काठमाडौं महानगरले अवैध संरचना निरन्तर भत्काउने
काठमाडौं महानगरपालिकाले अवैध रूपमा र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ।
“यो अभियानको रूपमा सञ्चालन गर्ने हो, ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन,” मेयर बालेन्द्र साहको सचिवालय सदस्य सुनील लम्सालले भने।
नक्शा पास नगरी निर्माण भएका र नक्शा पास अनुरूप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। उनले भने‚ “संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजात अनुरूप गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाइनेछ।”
सोही क्रममा बुधबार सुन्धरास्थित काठमाडौं मलको आसपास अनधिकृत रूपमा निर्माण भएका संरचनामा डोजर लगाएर भत्काइएको छ। त्यसै गरी मेयर साहको उपस्थितिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ। बुधबार नै मेयर साहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए।
यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसल समेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, “अब विगतमा झैं मनोमानी चल्दैन, यो कार्य नियमित रूपमा चल्छ।” यसअघि महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि बुधबारदेखि अवैध संरचना भत्काउने काम शुरू गरिएको छ। ठूला ठूला मल बनाउने र पार्किङका लागि निर्धारण गरिएको स्थान महँगो भाडामा लगाइएकाले महानगरले यस किसिमको कदम चालेको जनाएको छ।
“अहिले साङ्केतिक रूपमा केही संरचना भत्काइएको हो, यसै गरी अटेरी गर्दै गए आगामी दिनमा यस्ता कैयौं संरचना भत्काउनुपर्ने हुन्छ,” लम्सालले भने।
त्यस्तै, कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्शा पास भएको विवरण पठाउन पत्राचार गरेको छ। अदालतलाई पत्र पठाउँदै कामपाले नक्शा पास नभएको पाइए कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने शर्तमा कर छूट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ। -रासस