका लागि करीब एक खर्ब ६८ अर्ब तथा एसआर-६ निर्माणका लागि एक खर्ब दुई अर्ब खर्च लाग्ने अनुमान छ। यद्यपि, विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै वास्तविक खर्चको अनुमान हुनेछ।
यी आयोजनाको अध्ययन तथा निर्माणका लागि एनएचपीसीले एक अर्ब ३५ करोड जमानत राखेको छ। सुदूरपश्चिमको बझाङ र डोटीमा यो आयोजना निर्माण हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैतमा भारत भ्रमणका क्रममा यो आयोजना भारतीय सरकारी कम्पनी एनएचपीसीलाई सुम्पने अनौपचारिक समझदारी गरेर आएका थिए।