प्रधानमन्त्रीसँगको भेटमा ओलीले उठाए चार विषय
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्नुपर्ने लगायत चार विषय उठाएका छन्।
एमाले अध्यक्ष ओली आज बिहान देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई सँगै लगेका थिए। भेटमा प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
प्रधानमन्त्रीसँगको भेटमा एमाले अध्यक्ष ओलीले चार वटा विषय उठाएको एक नेताले बताए। आगामी मंसीर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा ओलीले कुराकानी गरेका थिए। उनले निर्वाचन विश्वसनीय हुनेमा शङ्का व्यक्त गरे। प्रधानमन्त्री देउवासँगको भेटमा ओलीले चुनाव निष्पक्ष हुनेमा आशङ्का पैदा भएको भन्दै सत्ता गठबन्धनले दम्भ देखाएको बताएका थिए ।
“चुनाव आउन अझै बाँकी छ, तर गठबन्धनले दम्भ प्रदर्शन गर्यो,” ओलीले भनेका थिए, “यो चुनावको माहोल बिगार्ने प्रपञ्च हो।”
त्यस्तै, एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दललाई बिर्सेर मनलाग्दी गर्न नहुने भनाइ राखेको उपाध्यक्ष पौडेलले बताए। ओलीको यो भनाइ सरकारले ल्याएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लक्षित थियो। “यो देशमा एमाले भन्ने पार्टी पनि छ नि प्रधानमन्त्रीजी। यो कुरा बिर्सेर टीआरसीमा मनलाग्दी गर्ने?” ओलीको प्रश्न थियो, “सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र? कि एक्लै हिंडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो?”
एमाले अध्यक्ष ओलीले उठाएको तेस्रो विषय थियो- नागरिकता विधेयक। उनले प्रधानमन्त्री देउवासँग नागरिकता विधेयक रोक्न आग्रह गरे।
संसद्ले नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले केही विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै संसद्मै फिर्ता पठाएकी थिइन्।
तर, प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ। फेरि पारित गर्नका लागि राष्ट्रिय सभामा पठाइएको छ। अब राष्ट्रिय सभाले पनि पारित गरेमा राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले हुबहु नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेर भिड्ने मनस्थिति बनाएको ओलीको आरोप थियो। यसलाई रोक्नुपर्नेमा ओलीको जोड थियो।
अध्यक्ष ओलीले उठाएको चौथो विषय जनजीविकासँग सम्बन्धित छ। उनले मूल्यवृद्धि र महँगीबाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको गुनासो गरेका थिए। महङ्गी नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने ओलीको सुझाव थियो।
जवाफमा प्रधानमन्त्री देउवाले प्रतिपक्षीले उठाएका विषयलाई आफूले सकारात्मक रूपमा लिएको बताएका थिए। उनले ओलीले उठाएका विषय सत्तारूढ गठबन्धनमा पनि राख्ने बताएका थिए।