बीमा रकमको लोभमा टिप्परमा आगजनी
बीमा रकमको लोभमा चालक र सहचालकले टिप्परमा आगजनी गरेको पाइएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित चार दलले आयोजना गरेको बन्दका दिन मंगलबार बिहान दाङको लमही-घोराही सडकखण्डको बबईखोला पुल नजिकै रा.१ ख १६९४ नम्बरको टिप्परमा आगजनी गरिएको थियो।
घटनाबारे अनुसन्धान गर्दा चालक र सहचालकले नै आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए। उनीहरूले बीमा रकमको लोभमा टिप्परमा आगजनी गरेको काफ्लेको भनाइ छ।
“बिग्रेको गाडीमा आगजनी भएको थाहा भएपछि टिप्परका चालक र सहचालकलाई नियन्त्रणमा लिएका थियौं‚” उनले भने, “अनुसन्धान गर्दै जाँदा टिप्पर मालिकको सहमतिमा बीमा रकमको लोभमा बिग्रेको गाडीमा चालक र सहचालकले आगजनी गरेको भेटियो।”
चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी काफ्लेले बताए। गाडी मालिकको पनि खोजी भइरहेको उनको भनाइ छ।