नारीकण्ठमा लुकेको भावसम्पदा
कलाकार भनेर नचिनिएका तर लोकगीतको भावसम्पदा निर्माणमा अतुलनीय गुन लाउने यस्ता नारी प्रतिभाहरूलाई कसले र कहिले खोजी गर्ने?
यमबहादुर दुरा
बाल्यकालमा चौतारी र हाटबजारमा सुनिएका तीजका गीतमा अभिव्यक्त भावनाहरूको स्मृतिले अनायसै भावुक तुल्याइदिन्छ। यही मेहरोमा नारीशक्तिले निर्माण गरेको विशाल साङ्गीतिक सम्पदाबाट निर्मित भावसागरमा डुबुल्की मार्न पुगिन्छ।
नारीपोषित ती साङ्गीतिक कोसेलीमा भावसम्पदाको खानी नै भेटिन्छ। नारीकण्ठमा गुन्जिएका ती रैथाने अभिव्यक्तिमा विचारको सगरमाथा र भावुकताको ‘मारियाना ट्रेन्च’ भेटिन्छन्।
नारीकण्ठमा गुन्जने ती तमाम भावाभिव्यक्तिमा समसामयिक चेतना, नारीमुक्ति, सौन्दर्यचेत, पितृसत्ताप्रतिको भद्र-रोष, घर र माइतबीच विद्यमान भौगोलिक तथा मनोवैज्ञानिक दूरी, जीवनसाथीको व्यवहार, अमाजू-नन्द-सासू-ससुरासँगको ‘केमेस्ट्री’, नारीसुलभ विरह-व्यथा-करुणा, ताप-चिन्ता, जीवनका उतारचढाव लगायतका अनन्त मानवीय अनुभूतिहरू छचल्किन्छन्, समुद्रको छाल झैं।
भावसम्पदाको बीजतत्त्व
विश्वव्यापी रूपमा महिलालाई लोकगीतको बीजतत्त्व मान्ने गरिन्छ। यस विषयमा अध्ययनहरू पनि भएका छन्। चर्चित चेकोस्लोभाकियन-अमेरिकन इथ्नोम्युजिकोलजिस्ट ब्रुनो नेटल (सन् १९३०-२०२०) ले आफ्नो पुस्तक द स्टडी अब् इथ्नोम्युजिकोलोजीमा यूरोपेली लोकसङ्गीत सङ्कलनमा आधाभन्दा बढी योगदान महिलाकै रहेको चर्चा गरेका छन्।
सङ्गीत-शोधार्थी केरी फर्थको शोधपत्र इन सर्च अफ अ भ्वाइसः वुमन इन ब्रिटिश फोक म्युजिकमा बेलायती समाजमा लोकगीतको श्रीवृद्धिमा महिलाहरूको योगदानबारे नालीबेली केलाइएको छ। त्यस शोधपत्रमा सन् १८८० देखि २०११ सम्मको कालखण्डमा नारीशक्तिले लोकगीतको श्रीवृद्धिमा लगाएको गुनको विशद बखान गरिएको छ।
अर्का अध्येता जेमी बन्टिङले सन् २०१९ मा द रोल अब् वुमन इन ट्रेडिशनल स्कटिश सङ शीर्षकमा तयार पारेको शोधपत्रमा स्कटिश महिलाहरूले लोकगीतको सिर्जनामा दिएका योगदानलाई लैङ्गिक ‘लेन्स’बाट नियालेर गहन विश्लेषण गरेका छन्। त्यस शोधपत्रमा महिलाहरूले लोकगीत जन्माउन अथाह योगदान दिएपछि त्यसलाई त्यहाँको समाजले धेरै हदसम्म नजरअन्दाज गरेको चर्चा गरिएको छ।
नारीकण्ठमा गुन्जिएका ती रैथाने अभिव्यक्तिमा विचारको सगरमाथा र भावुकताको ‘मारियाना ट्रेन्च’ भेटिन्छन्।
लोकसाहित्यका अध्येताद्वय धर्मराज थापा र हंसपुरे सुवेदीले आफ्ना कृति लोकसाहित्यको विवेचना (२०४१) मा लोकगीतको रचनागर्भ तयार पार्न नारीको महत्त्वपूर्ण भूमिका हुने तथ्यलाई आत्मसात् गरेका छन्। थापा र सुवेदीको राय छ- लोकगीत जन्माउने सर्वसाधारण जनता नै हुन्। त्यसमाथि पनि लोकभाकालाई हुर्काउन महिला वर्गको हिस्सा अहं हुन्छ।
सङ्गीत अध्येता शकुन्तला प्रधानले नारीको अवचेतन मनमा स्वर, ताल, लय जस्ता साङ्गीतिक तत्त्वले बास गर्ने भएकाले उनी स्वभावैले कलाप्रेमी हुन्छिन् भन्ने विचार पस्केकी छन्। प्रधान आफ्नो कृति सङ्गीत निबन्ध सङ्ग्रहमा लेख्छिन्- लोकगीतको पोषण र विकासमा नारीकलाको विशेष हात छ। जन्म, विवाह, नामकरण, चूडाकर्म आदि संस्कार गीतहरूमा नारीकण्ठकै प्रधानता’ (२०७१, पृ.५२-५५)।
अर्की सङ्गीत अध्येता बेनी जङ्गम रावलले आफ्नो पुस्तक सन्दर्भ लोकगीतकामा लोकगीतका असली स्रष्टा महिला नै हुन् र लोकगीतको भावभूमि गाउँ नै हो भन्ने तर्क अघि सारेकी छन् (२०६३, पृ.४८)।
हुन पनि नारी विभिन्न सन्दर्भमा गीत गुनगुनाउँछन्। बच्चालाई सुताउन वा फकाउन नारीले गीत गुनगुनाएका हुन्छन्। यसका अतिरिक्त जन्म संस्कार, ढिकीजाँतो, वनपात, मेलापात आदि कर्मकाण्ड र जीवन-सङ्ग्राममा जुट्दा पनि नारी स्वर नै प्रबल भएको पाइन्छ। अव्यक्त मनोभाव व्यक्त गर्न, मन बुझाउन र मन भुलाउन पनि नारीहरूले गीतकै सहारा लिन्छन्।
अथाह भावसम्पदा
साउँ अक्षर पनि सिक्न नपाएका, सधैंभरि दाउराघाँसको भारीले किचिएका अनि अनेकौं हन्डर र सास्तीले बाटो नपाएका निरक्षर नारीको कण्ठमा गुञ्जिएका ती चेतनाप्रधान र भावप्रधान गीत विश्वविद्यालयका डिग्रीधारी अध्येताहरूलाई नै पाठ सिकाउने खालका हुन्छन्। आज पनि ती अध्येताहरू अपठित नारीले रचेका गीतउपर शोध गरिरहेका हुन सक्छन्।
सनातनी मूल्यचेत र पितृसत्तात्मक मनोविज्ञानले नारी-भावनालाई बहुधा चोटग्रस्त तुल्याएको छ। दुधेबालक ढाडमा बोकेर जीवन-सङ्ग्राममा होमिएका अपठित नारीले समाज विद्यमान असमानता र विभेदहरू सूक्ष्म रूपमै नियालेका हुन्छन्।
थापा र सुवेदीको राय छ- लोकगीत जन्माउने सर्वसाधारण जनता नै हुन्। त्यसमाथि पनि लोकभाकालाई हुर्काउन महिला वर्गको हिस्सा अहं हुन्छ।
विगतमा पैतृक सम्पत्तिको हकभोगमा छोरा र छोरीबीच विभेदबारे पढालेखा तथा चेतनशील अधिकारकर्मीहरूले धुवाँदार आवाज उठाउनुभन्दा कैयौं कालखण्डअघि नै ग्रामीण नारीले गीत मार्फत वर्षौं पहिले भद्र शैलीमा आवाज उठाइसकेका थिए। एउटा सानो दृष्टान्तः
दाजु तिमी अंशको धनी
बहिनी म त धुरीको बलेनी
+++
खेतैमा रोप्नु छुपु र छुपु आलीमा मुगी मास
छोरालाई भने अंश र बन्डा, छोरीलाई वनिबास
गाउँ तथा शहरमा लोकतन्त्रका अनेकन् गफ चलिरहँदा पनि समाजमा लैङ्गिक विभेदको दुष्चक्र जारी छ। सामाजिक मनोविज्ञानको सिङ्गो ढिक्कालाई विकृत तुल्याइरहेको लैङ्गिक विभेदबारे नारीकण्ठ मुखर छः
उही कोखीका छोरालाई कापी-कलम किन्दिनी
उही कोखीकी छोरीलाई डोका बुन्दिनी
लोकगीत इतिहासको स्रोत पनि हो। अहिले यातायात र सञ्चारको अभूतपूर्व विकासले भौगोलिक विकटता लगभग विगत बनिसकेको छ। माइतघर र कर्मघरबीचको भौगोलिक दूरी एउटी विरहिणी चेलीका लागि छिचोल्नै नसकिने भूगोल थियो। निस्सासिएको नारी मनोविज्ञान र भौगोलिक विकटताको दोभान भेटिने सुस्केरामा तत्कालीन समयको नारी मनोविज्ञानको इतिहास भेटिन्छ। सानो दृष्टान्तः
किन छेक्छस् मेरै माइती डम्म डम्म बादलु
फाटिदे हेर्छु म माइतीको देश
+++
चौतारीमा बसौं भने बरको पात फरर
माइती देश हेरौं भने आँसु बरर
अभिलेखविहीन भावसम्पदा
लोकपरम्परा, मिथक, सांस्कृतिक विधिविधान, रीतिरिवाजका अतिरिक्त समसामयिक घटना आदिलाई लोकगीतको स्रोत मानिन्छ। लोकगीतको सही अभिलेखन नहुँदा धेरै ऐतिहासिक तथ्य विलुप्त भइरहेका छन्। प्रथम तथा दोस्रो विश्वयुद्ध ताका जन्मेका गीतलाई दृष्टान्तका रूपमा लिन सकिन्छ।
जुद्धशमशेरलाई गीतमै शासनसत्ताको प्रभावकारिताबारे जवाफ लाउने धादिङकी अद्वितीय प्रतिभा साहिंली सर्किनीको अथाह भावसागर आज लोकस्मृतिमा छैन।
त्यस वेला अमूल्य जीवन ताकमा राखेर युद्ध मैदानमा होमिएका सैनिकका आमा, श्रीमती र प्रेमिकाहरूले धेरै गीत रचे, गाए। ती गीतहरूमा नारी-भावना छचल्किएका छन्। यस्ता गीत पश्चिमी गोलार्द्धमा अभिलेखीकरण भएका छन्। तर, हामीकहाँ अभिलेखीकरण हुन सकेनन्।
अमेरिकास्थित युनिभर्सिटी अब् क्यारोलिना लस एन्जेलसको पुस्तकालयद्वारा सञ्चालित वेबसाइटमा प्रथम तथा दोस्रो विश्वयुद्ध ताका महिलालाई केन्द्रबिन्दुमा राखेर रचिएका गीतहरूको सानो सूची दिइएको छ। त्यस सूचीमा रहेकामध्ये माई स्वीटहार्ट इज सम्ह्वयेर इन फ्रान्स (सन् १९१७), गड ब्लेस यू इभ्री वान् (सन् १९१७), सेट असाइड योर टियर्स (सन् १९१७), आई लभ अ सोल्जर (सन् १९४३) आदिलाई दृष्टान्तका रूपमा लिन सकिन्छ।
प्रथम तथा दोस्रो विश्वयुद्धमा गोर्खाली युवाहरूले पराइभूमिलाई रगत र पसिनाले सिञ्चन गरे। अरूका निम्ति रगत र पसिना बगाउन पुगेका गोर्खाली युवाहरूबारे स्वदेशमा रहेका आमा, श्रीमती तथा अन्य आफन्तजनहरूले सुस्केरामा बिताएका पलहरू पनि कम मार्मिक थिएनन्।
अनिश्चित भविष्यको छायासँगै पराइभूमिमा भौंतारिएका श्रीमान्, छोरा र प्रेमीहरूको चिन्ता र चासोमा जन्मिएको न्यास्रोपन मेट्न वनपाखा र रोदीघरमा कति नारीकण्ठ गुन्जिए होलान्! विश्व इतिहासमा कहिल्यै नमेटिने ऐतिहासिक घटनाबाट जन्मेका धेरैजसो लोकाभिव्यक्ति विलुप्त भइसकेका छन्। युद्ध विभीषिकाको राप र तापबाट जन्मिएका यस्ता युगान्तकारी गीतको उचित अभिलेखन नहुँदा त्यसबारे लोकस्मृति शून्यप्रायः बन्न पुगेको छ।
विस्मृत धरोहर
जीवनमा भोग्नुपरेका तमाम हन्डरहरूलाई जीवन-कुसुम सम्झेर मुखकमलमा मुस्कान छरिरहने ती धीर नारीको सिर्जनशीलता सदासर्वदा स्तुत्य छ। सूर्यले तेजोदान मार्फत धर्तीलाई जीवन्त र ऊर्वर बनाए जस्तै विश्वजननी नारीको भावुक हृदयले जन्माएको अभिव्यक्तिले लोकजीवनको भावसम्पदालाई उर्वर र समृद्ध बनाएको छ। यस्ता भावसम्पदाको सङ्कलन तथा व्याख्या-विश्लेषणबाट कथ्यभाषा, इतिहास तथा लोकसंस्कृतिको जगेर्नामा अमूल्य पुग्छ।
विडम्बनावश, भावसम्पदाको अथाह धरोहर खडा गर्ने नारीहरूको उचित खोज चाहिं हुन सकेको छैन। उदाहरणका लागि, गण्डकी भेगमा प्रचलित ठाडो भाकाका लोकप्रसिद्ध गायक देउबहादुर दुरासँग गीतमा ठोलाबाजी गर्ने रूपा मिया, शिवा सर्किनी, पेचेरे दुरा तथा आफली घर्तिनीका कला र गलामा रहेको भावसम्पदाका कुनै हिसाबकिताब छैन। जुद्धशमशेरलाई गीतमै शासनसत्ताको प्रभावकारिताबारे जवाफ लाउने धादिङकी अद्वितीय प्रतिभा साहिंली सर्किनीको अथाह भावसागर आज लोकस्मृतिमा छैन।
यसै गरी तत्कालीन मुख्तियार माथवरसिंह थापाको इतिहासलाई कर्खामा उन्ने हेम्जा कास्कीकी हीरादेवी गाइनेनी लगायतका व्यक्तित्वहरूको वर्तमानमा कुनै चर्चा छैन। कलाकार भनेर नचिनिएका तर लोकगीतको भावसम्पदा निर्माणमा अतुलनीय गुन लाउने यस्ता नारी प्रतिभालाई कसले र कहिले खोजी गर्ने?