लम्कीचुहाका १३० भूमिहीन दलित परिवारलाई लालपुर्जा हस्तान्तरण
कैलालीको लम्कीचुहा नगरपालिका–३ को बादी बस्तीका १३० भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा हस्तान्तरण गरेकी हुन्। संविधानमा उल्लेख भएको नागरिकका अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भूमिहीन दलित, सुकुम्बासीको हक अधिकार स्थापित गर्न भूमि वितरणको काम गरिरहेको बताइन्।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरुवाचरुवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदन अनुसार पहिचान, प्रमाणीकरण, कार्यविधि तयार र पुन:स्थापनाका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको बताइन्। हालसम्म गाउँब्लकमा ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिसकिएको उनले बताइन्।
मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० स्थानीय तहका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न सबै खालका प्राविधिक, कानूनी र कार्यविधिगत जटिलता हटाउँदै नतीजा दिने गरी काम गर्ने बताइन्।