पहाडमा सडकको दूरी कम गर्न सुरुङमार्ग
सरकारले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि सुरुङमार्गको अध्ययन गर्ने भएको छ ।
सुरुङमार्गको अध्ययन गर्नका लागि रु ६५ करोड बजेट छुट्याएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गरिने बताए ।
उनले यससम्बन्धी प्रविधि नेपालमा नभएकाले अन्तको सिकाइबाट काम गर्न लागिएको जानकारी दिए ।
काठमाडौं–रक्सौल रेलमार्ग र काठमाडौं–स्याफ्रुबेंसी रेलमागको पूर्व सम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययन गरिने र काठमाडौं–पोखरा रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन एवं विस्तृत परियोजना प्रस्ताव निर्माण अघि बढाइने कार्यक्रम रहेको उनको भनाइ छ ।
आगामी वर्ष ८० वटा सडकलाई राष्ट्रिय राजमार्ग घोषणा गरी प्राथमिकतासाथ काम गरिने सरकारको योजना रहेको मन्त्री महासेठले बताए ।
उनका अनुसार आगामी वर्ष मध्यपहाडी राजमार्गको बाँकी कामको बोलपत्र गरि आव २०७८/७९ मा नै सम्पन्न गर्ने गरी काम अघि बढाइने छ ।
उनले कोशी र गण्डकी नदीमा जलमार्गको पूर्व सम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा गरिने समेत बताए ।
आगामी वर्ष गुणस्तरलाई विशेष ध्यान दिइने, अधुरा पुल निर्माणमा प्राथमिकता दिइने, अधुरा योजना प्रदेशमा गएकामा निर्माण गर्न नसक्ने भनी लिखित प्रतिवेदन आए केन्द्रीय सरकारले नै काम गर्ने उनले प्रतिबद्धता जनाए ।