निहारिकाका छोरा र आरोपितको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश
निहारिका राजपूतका छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गराउन उच्च अदालत जनकपुरले आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको रोहबरमा डीएनए परीक्षण गराउन आदेश दिएको हो। आदेशमा भनिएको छ, “पीडिताबाट जन्मिएको बच्चाको र प्रतिवादीको डीएनए परीक्षण गर्नु प्रस्तुत मुद्दामा सान्दर्भिक नै हुने देखिएकाले प्रतिवादी शिवराज श्रेष्ठ र पीडितको छोरालाई उच्च सरकारी वकील कार्यालय, जनकपुर मार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा पीडिताको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेश गर्नू।”
निहारिका आफ्नो बच्चा र शिवराजको डीएनए परीक्षण गराउन माग गर्दै काठमाडौंमा अनशन बस्दै आएकी थिइन्। सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि उनले १७ दिनपछि अनशन तोडेकी थिइन्।
बुधबार उच्च अदालत जनकपुरको ४ नम्बर इजलासमा भएको बहसमा निहारिकाका तर्फबाट उच्च सरकारी वकील कार्यालय, जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मिरा ढुंगाना, निशा रेग्मी, शान्ति काफ्ले र रिंकुकुमारी यादवले बहस गरेका थिए भने शिवराजका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले बहस गरेका थिए।