निर्वाचनको मौन अवधि घटाउन एमालेको प्रस्ताव
नेकपा (एमाले)ले निर्वाचनको मौन अवधि घटाउन निर्वाचन आयोग समक्ष प्रस्ताव गरेको छ।
आयोगले सोमबार राजनीतिक दलसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। छलफलमा एमालेका तर्फबाट ३७ बुँदामा संशोधन प्रस्ताव गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जनाएका छन्।
एमालेले निर्वाचन मौन अवधि २४ घण्टा बनाउनुपर्ने प्रस्ताव गरेको छ। अहिलेसम्म मतदान हुनुअघिको ४८ घण्टाबाट मौन अवधि लागू हुने गरेको छ। यो अवधिमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन।
यससँगै एमालेले निर्वाचन घोषणा भएदेखि नै आचारसंहिता लागू गर्नुपर्ने प्रस्ताव गरेको छ। उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलूस लान नपाइने व्यवस्था हटाउन माग गरेको छ।
त्यस्तै, निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने एमालेको माग छ। अहिले आयोगले निजी क्षेत्रमा कार्यरत पदाधिकारी र कर्मचारीले उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ।
सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणा गरेको छ। त्यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्नुअघि राजनीतिक दलसँग छलफल गरेको हो।