व्यङ्ग्य सहने शक्ति
स्वस्थ व्यङ्ग्य र विरोधले राजनीति र धर्म-संस्कृतिलाई सुध्रने बाटो देखाउँछ। आलोचनाले नुहाएको समाज सफा, स्वतन्त्र र सबल हुन्छ।
आलोचनालाई सहज र सुपाच्य ढङ्गले प्रस्तुत गर्ने प्रभावकारी माध्यम हो, हास्यव्यङ्ग्य। यो ‘प्यारोडी’का रूपमा गीति ढङ्गले अभिव्यक्त हुन सक्छ। कार्टूनका रूपमा चित्रकारिताका माध्यमबाट प्रकट हुन सक्छ। रङ्गमञ्चमा नाटकका रूपमा पोखिन सक्छ।
सिनेमा, टेलिफिल्म र अन्य डिजिटल माध्यमबाट पनि प्रस्तुत हुन सक्छ। यस्ता आलोचना र व्यङ्ग्य देशका शासक, प्रशासक र नेताहरूसँगै हामीले मान्दै आएका धार्मिक प्रतीक, प्रवृत्ति र चलनहरूलाई समेत गर्न सकिन्छ, गरिँदै आएको पनि छ।
पञ्चायतकालमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यमलोक प्रहसन मार्फत यमराजलाई समेत हास्यव्यङ्ग्यको माध्यम बनाए। स्वर्ग, इन्द्र र अरू देवीदेवता पनि महको व्यङ्ग्यबाट बच्न सकेका थिएनन्। अरू पनि धेरै कलाकारले रेडियो र रङ्गमञ्चका माध्यमबाट धार्मिक प्रतीकहरूको प्रयोग गर्दै समाजलाई हँसाएर स्वस्थ राख्न, व्यङ्ग्यको स्वाद चखाउन र जनचेतना जगाउन सहयोग पुर्याएका थिए। यस्ता कलाकारलाई पञ्चायती प्रशासनले दुःख दिने गरे पनि जनताले सधैं प्रशंसा गर्दै साथ दिइरहे।
अस्वीकार्य धम्की
लोकतन्त्रको सुन्दर पक्ष भनेकै प्रश्न, आलोचना अनि विरोध गर्ने अधिकार हो। सामान्य नागरिकले पनि प्रधानमन्त्री, राष्ट्रपतिसम्मलाई प्रश्न गर्न सक्छ। चित्त नबुझे आलोचना पनि गर्न सक्छ। यही कुरा धर्म वा ईश्वरका हकमा पनि लागू हुन्छ। हरेकको आआफ्नो धार्मिक आस्था होला, तर त्यसकै आधारमा कसैको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न पाइँदैन।
केही दिनअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक कार्यकर्ताले कलाकार केदार घिमिरे (माग्ने बूढा)लाई धम्की दिँदै वक्तव्य सार्वजनिक गरे। त्यसपछि घिमिरेले आफूले तयार पारेको व्यङ्ग्ययुक्त प्रहसन पुनः सेन्सर गरेर मात्र सार्वजनिक गर्ने अभिव्यक्ति दिए।
राप्रपा कार्यकर्ताको त्यो वक्तव्य घिमिरेले देखाउने भनेको प्रहसन प्रदर्शन हुनुअघि नै आएको थियो। अर्थात्, प्रदर्शनमै नआएको सामग्रीको उनले केका आधारमा समीक्षा गरे ? धार्मिक अतिवादीहरूले जारी गर्ने फतवा र हिजोआज भारतमा राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दू परिषद्का कट्टरपन्थीहरूले सार्वजनिक रूपमा दिने धम्की जस्तै यस्तो धम्कीपूर्ण वक्तव्य नेपालमा समेत देखा पर्न थाल्नु अत्यन्तै चिन्ताजनक कुरा हो। यसरी धम्क्याइँदा कलाकारहरू पहिल्यै त्रस्त भएर आफैंलाई सेन्सर गर्न थाल्छन्। यसले उनीहरूको रचनात्मकता र सिर्जनशीलता मर्दै जान्छ। व्यवहारमा लोकतन्त्र खुम्चिँदै जान्छ।
झण्डै ४० वर्षअघि पञ्चायतकालमा प्रदर्शनीमार्गस्थित क्याम्पस पछाडिको चउरमा कविगोष्ठी गर्न लाग्दा मण्डलेहरूले हातपात गरेर कविहरूलाई लखेटेका थिए। अहिले त्यही मण्डले प्रवृत्ति केही कलाकर्मीमाथि धार्मिक आवरणमा आक्रमण गर्न उद्यत देखिन्छ।
यस्तो निरङ्कुश र अन्धधार्मिक प्रवृत्ति विरुद्ध कलाकारहरू डटेर लड्नुपर्छ र आफ्नो सिर्जनशीलता जनता समक्ष ल्याइरहनुपर्छ। आलोचना सहने क्षमता नभएकाहरूलाई जनताको अभिव्यक्ति स्वतन्त्रता मन पर्दैन। तिनीहरू धम्क्याएरै चूप लगाउन चाहन्छन्। तर, स्वतन्त्रताप्रेमीहरू चूप बस्नु हुँदैन।
स्वस्थ व्यङ्ग्य र विरोधले राजनीति र धर्म-संस्कृतिलाई सुध्रने बाटो देखाउँछ। आलोचनाले नुहाएको समाज सफा, स्वतन्त्र र सबल हुन्छ। व्यङ्ग्य भनेकै कमजोरी र नराम्रा प्रवृत्तिहरूको गरिन्छ। राम्रो र असल पक्षको आलोचना हुँदैन, व्यङ्ग्य पनि गरिँदैन। त्यसैले कुनै धर्म, राजनीतिक दल, नेता, संस्कृति वा चालचलनमाथि व्यङ्ग्य गरिँदा सम्बन्धित पक्षले धम्क्याउने वा आक्रमण गर्ने होइन।
बरु आलोचना वा व्यङ्ग्य ठीक छ/छैन भनेर छलफल गर्नुपर्छ। व्यङ्ग्य ठीक देखिए आफूलाई सच्याउने साहस देखाउनुपर्छ। ठीक नदेखिएको खण्डमा पनि त्यसलार्ई बेवास्ता गर्न सकिन्छ। अन्यथा, छलफलबाट जवाफ दिन सकिन्छ।
सांस्कृतिक सहिष्णुता, सहजता र खुलापनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाउँछ। लोकतन्त्रमा धम्की चल्दैन, तर्क चल्छ। व्यङ्ग्य र आलोचनाका जवाफ तथ्य र तर्क हुन्। तर्कले पुष्टि गर्न नसक्नेले मात्र धम्कीको भाषा बोल्छ। कहिले सहनुपर्ला, कहिले व्यङ्ग्य गर्नुपर्ला। दुवै अवस्था जीवनका सहज र स्वाभाविक पक्ष हुन्।
भारतको नक्कल गरिएको धार्मिक अतिवाद, धम्की र असहिष्णुता नेपालीलाई स्वीकार्य हुँदैन। अलि अलि एकअर्कालाई घोचपेच गरौं, अलि अलि व्यङ्ग्य गरौं, तर त्यसभन्दा धेरै एकअर्कालाई बुझौं, माया र विश्वास गरौं। तब मात्र नेपाल र नेपाली खास अर्थमा स्वस्थ र सबल हुन्छन्।
(पूर्व मन्त्री पन्त नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हुन्। हिमालको २०७९ भदौ अङ्कबाट।)