सामसङले नेपालमै टीभी उत्पादन गर्ने
सामसङ इलेक्ट्रोनिक्सले नेपालमै टीभी उत्पादन गर्ने भएको छ।
कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्स र नेपाली व्यापारिक समूह गोल्छा अर्गनाइजेशन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा सामसङ टीभी कारखानाको बुधबार शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले कारखानाको शिलान्यास गरेका छन्।
सामसङ दक्षिण-पश्चिम एशिया क्षेत्रीय अध्यक्ष केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा कारखाना स्थापना गर्न लागेको बताए। “हामी नेपाल सरकार र स्थानीय निकायलाई दिनुभएको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछौं,” उनले भने।
त्यस्तै, गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छाले नयाँ टीभी कारखाना नेपालका लागि एउटा कोशेढुङ्गा सावित हुने बताए। कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने उनको भनाइ छ।
कारखानाले दैनिक एक हजार टीभी उत्पादन गर्ने जनाइएको छ। सामसङ दक्षिण कोरियाको प्राविधिक सुपरभिजनमा सञ्चालनमा आउने कारखानामा १५० जनाले तत्काल प्रत्यक्ष रोजगारी पाउनेछन्। कारखाना सन् २०२३ मै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।