टीकापुर घटनाका बन्दीलाई निर्वाचनअघि नै रिहा गर्न माग
टीकापुर घटनाका बन्दीहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगाडि नै रिहा गर्न सरोकारवालाहरूले माग गरेका छन्।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनालाई विद्रोह दिवसका रूपमा मनाउन आयोजित कार्यक्रमका वक्ताहरूले सामाजिक सद्भावका लागि टीकापुर घटनाका बन्दी रेशम चौधरी लगायतलाई रिहा गर्न माग गरेका हुन्।
उनीहरूले थारू समुदायले राजनीतिक माग राखी गरेको आन्दोलनमा संलग्न व्यक्तिहरूलाई जेल सजाय गरेको भन्दै असन्तुष्टि पोखेका छन्। टीकापुर घटनालाई राजनीतिक दलहरूले राजनीतिक भने पनि निर्णय गर्न नसकेको उनीहरूको गुनासो छ।
थरुहट/थारुवान राष्ट्रिय मोर्चा तथा थारू कल्याणकारिणी सभा लगायत संघसंगठनले आयोजना गरेको कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डंगौरा थारूले विकास, समृद्धि र सद्भावका लागि टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गरे।
थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटना छानबिनका लागि तयार पारिएको गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे। प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिंदा थारू लगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो।
थरुहट नेता लक्ष्मण थारूले राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनका रूपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनका रूपमा लैजान आह्वान गरे। टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक ढङ्गले सम्बोधन गर्नुको विकल्प नभएको उनको भनाइ छ।