हेलिकोप्टरको छायामुनि
आन्दोलनकारी तितरबितर भए भन्ने परेपछि लुकेर बसेका पुलिस यताउताबाट निस्कन थाले। उनीहरूमध्ये कसैको जीउमा कपडाको नाममा कट्टु मात्र थियो। उद्धारका लागि आएका पुलिसले आफ्ना साथीका लास र घाइतेलाई गाडीसम्म नलाँदासम्म गोली चल्न थामिएन। हेलिकोप्टरले फेरो मारिरह्यो।
कैलालीको टीकापुर स्रोत केन्द्रभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठक हरेक महीनाको ७ गते तोकिएको थियो। विशेष परिस्थिति बाहेक स्रोत केन्द्रको बैठक अघिपछि सर्दैनथ्यो। कहिलेकाहीं त ७ गते शनिबार नै परे पनि बैठक हुन्थ्यो।
भदौ महीना भए पनि आकाशमा बादलको एउटा धर्सो समेत थिएन। बिहानैदेखि चर्को घाम लागेको थियो। तर, कुलो र झरन पानीले भरिभराउ थियो। खेतका गह्रामा पानीको कमी थिएन। गल्लीमा परेका खाल्डाखुल्डीमा जमेको पानीले बर्खा अझै नसकिएको जनाउ दिन्थ्यो।
प्रत्येक महीना आउने ७ गते भदौमा पनि टुप्लुक्क आइपुग्यो। यो २०७२ सालको भदौ थियो। मासिक बैठकमा प्रस्तुत गर्न तयार गरिएका कागजात फाइलिङ गरेर मन लागी नलागी झोलामा राखेर पिठ्युँमा भिरें। ११ बजे बैठक शुरू हुन्थ्यो, साढे १० घरमै भइसकेको थियो। समयमै पुग्न सकिन्छ/सकिन्न भन्ने दोमन लिएर एकछिन घोरिएँ।
समय राम्रो थिएन। समाज दुई चिरामा बाँडिएको थियो। एकथरीलाई अखण्ड सुदूरपश्चिम जुनसुकै मूल्यमा पनि चाहिएको थियो भने अर्कोलाई पहिचान सहितको थरुहट/थारुवान प्रदेश चाहिएको थियो। दुवै पक्ष आआफ्नो मागमा अडिग थिए। एकले अर्काको कार्यक्रम नबिथोल्ने समझदारी पनि भए पनि अघिल्लो महीनाको २९ गते धनगढीमा आयोजित थरुहट/थारुवान संघर्ष समितिको कार्यक्रम अखण्ड पक्षधरले बिथोलेको थियो। यसबाट थारू समुदाय चिढिएको थियो।
यस्तैमा भदौ ३ गते संविधानसभाले नेपालको संविधान २०७२ को मस्यौदा पारित गर्यो। यसले थारू समुदाय आक्रोशित थियो। यस्तैमा भदौ ४ गते विजय जुलूसका लागि अखण्ड पक्षका युवाहरू सुखड-लम्की हुँदै टीकापुर आउन चाहन्थे। यसै क्रममा टीकापुरदेखि चार किलोमिटर उत्तरमा पर्ने दुर्गौलीमा दुई पक्षबीच भिडन्त भयो। थप अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएकाले टीकापुर चार दिनदेखि निस्सासिंदै थियो। यस्तो विषम परिस्थितिमा पनि बैठक स्थगित भएको जानकारी मलाई थिएन।
समाज दुई चिरामा बाँडिएको थियो। एकथरीलाई अखण्ड सुदूरपश्चिम जुनसुकै मूल्यमा पनि चाहिएको थियो भने अर्कोलाई थरुहट/थारुवान प्रदेश चाहिएको थियो।
“सर, नमस्कार! कता हुनुहुन्छ? आज टीकापुर नजानु होला‚” मैले अध्यापन गर्ने विद्यालय नजिक घर भएकी एकजना हितैषीले फोनमा भनिन्। “किन र?” मैले जिज्ञासा राखें। “आज केही नराम्रो घटना घट्न सक्छ। पथरैयापुलदेखि मुनुवा चौराहासम्म हातमा भाला, लाठी, दाउराका चिर्पट, फलामका रड लिएका मान्छे ओहोरदोहोर गर्दै छन् रे!” उनले सुनेकी कुरो मलाई सुनाइन्।
मोबाइलको स्पीकर अन थियो। नजिकै रहेकी बूढीले उताबाट आएको आवाज नसुन्ने कुरा भएन। “यस्तो सुन्दासुन्दै बैठक-सैठक जानु पर्दैन। मर्न मन छ!” भन्दै उनले मेरो पिठ्युँको झोला झिकिन्। बैठक-सैठक भर्सेलामा परोस्! बैठक नजाने निधो गरियो।
***
बैठक त नजाने नै भइयो। तर, सिङ्गो दिन कसरी बिताउने होला! म पिरलोमा परें। साथीभाइ बसेर बसिबियाँलो गर्न पनि नपाइने। कैलाली प्रशासनले आवतजावत गर्न मिल्ने/नमिल्ने चौहद्दी तोकिदिएको थियो। दुई-चार जना भेला हुन नपाइने उर्दी थियो। सरकारी उर्दीको उल्लंघन गर्ने आँट ममा थिएन। अस्ति मात्र हाम्रा गाउँका दुई जना काकाले कर्फ्यू उल्लंघन गर्दा नीलडाम हुने गरी कुटाइ खाएका थिए। उनीहरू सुकुम्बासी शिविरमा बस्थे। सिदा सकिएर लिन गाउँ आउँदै गर्दा शिव मन्दिर नजिक पुलिसको फेला परेछन्।
मलाई नदुखेको टाउको बरियो लाएर दुखाउनु थिएन। घर छाडेर अन्त कतै नजाने बरू बङ्गुरको खोर सफा गर्ने द्विपक्षीय समझदारी भयो, हामी दुई बूढाबूढीको। खोर पनि धेरै दिनदेखि सफा गर्न बाँकी थियो।
***
अन्दाजी दुई किलोमिटरको दूरीमा रहेको टीकापुर-जोशीपुर सडकखण्ड आन्दोलनकारीको भीडले खचाखच भरिएको वरै खोरबाट देखिन्थ्यो। नाराबाजीका चर्का स्वर प्रष्टै सुनिन्थ्यो। मोतीनगरतिरबाट आएको जुलूस शंकरपुर नजिक पुग्दा बन्दूक पड्केको आवाज आयो। मैले खोरभित्रबाट हेर्दा धानखेतमा धुवाँको मुस्लो उड्दै थियो। पुलिसले अश्रुग्यास छाडेछ। सडक छाडेर केही मान्छे खेतैखेत दौडिरहेका थिए।
अढाई-तीन बजेको हुँदो हो‚ बन्दूक पड्केको आवाज लगातार आइरह्यो। यस पटक धुवाँको मुस्लो देखिएन। अत्तालिएर सडक छाड्नेहरू खेतैखेत, कुलोको डिलैडिल गाउँतिर कुद्दै थिए।
यस्तै अढाई-तीन बजेको हुँदो हो‚ बन्दूक पड्केको आवाज लगातार आइरह्यो। यस पटक धुवाँको मुस्लो देखिएन। अत्तालिएर सडक छाड्नेहरू खेतैखेत, कुलोको डिलैडिल गाउँतिर कुद्दै थिए। आन्दोलनकारीले पुलिसलाई लखेटेका हुन् कि पुलिसले आन्दोलनकारीलाई छुट्ट्याउन मुश्किल थियो।
कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याललाई फोन गरेर घटनाको जानकारी दिएँ। म घटनास्थल नजिकै थिएँ, तर सम्पूर्ण घटनाबारे बेखबर रहेछु। सुरक्षा फौजका कमान्डर एसपी नै मारिएको खबर उहाँबाट पाएँ। थप खबरका लागि कान्तिपुर दैनिकका गंगा बीसीलाई सम्पर्कमा रहन भन्नुभयो।
माहोल पूरै बिग्रेको थियो। हामी खोर सफा गर्दैगर्दा एक हुल केटाहरू हाम्रै अगाडिबाट गए। तीमध्ये कसैका हातमा गुलेली, कसैका हातमा बियरका बोतल थिए। कसैले लाठी र फलामे रड पनि बोकेका थिए। एक जना किशोरको घाँटीबाट हल्का रगत बगिरहेको थियो। भर्खरका केटाहरू रक्सी खाएका जस्ता देखिन्थे र ज्यादै उग्र थिए। त्यो उग्र जत्था हाम्रो बाँसघारीतिर लम्क्यो। डरले मेरा निधारमा चिट्चिट् पसिना निस्क्यो। हामी दौडँदै उनीहरूको पछिपछि लाग्यौं।
***
“अहिले पो पुलिससँग केही पनि छैन। एकछिनपछि थप सुरक्षा फौज थपिएपछि के हुन्छ? यिनलाई लखेट्नु थियो, लखेटिहाल्यौ। अब तिमीहरू आफ्नो बाटो लाग, यिनीहरूलाई आफ्नो बाटो लाग्न देऊ।” मैले सम्झाउने प्रयास गरें। अलिपछि सरे पनि। तर, अर्को टोली सडक छेक्न पहिले नै पुगिसकेको रहेछ गाउँको सिरानमा। गाउँका केही पहाडी साथीहरूलाई अघिअघि लाएर म तिनीहरूको माझमा लुक्दै सम्झाउन पुग्दा खेतको हिलोमा भासिएका पुलिसलाई उग्र केटाहरूले गुलेली र ढुङ्गाको निशाना बनाउँदै थिए।
आकाशमा हेलिकोप्टर घुम्न थाल्यो। केही पर गाडीको आवाज सुनियो। अब भने ती केटाहरू हच्केछन् क्यारे! लुसुक्क पछाडि फर्केर बेपत्ता भागे। मालिका ग्राउन्ड भनेर चिनिने चौरमा पुग्ने बित्तिकै अन्धाधुन्ध गोली चल्न थाल्यो दक्षिण-पश्चिमतिर, जताबाट आन्दोलनकारीहरू आएका थिए।
आकाशमा हेलिकोप्टर घुम्न थाल्यो। केही पर गाडीको आवाज सुनियो। अब भने ती केटाहरू हच्केछन् क्यारे! लुसुक्क पछाडि फर्केर बेपत्ता भागे।
आन्दोलनकारी तितरबितर भए भन्ने परेपछि लुकेर बसेका पुलिसहरू यताउताबाट निस्कन थाले। कोही खेतबाट निस्किए। कोही मकैबारीबाट भने कोही झरनबाट। सायद कसैको जीउमा बर्दी थिएन। नाङ्गो खुट्टा नाङ्गै शरीर। कपडाको नाममा कट्टु मात्र बचेका पुलिस दयालाग्दा देखिन्थे। उद्धारका लागि आएका पुलिसले आफ्ना साथीका लास र घाइतेलाई गाडीमा ओसारेर नलाँदासम्म गोली चल्न थामिएन। हेलिकोप्टरले फेरो मारिरह्यो।
***
आन्दोलनकारीहरू भागिसकेका थिए। तर, हाम्रो डर भागेको थिएन। घरको छाना छोला छोला जस्तो गरेर उड्दै गरेको हेलिकोप्टर कुखुराको चल्ला टिप्न आएको चिल जस्तै लाग्थ्यो। पुलिस निकै आक्रामक थिए। आवेगमा गाउँमा पसेर जे पनि गर्न सक्थे। तिनको आडमा अखण्ड पश्चिम पक्षधरले गाउँ नै खरानी पार्न सक्थे।
टीकापुर बजार क्षेत्रमा धुवाँ मडारिन थालिसकेको थियो। खाना खाने मन मरिसकेको थियो। आफ्ना र भाइका केटाकेटीलाई भित्ताको आड लाएर काठको खाटमुनि ‘सुरक्षित’ राखें। र, आफू हातमा बाँसको लौरो समाएर हेलिकोप्टरको छायामुनि सन्त्रास बोकेर रातभरि तिनको ‘सेन्ट्री’ बसें।