केन्द्रीय कमिटीले एमाले समानुपातिक सांसदको भविष्य निर्धारण गर्ने
नेकपा (एमाले)ले समानुपातिक सांसदलाई पुनः उम्मेदवार बनाउने कि नबनाउने भन्ने विषयमा छलफल शुरू गरेको छ।
एमाले स्थायी कमिटीको भदौ ७ गते काठमाडौंमा सम्पन्न बैठकमा समानुपातिक सांसदलाई पुनः अवसर दिने कि नदिने भन्ने विषयमा छलफल भएको हो। यद्यपि, यो विषयमा ठोस निर्णय भइसकेको छैन।
केही नेताले समानुपातिक प्रणालीबाट सांसद बन्नु आरक्षण जस्तो भएकाले एकै व्यक्तिलाई दोहोर्याउन नहुने तर्क गरेका थिए। यस विषयलाई टुङ्गो लगाउन भने केन्द्रीय कमिटीलाई छोडिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले भदौ ९ गते पोलिटब्यूरो तथा १० र ११ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको बैठकका लागि चुनावी रणनीति प्रस्ताव गरेको छ। बैठकमा केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका विषयमा समेत छलफल भएको थियो।
बैठकमा प्रदेश इन्चार्जहरू प्रदेश–१ का देवराज घिमिरे, मधेशका रघुवीर महासेठ, बागमतीका काशीनाथ अधिकारी, लुम्बिनीका छविलाल विश्वकर्मा, कर्णालीका यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आआफ्ना प्रदेशका राजनीतिक तथा सांगठनिक अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए।
स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यो विषय राखेपछि केही बेर यस विषयमा छलफल चलेको थियो। बैठकमा सुवासचन्द्र नेम्बाङ, घनश्याम भुसाल, रघुजी पन्त, खगराज अधिकारी, प्रभु साह, कर्ण थापा, गुरु बराल, मणिचन्द्र थापा, शेरबहादुर तामाङ, शेरधन राई, गोरखबहादुर बोगटी र हिक्मत कार्कीले आआफ्ना धारणा राखेका थिए।
"खास गरी उम्मेदवारको मापदण्डका विषयमा पनि केही छलफल भयो, केही प्रस्तावहरू तयार गरिएका छन्," एमालेका एक नेताले भने, "यो विषय पहिले पनि उठ्दै आएको विषय हो । खास गरी समानुपातिक सांसदलाई पुनः दोहोर्याउने विषयमा पनि प्रतिवेदनमा उल्लेख छ।"
निर्वाचनमा पराजित उम्मेदवारलाई के गर्ने भन्ने सन्दर्भमा पनि एमालेमा छलफल चलेको छ। खास गरी गएका निर्वाचनहरूमा संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई के गर्ने भन्ने विषयमा छलफल भएको हो।
स्थानीय चुनावमा अर्को पार्टीबाट एमाले प्रवेश गरेर लोकप्रिय मत ल्याएर पराजित भएका तर संघ वा प्रदेशमा टिकट दिएमा जित्ने प्रबल सम्भावना देखिएका व्यक्तिहरूको हकमा भने यो नियम लागू नहुने मापदण्ड केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रसँग तालमेलको सम्भावना सकिएको निष्कर्ष निकालेको पार्टी उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। "माओवादी र अन्य वाम दलहरूसँगको चुनावी तालमेलको सम्भावना सकिएको छ," उनले भने, "तर सुशासन र समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको अजेन्डा मिल्नेसँग तालमेल हुन्छ।"