कैदी-बन्दीले यसअघि पनि गरेका थिए मतदान
देशभरका कारागारमा रहेका कैदी-बन्दीले यसअघि पनि निर्वाचनमा मतदान गरेका थिए।
निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैदीबन्दी, सुरक्षाकर्मीेले समानुपातिकमा मतदान गर्न पाउने व्यवस्था गर्न लागेको छ। यसैलाई आधार मानी केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भने पहिलो पटक कैदीबन्दीले मतदान गर्न पाउने भनेर समाचार पनि प्रकाशित भएका छन्।
निर्वाचन आयोगका अनुसार, कारागारमा रहेका कैदीबन्दीले २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा मतदान गरेका थिए। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २०६४ सालको संविधानसभा सदस्य चुनावमा नै कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेको बताए। उनी त्यति वेला प्रमुख निर्वाचन आयुक्त थिए।
त्यति वेला मतदाता समबन्धी ऐन संशोधन गरेर नै कैदीबन्दी, सेना, प्रहरी तथा अस्थायी शिविरमा रहेका माओवादी लडाकूलाई मतदानको अधिकार दिइएको थियो। “त्यति वेला ठूलो बहस र छलफल गरेर कैदीबन्दी, सेना, प्रहरी र माओवादी लडाकूको अस्थायी मतदाता नामावली तयार गरी मतदानको अधिकार दिइएको थियो,” पोखरेलले हिमालखबरसँग भने।
मतदाता नामावली सम्बन्धी नियमावली, २०६३ मा सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा निर्वाचनको समयमा कार्यरत कर्मचारीले अस्थायी मतदाता नामावली मार्फत मतदानको अधिकार पाउने उल्लेख छ। जसमा सैनिक या प्रहरी, ब्यारेकमा रहेका व्यक्ति वा अस्थायी शिविरमा रहेका माओवादी लडाकू, कारागारमा बस्ने कैदी वा थुनुवाको वर्गीकरण गरिएको छ। २०६४ र २०७० को निर्वाचनमा उनीहरूले अस्थायी मतदाता नामावली मार्फत मतदान गरेका थिए।
यस पटक पनि निर्वाचन आयोगले कैदीबन्दीलाई कारागारमै समानुपातिकतर्फ मतदान गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ। त्यस्तै, सुरक्षाकर्मीले पनि आफू कार्यरत एकाइमा मतदान गर्न पाउने व्यवस्था गरिने आयोगले जनाएको छ।