समानुपातिक निर्वाचनमा भाग लिन निवेदन आह्वान
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने दललाई निवेदन दिन आह्वान गरेको छ।
आयोगले बुधबार सूचना प्रकाशित गरी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि निवेदन दिन आह्वान गरेको हो। यसका लागि भदौ १० देखि १२ गतेसम्म निवेदन दिने समयावधि तोकिएको छ।
समानुपातिकतर्फ भाग लिने दलले आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्ने आयोगले जनाएको छ।
यसअघि आयोगले आगामी चुनावमा भाग लिनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। जसमा ८४ वटा दलले निवेदन दिएका थिए। आयोगमा भने ११६ दल दर्ता छन्। तीमध्ये ८४ दलले मात्रै आगामी निर्वाचनमा भाग लिन पाउनेछन्।
त्यसमध्ये पनि समानुपातिक निर्वाचन प्रमाणलीमा भाग लिनका लागि फेरि छुट्टै निवेदन दिनुपर्नेछ।